जाजरकोट भूकम्प पीडितका लागि भारतबाट आयो ११ टन आपतकालीन राहत सामग्री
काठमाडौँ, १९ कात्तिक । भारतले जाजरकोट भूकम्प पिडीतका लागि पठाएको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपाल आइपुगेको छ । भारतीय बायुसेनाको विशेष विमानले नेपालगञ्ज विमानस्थलमा उतारेको सामग्री आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे ।
भारतीय दूतावासका अनुसार आज आएको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको सूचीमा पाल र तिरपाल, कम्बल, र सिल्पिङ व्याग रहेका छन् । यस्तै अत्यावश्यक औषधि र पोर्टेवल भेन्टिलेटर जस्ता चिकित्सकीय उपकरणहरु पनि समावेश छ ।
यसअघि भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गत शुक्रबार आएको विनासकारी भूकम्पबाट भएको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै आवश्यक सहयोग गर्ने बताएका थिए । भारत सरकारले त्यस लगत्तै १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री पठाउने घोषणा गरेको थियो । त्यसैको पहिलो खेप आज आइपुगेको हो ।
सो अवसरमा राजदूत श्रीवास्तवले भारत नेपालको घनिष्ट मित्र र छिमेकी भएको नाताले पनि भूकम्प पीडितलार्य हरसम्भव सहयोग गर्न आफ्नो देश प्रतिवद्ध रहेको बताए ।
त्यसो त नेपालमा विसं २०७२ सालको विनासकारी भूकम्पका बेला पनि सबैभन्दा छिटो भारतले सहयोग गरेको थियो । त्यसबेला भारतबाट अपरेशन मैत्री सञ्चालन गर्दै उद्धार कार्यमा समेत जुटेको थियो । त्यसपछि आवास, शिक्षा स्वास्थ्य र सांस्कृतिक सम्पदाको पूर्ननिर्माण र गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर पूर्ननिर्माणका लागि दीर्घकालिन सहयोग स्वरुप भन्दै १ अर्व अमेरिकी डलर सहयोग गरेको थियो ।
सम्पर्क इमेल : [email protected]