‘मस्तिष्कघात रोकथामका लागि सरकारले चासो दिएन’

काठमाडौँ, १३ कात्तिक । आइतबार विश्व मस्तिष्कघात दिवस । विभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइयो । यसै अवसरमा नेपाल पक्षघात संघले आइतबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

नेपालमा मस्तिष्कघातको अवस्था र रोकथामका लागि भएका प्रयास विषयक अन्तरक्रिया कार्यक्रममा त्यस क्षेत्रका विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

विज्ञहरुले नेपालमा अहिले मस्तिष्कघात अर्थात स्ट्रोकको अवस्था के छ ? यो समस्या न्युनिकरणका लागि कस्ता प्रयास भएका छन् भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कसले के भने ?
अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा बरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले नेपालमा मस्तिष्कघात रोकथामका लागि सरकारले चासो नदिएको बताएका छन् । उनले मस्तिष्कघात नसर्ने रोगको मुख्य सूचीमा रहे पनि यसको रोकथाम प्रति सरकार उदासिन रहेको आरोप लगाए ।

‘अन्य नसर्ने रोगका लागि सरकारले जति गरेको छ स्ट्रोक रोकथामका लागि त्यति गरेका छैन,’ उनले भने, ‘मुटु, मिर्गौला रोग जस्तै मस्तिष्कघात अर्थात स्ट्रोक पनि एक प्राणघातक रोग हो भन्ने सरकारले बुझ्न जरुरी छ ।’

सरकारले स्ट्रोक रोकथामलाई प्राथमिकतामा नराख्दा यसको उपचार महँगो हुन गएको उनको भनाई छ । ‘सरकारले मुटु रोगका बिरामीलाई १ लाखसम्मको उपचार खर्च दिन्छ,’ उनले भने, ‘तर, त्यो मस्तिष्कघातका बिरामीका लागि छैन यसरी विभेद गरिनुहुँदैन ।’

कार्यक्रममा नेपाल पक्षघात संघका अध्यक्ष डा. राजु पौडेलले सरकारसँग नेपालमा मस्तिष्कघात रोकथामका सरकारलाई घचघच्याइरहेको बताए । ‘नेपाल पक्षघात संघको तर्फबाट स्ट्रोक रोकथाम र उपचारमा सहुलियतका लागि सरकारलाई घचघच्याइरहेका छौँ,’ उनले भने, ‘पक्कै पनि सरकारले यो विषयलाई गम्भीरताका साथ लिनेछ ।’

वीर अस्पतालका वरिष्ठ न्युरोलोजिष्ट डा. अभिनाश चन्द्रले नेपालमा स्ट्रोकबारे सचेतना फैलाउन अझै आवश्यक रहेको बताए । ‘यदि स्ट्रोकका बिरामीलाई समयमै नजिकैको अस्पताल पुर्‍याउन सकियो भने जोखिम कम गर्न सकिन्छ,’ उनले भने । ‘नेपालमा अझै पनि स्ट्रोकबारे सचेतनाका खाँचो छ,’ उनले अगाडी थपे, ‘मानिसहरुले हार्टअट्याकलाई जसरी गम्भीर रुपमा लिने गरेका छन् ब्रेन अट्याकलाई त्यति गम्भीर रुपमा लिएको पाइँदैन तर यो झन् खतरा हो ।’

उनले मस्तिष्कघातका कारण र लक्षणका बारेमा आम जनमानसलाई सुसूचित गर्न आवश्यक रहेको सुनाए ।

नेपाल एम्बुलेन्स सेवाका फिल्ड को–अर्डिनेटर ललितसिंह राइखोलाले जस्तोसुकै बिरामीका आफन्तले जुनबेला सम्पर्क गरेपनि आफूहरुले सेवा दिइरहेको बताए । ‘हामीले काठमाडौं भ्यालीभित्र जुनसुकै बेला निशुल्क एम्बुलेन्स सेवा दिइरहेका छौँ,’ उनले भने, ‘बिरामीको तर्फबाट फोन आएको १८ मिनेटभित्र सेवा दिइसक्छौँ ।’

नेपाल एम्बुलेन्स सेवाका एम्बुलेन्सका चालकहरुलाई स्वास्थ्य जोखिम रोकथामबारे प्रशिक्षितसमेत गराइएको उनले बताए ।
कार्यक्रमको सहजीकरण महेश तिमल्सेनाले गरेका थिए ।

‘टुगेदर वी आर ग्रेटरदेन स्ट्रोक’ भन्ने नाराका साथ मनाइएको मस्तिष्कघात दिवसका अवसरमा संघले शान्तिबाटिकामा निःशुल्क स्वास्थ्य जाँच समेत गराएको थियो । सो जाँच शिविरमा करीब तीन सय सर्वसाधारणले सेवा लिएको संघले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *