अनुमति विनाका ‘विदेशी डाक्टर’ सम्मिलित चर्चको स्वास्थ्य शिविर काउन्सिलले गरायो बन्द
काठमाडौँ, २ कात्तिक । नेपाल मेडिकल काउन्सिलले अनुमति विना नै विदेशी डाक्टर प्रयोग गरि सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर बन्द गराएको छ । बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा हिजो देखि सुरु भएको तीन दिने निशुल्क स्वास्थ्य शिविरमा काउन्सिलको टोलीले आज छापा मारी बन्द गराएको हो ।
काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा आज गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले लिनु पर्ने अनुमति नलिएको बताए ।
‘उनीहरु चिकित्सक नै हुन कि होइन् । दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका १२ – १५ जना विदेशीहरु चिकित्सकको भूमिकामा खटिएको देखियो । भोलि काउन्सिलमा प्रमाणसहित आउनु भनिएको छ । यदि चिकित्सक नै हो भने पनि पहिले काउन्सिलसंग अनुमति लिएर मात्रै काम गर्नु पर्छ । त्यसैले हामीले आज दिउसो देखि शिविर बन्द गरिदियौँ ,’ डाक्टर खत्रीले भने ।
उनीहरुले ल्याउने कागजातको आधारमा थप कार्वाहीबारे निर्णय हुने बताए ।
‘चिकित्सक नै रहेछन् भने एक पटकलाई नसियत दिएर छाड्न सकिएला, होइन रहेछ भने त कडा कारवाही हुन्छ,’ उनले भने ।
शिविरमा अनुगमन टोली जाँदा सेवा लिने भनेर गएका सर्वसाधारणहरुको भिड थियो । शिविर बन्द भएपछि भने उनीहरु फर्केका छन् ।
पछिल्लो समय चर्चका नाममा नेपालमा विदेशीहरु आउने र विना अनुमति यस्ता शिविरहरु क्रम बढ्न थालेको छ ।
यस्ता शिविरहरुले आम सर्वसाधारणहरुलाई धर्म परिवर्तनका लागि प्रोस्ताहन मिल्ने समेत देखिएको छ ।
सम्पर्क इमेल : [email protected]