जाजरकोट भूकम्पका सात गम्भीर घाइतेको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार हुँदै
सुर्खेत, १७ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराती गएको भूकम्पमा परी गम्भीर घाइते सात जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट विहान दुई चरणमा गरि ल्याइएका उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सुरु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्काले जानकारी दिए ।
उनले जाजरकोटबाट आज विहान पहिलो चरणमा चार जना र पछि तीन जना गरी कुल सात जना गम्भीर अवस्थाका घाइतेहरुलाई प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको जानकारी दिए । ‘अहिलेसम्म सात जना गम्भीर अवस्थाको घाइतेहरु यहा आइपुगेको अवस्था छ । थप घाइतेको उपचारका लागि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजसंग समेत समन्वय गरेर उपचार व्यवस्था मिलाउँदै छौँ,’ उनले भने ।
गम्भीर घाईतेलाई प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेजहरुमा ल्याएर उपचार गर्ने, मध्यम घाइतेलाई जिल्ला अस्पताल र सामान्य घाइतेहरुलाई पालिकास्तरमा भएका अस्पतालमा उपचार गर्ने गरी तत्कालको व्यवस्था भएको उनले बताए । डा खड्काले घाइतेहरुको एकीन विववरण अझै आइनसकेको र केही पालिकाहरुमा सम्पर्क हुन नसकेकोले एकीन भन्ने अवस्था नभएको समेत जानकारी दिए ।
भूकम्पको अति प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा स्थल तथा नेपाली सेनाको हेलिकप्टरबाट औषधि तथा स्वास्थ्यकर्मीहरु पठाउने काम भएको समेत बताए । ‘काठमाडौँबाट ल्याइएको सामग्री पनि त्यसतर्फ पुग्दैछ । हामीले पनि दुई गाडी औषधि तथा इमरजेन्सीका सामग्रीहरु जाजरकोट तर्फ पठाएका छौँ । आवश्यकता अनुसार यसलाई बढाउँदै लगिनेछ,’ डा खड्काले भने ।
सम्पर्क इमेल : [email protected]