स्वास्थ्य बीमा बोर्ड र मेडिकल काउन्सिलको अध्यक्ष नियुक्तीका लागि दुई जनाको नाम प्रस्ताव

काठमाडौँ, २२कात्तिक । सरकारले लामो समय देखि रिक्त रहेको स्वास्थ्य बीमा बोर्ड र भर्खरै रिक्त भएको नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्री मन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग छलफल भएपछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले यी दुई संस्थामा अध्यक्ष नियुक्त गर्न दुई जना बरिष्ठ डाक्टरको नाम मन्त्रिपरिषद्मा प्रस्ताव गरेका छन् ।

उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्री बस्नेतले वीमा बोर्डको अध्यक्षका लागि पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनीको नाम प्रस्ताव गरेका छन् । यस्तै गत शनिबार देखि रिक्त रहेको मेडिकल काउन्सिलमा पूर्व राजदूत समेत रहेका प्राडा चोपलाल भुसालको नाम प्रस्ताव गरेका छन् ।

गठवन्धन सरकार रहेकोले दुईवटा निकायमा हुने नियुक्तीमा पनि दुई दलले भागवण्डा गरेको बुझिएको छ । बीमा बोर्डका लागि प्रस्ताव गरिएका डा लोहनी माओवादी नजिक छन् । यता काउन्सिलमा प्रस्ताव गरिएका डा भुसाल नेपाली कांग्रेस निकट चिकित्सक हुन् ।

यसअघि बीमा बोर्डका अध्यक्ष रहेका पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले गत २४ माघमा राजिनामा दिएका थिए । त्यस यताको ९ महिना अवधी स्वास्थ्य बीमा बोर्ड अध्यक्ष विहीन रहेको छ । अझ बीमा बोर्डमा त भएका कार्यकारी निर्देशक डा दामोदर बसौला तीन महिने निलम्बनमा परेका छन् । बोर्ड सदस्यहरुको पनि सामुहिक राजिनामा आएको अवस्था छ ।

यता मेडिकल काउन्सिलका अध्यक्ष रहेका प्राडा भगवान कोइरालाले गत १८ कात्तिकमा ४ वर्षे कार्यकाल पुरा गरि विदा भएका हुन् ।

यी दुबै पदका लागि पठाइएको प्रस्तावहरुमा आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सम्भावना बढेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *