नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा कोइरालाको पदावधि शनिबारबाट सकिदै, को होला नयाँ अध्यक्ष ?

काठमाडौँ, १४ कात्तिक । चिकित्सकहरुको दर्ता तथा नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको नेतृत्व तहबाट प्राडा भगवान कोइराला विदा हुँदैछन् । उनको चार वर्षे कार्यकाल आउँदो शनिबार पुरा हुनेछ ।

‘मेरो चार वर्षे कार्यकाल आगामी शनिबार देखि पुरा हुँदैछ । त्यसैले शुक्रबार कार्यालय समयपछि म सायद काउन्सिलबाट विदा हुनेछु,’ छोटो प्रतिक्रिया दिँदै उनले भने ।

‘फेरी दोहोरिने चान्स के छ ?’ यसपटकको प्रश्नमा उनले खुलेर जवाफ दिएनन् । तर उनको संकेत सकारात्मक थिएन । उनले भने, ‘मेरो कार्यकालमा काउन्सिलका केही प्रणालीगत सुधार भएका छन् । मेरो नेतृत्वको टिमले केही नयाँ कामहरुको थालनी गरेको छ । अब जो आउँछ, उसलाई काम गर्न पक्कै पनि सजिलो हुनेछ । किनभने काउन्सिल अब एउटा ट्रयाकमा हिडेको छ ।’

उनले आगामी शनिबार पछि काउन्सिलको जिम्मेवारीबाट मात्रै अलग हुने भन्दै स्वास्थ्य क्षेत्र सुधारका कार्यमा भने निरन्तर खटिईरहने बताए ।

‘तपाईँहरुलाई थाहा नै छ, मेरा धेरै कामहरु छन्, भूमिका र जिम्मेवारी अलग होला तर स्वास्थ्य क्षेत्र त छोडिदैन । कुनै न कुनै रुपमा जनता,देशको सेवामा लाग्नेनै छु,’ उनले भने।

पछिल्लो समय डा कोइराला काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) परियोजनामा व्यस्त छन् । उनी त्यसबाहेक विभिन्न संघसंस्थामा आवद्ध भएर काम गर्दै आएका छन् ।

यता डा कोइरालाको पदावधि सकिने दिन नजिकिदै जाँदा काउन्सिलको नेतृत्वका लागि आफूलाई नियुक्त गर्न प्रधानमन्त्री तथा मन्त्रीहरुसंग लविङ गर्ने क्रम सुरु भएको छ । गठबन्धन सरकार भएका कारण दलहरुले पछिल्ला पटकका नियुक्तिहरुमा भागवण्डा मिलाएर गर्ने गरेका छन् । त्यसैले काउन्सिलमा पनि सत्ता साझेदार दलहरुले आफू निकटका व्यक्तिहरुका लागि लविङ सुरु गरेको बुझिएको छ ।

काउन्सिलको अध्यक्ष हुनका लागि दर्तावाल चिकित्सकको रुपमा कम्तिमा २० वर्षको अनुभव हासिल गरेको र चिकित्सा सम्वन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सक हुनुपर्नेछ । सो योग्यता पुगेको व्यक्तिलाई नेपाल सरकारले अध्यक्षमा मनोनित गर्ने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *