‘डायवेटिक रेटिनोप्याथी’ सम्बन्धी उपचार र सचेतना संगसंगै अघि बढाउँदै बीएम टीपीबी फाउन्डेशन

सर्भेक्षणका लागि आयो टीपीबी फाउन्डेशनका संस्थापक सहितको टोली

काठमाडौँ, ४ मंसिर । नसर्ने रोगहरु मध्येको प्रमुख एक मानिने मधुमेहको समस्या दिनानुदिन बढ्दो क्रममा छ । मधुमेहकै कारण उच्च रक्तचापको समस्या, त्यसपछि हुने हृदयघात तथा मस्तिष्कघात, अनि मिर्गौला फेल लगायतका कुरा हामीले सुन्दै आएका हौँ । त्यसबाहेक अर्को बढी सुनिने समस्या भनेको डायवेटिक रेटिनोप्याथी हो । अर्थात मधुमेह पछि यसले आँखामा देखिने असर ।

स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गर्ने उदेश्यका साथ सन् २०१५ मा स्थापित बीएम फाउन्डेशन सन् २०१७ देखि नै मधुमेहले आँखामा पार्ने असर अर्थात डायवेटिक रेटिनोप्याथी सम्वन्धी सचेतना र उपचार सम्वन्धी कार्यमा क्रियाशिल छ । अनि फाउन्डेशनको अभियानलाई काधमा काध मिलाउन आएको छ ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशनले । अभियानमा त्यसैगरी जोडिएको छ  केडीसी जनरल अस्पताल पनि ।

‘खासगरी अन्धोपन रोक्ने अभियानमा क्रियाशिल ताइवानको संस्था टीपीबी सन् २०१७ मा हामीसंग जोडिएपछि आँखा स्वास्थ्य र त्यसमा पनि डायवेटिक रेटिनोप्याथीमा हामीले काम गर्न थालेका हौँ । हामीले त्यसबेला देखि नै स्याङ्जाको चापाकोटमा उनीहरुसंग सहकार्य गर्दै बीएम/ टीपीवी फाउण्डेशनको नाममा आइकेयर सेन्टर सञ्चालन ल्याएका छौँ । अहिले काठमाडौँको केडीसी अस्पताल परिसरमा पनि अर्को आइकेयर सेन्टर सञ्चालनमा आएको छ । यी सेन्टरहरुबाट आँखाको स्क्रिनिङ तथा उपचार त हुने नै भयो, संगै आँखा स्वास्थ्य सम्वन्धी सचेतना पनि संगसंगै लगिएको छ,’ बीएम फाउन्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने ।

उनका अनुसार अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लासंगै, गण्डकी प्रदेशको कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा आँखा उपचार तथा सचेतना सम्वन्धी शिविरहरु सञ्चालन गरिएको छ । ती जिल्लाहरुमा गरिएको शिविरहरुमा झण्डै १० हजार बढीले आँखा जाँच गराए, अवस्था बुझे, झण्डै डेढ सय बढीको मोतिविन्दुको शल्यक्रिया पनि भयो । ‘बीएम टीपीवी फाउन्डेशनले आगामी दिनमा काठमाडौँको आइकेयर सेन्टरको क्षमता बढाई धादिङ, नुवाकोट र रसुवामा पनि यो कार्यक्रम अघि बढाउने योजना छ,’ डा. श्रेष्ठले भावी योजना बताए ।

 

स्याङ्जाको चापाकोटमा डायवेटिक रेटिनोप्याथीबारे १०० जना अगुवा महिलाहरुलाई प्रशिक्षण र शिविर

यसैबीच बीएम टीपीबी फाउन्डेशनले आज र भोली स्याङ्जाको चापाकोटमा आँखा स्वास्थ्य सम्वन्धी प्रशिक्षण र शिविर राख्दै छ ।

फाउन्डेशनले आज चापाकोट ९ को मगर समाज भवनमा १०० जना अगुवा महिलाहरुलाई भेला गरी डायवेटिक रेटिनोप्याथीका सम्वन्धमा अभिभुखिकरण तथा प्रशिक्षण दिने भएको छ ।

यसका लागि फाउन्डेशनका अध्यक्ष डा श्रेष्ठको नेतृत्वमा काठमाडौँ र पोखराबाट विज्ञ टोलीहरु त्यहाँ पुगेका छन् ।

यस्तै भोलि (मंगलबार) चापाकोटकै सुन्तलीटारस्थित गण्डकी ग्रामिण सामुदायिक हस्पिटलमा आँखा स्वास्थ्य शिविर जसमा डायवेटिक रेटिनोप्याथी सम्वन्धी स्क्रिनिङ तथा उपचार हुँदैछ ।

गण्डकी ग्रामिण सामुदायिक अस्पतालको आयोजना तथा गुप्त स्मृति प्रतिष्ठान सह आयोजक भएको शिविरमा बीएम टीपीवी फाउण्डेशन आइकेयर सेन्टर, हिमालय आँखा अस्पताल पोखरा, केडीसी जनरल हस्पिटल लगायतले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछन् ।

शिविरमा आवश्यकताका आधारमा निशुल्क औषधि तथा चस्मा समेत वितरण गरिने भएको छ ।

 

सर्भेक्षणका लागि आयो टीपीबी फाउन्डेशनका संस्थापक सहितको टोली
नेपालमा अन्धोपन निवारणका लागि पछिल्लो पाँच वर्ष देखि बीएम फाउन्डेशनसंग सहकार्य गर्दै आएको ताइवान प्रिभेन्ट व्लाइन्डेनेश फाउन्डेशन ताइवानले आफूले गरेको सहयोगको समिक्षा गर्ने भएको छ । त्यसका लागि टीपीबी फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका प्राडा जुई फाङ साइको नेतृतवमा पाँच जनाको टोली नेपाल आएको छ ।

‘खासगरी अन्धोपन निवारणका लागि बीएम टीपीबी फाउन्डेशनले गरेका स्क्रिनिङ, ट्रिटमेन्ट र अवारनेश सम्वन्धी काम कति प्रभावकारी भयो ? अझ संस्थाले गरेको उपचार पछि फर्केको ज्योतिले उनीहरुको जीवनमा कस्तो प्रभाव परयो ? भन्ने विषयमा पनि उहाँहरुले कार्यक्रम चलेका स्थानमा गएर बुझ्नु हुनेछ,’ डा. श्रेष्ठले भने ।

ताइवानी टोलीलाई सम्मान

 

यसैबीच आइतबार केडीसी अस्पताल बसुन्धरामा भएको कार्यक्रममा बीएमफ फाउन्डेशनले ताइवानबाट आएको टीपीबी फाउन्डेशनका अध्यक्ष प्राडा साइ नेतृत्वको टोलीलाई सम्मान गरेको छ ।

बीएम फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले उनीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बीएम/ टिपीबी फाउन्डेशनले गरेको कामका बारेमा जानकारी समेत दिइएको थियो । अस्पतालका जनस्वास्थ्य विज्ञ डा सुजिता श्रेष्ठ ले फाउन्डेशनले गरेका कामको विस्तृत जानकारी दिएकी थिईन भने डा ज्योति बास्तोला पौडेलले नेपालमा आँखा स्वास्थ्यको समस्या र डायवेटिक रेटिनोप्याथीबारे बताएकी थिईन ।

कार्यक्रममा टीपीबी फाउन्डेशनका प्राडा साईले अन्धोपन निवारणका लागि गरिएका प्रयासहरु प्रभावकारी हुनेमा विश्वस्त रहेको बताए । उनले नेपालमा बीएम फाउन्डेशनसंग मिलेर काम गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले यो अभियानमा आवद्ध बीएम टीपीबी फाउन्डेशन आइकेयर सेन्टरका प्राविधिकहरुलाई थप तालीमका लागि ताइवान लैजान सक्ने समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *