चिकित्सा शिक्षा आयोगमा ४ नयाँ निर्देशकको नाम सिफारिस गर्न डा. फुयालको संयोजकत्वमा समिति गठन

निर्देशक बन्नका लागि योग्यता कति ?

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिर देखि रिक्त हुँदै गरेको चिकित्सा शिक्षा आयोगको चार जना नयाँ निर्देशकको नाम सिफारिस गर्न समिति गठन गरेका छन् ।

आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । सो समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य रहेका छन् ।

उनीहरुले काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नुपर्नेछ ।

आयोगमा चार वटा निर्देशनालय छन् । त्यसमा चार जना निर्देशकले विगत चार वर्ष देखि काम गर्दै आएका छन् ।

अहिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा निर्देशकको रुपमा प्राडा दिलिप शर्मा रहेका छन् ।

अर्को  योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा प्राडा रमेशप्रसाद आचार्य निर्देशक छन् ।

यस्तै परीक्षा निर्देशनालयको निर्देशक प्राडा संघरत्न बज्राचार्य रहेका छन् ।

यसैगरी  नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा प्राडा आरती (खनाल) शाह निर्देशक रहेकी छन् । उनीहरुको चार वर्षे अवधी आगामी ४ मंसिरमा सकिदैछ ।

आयोगको निर्देशक बन्नका लागि योग्यता के ?

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २९ मा निर्देशकको योग्यता, नियुक्ति प्रक्रिया लगायतका विषय उल्लेख छ । ऐनको दफा २९ को उपदफा ८ मा कस्तो व्यक्ति निर्देशक हुन सक्छन् भनेर उल्लेख गरिएको छ ।

त्यसमा भनिएको छ,  ‘निर्देशक हुनका लागि नाम सिफारिस समितिले निर्देंशनालय वा बोर्डको कामसंग सम्वन्धित दक्षता र कम्तीमा १५ वर्ष अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ठ व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएका व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तीका लागि सिफारिस गर्नेछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *