भूकम्पका घाइतेको उपचारमा राष्ट्रपतिको चासो, स्वास्थ्यमन्त्री बस्नेतलाई निवासमै बोलाएर लिए जानकारी
काठमाडौँ, २२ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पको घाइतेहरुको उपचारलाई शिघ्र तथा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई राष्ट्रपति कार्यालय शितल निवास बोलाएर उनले जाजरकोट भूकम्पको घाइतेहरुको स्वास्थ्य उपचारमा चासो देखाएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जाजरकोट तथा पश्चिम रुकुमको भ्रमण गरेका थिए । उनले त्यहाँका स्थानीयसंग कुरा गर्दै घाइतेको उपचार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका थिए ।
‘स्वास्थ्य मन्त्री बस्नेतसंग राजधानी सहित देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका भूकम्पका घाइतेको अवस्थाबारे जानकारी लिनु भयो र उपचारमा कुनै कसर नराख्न आग्रह गर्नु भयो,’ राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज,सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बााँकी नराख्न आग्रह गरेका थिए ।
सो अवसरमा उनले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राखेको बताइएको छ ।
उनले मन्त्री बस्नेतसंग जाडो मौसम लागेसंगै देखा पर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न समेत आग्रह गरेका थिए ।
सम्पर्क इमेल : [email protected]