नरदेवी र सिंहदरबार बैद्यखानाको निर्देशक फेरिए
काठमाडौँ, १४ कात्तिक । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार बैद्यखाना विकास समितिको प्रमुख फेरिदिएका छन् । मन्त्री बस्नेतले गत २ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै दुबै स्थानको कार्याकारी निर्देशक फेरिदिएका हुन् ।
मन्त्री बस्नेतले नरदेवीमा दशौँ तहका डा श्यामबाबु यादवलाई निमित्त निर्देशक बनाएका छन् । त्यहाँ निर्देशक रहेका एघारौँ तहका डा प्रदीप केसीलाई भने सिंहदरबार बैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा खटाएका छन् ।
मन्त्री बस्नेतले दुबै जनालाई पुरानै स्थानमा दरबन्दी रहने गरी नयाँ स्थानमा कामकाज गर्ने गरि जिम्मेवारी दिएका हुन् । नरदेवीमा निमित्त निर्देशक बनेका डा यादवको दरबन्दी आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकु र बैद्यखाना पठाइएका डा केसीको दरबन्दी आयुर्वेद चिकित्सालय नरदेवीमा नै राखिएको छ ।
यसअघि बैद्यखानाको कार्यकारी निर्देशकको कामकाज थप जिम्मेवारीको रुपमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले सम्हाल्दै आएका थिए ।
सम्पर्क इमेल : [email protected]