सासूलाई कलेजो दान
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ कलेजो प्रत्यारोपण सफल
काठमडौँ, २९ असोज । अहिले पनि कतिपय परिवारमा सासू बुहारीको सम्वन्ध त्यति राम्रो देखिदैन । तर कतिपय परिवारमा सासू बुहारीको सम्वन्ध आदर्शमय हुने गरेको छ । काठमाडौँमा एउटा यस्तै परिवार देखियो ।
कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई बुहारीले आफ्नो कलेजो दान गरी बचाएकी छन् ।
हो, गत शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको १४ औँ कलेजो प्रत्यारोपणमा काठमाडौँकी बौद्यकी ६२ वर्षीया लाक्पा शेर्पीनीलाई उनकी आफ्नै बुहारी ३७ वर्षीया माया शेर्पाले कलेजो दान गरिन् ।
केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको सो प्रत्यारोपणलाई सघाउन भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथम आएका थिए ।
प्रत्यारोपण केन्द्रका निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ श्रेष्ठले अंग लिने सासू र अंग दिने बुहारी दुबैको स्वास्थ्य अवस्था सामान्य उन्मुख बन्दै गएको बताए । उनले हाम्रो समाजमा सासू बुहारीको सम्वन्ध भनेपछि अर्कै सोच्ने गरिएको भन्दै बौद्यको यो शेर्पा परिवार उदाहरणीय भएको बताए । उनले खुशी साथ बुहारीले सासूका लागि कलेजो दान गर्नु समाजकै लागि नमूना भएको सुनाए ।
केन्द्रले शुक्रबार भएको प्रत्यारोपण समेत गरी आफूकहाँ कुल १४ जनाको कलेजो प्रत्यारोपण गरेको जनाएको छ ।
त्यसो त केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो । सोही केन्द्रले नेपालमा पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको थियो ।
यति मात्रै होईन, सो केन्द्र छोटो अवधीमा सबैभन्दा धेरै मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने देशकै पहिलो केन्द्र बनेको छ । अनि सोही केन्द्रका निर्देशक डा श्रेष्ठ नेपालमै बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने सर्जन बनेका छन् । हुन पनि डा श्रेष्ठले ११ वर्षे अवधीमा देशमै सबैभन्दा धेरै अर्थात १ हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएका छन् ।
चिकित्सा विज्ञानमा कलेजो प्रत्यारोपणलाई संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने गरिएको छ । तर नेपालले यसलाई अघि बढाइ रहेको छ । निर्देशक डा श्रेष्ठले सेवामा बृद्धि संगै केन्द्रले स्वदेशी चिकित्सकको दक्षता अभिबृद्धी गर्दै आएको बताए । सहज र सुलभ दरमा देशमै सबैभन्दा जटिल भनिएको कलेजो प्रत्यारोपण गर्ने योजना अनुसार काम भइरहेको छ । डा श्रेष्ठले भने, ‘यसका लागि हामीले अहिले भारत तथा कोरियाबाट विज्ञ टोलीको सहायताबाट काम गरिरहेका छौँ ।’
उनका अनुसार अहिले प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गर्न कम्तीमा १५ लाखमा रुपैयाँ खर्च हुने गरेको छ ।
केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए ।
केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउन समते अनुरोध गरेको छ ।
सम्पर्क इमेल : [email protected]