न्याम्सको ३० औँ सभा (सिनेट) सम्पन्न, के के भयो निर्णय ?

काठमाडौँ, २८ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३० औँ सभा (सिनेट बैठक) सम्पन्न भएको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले वीर अस्पतालका लागि अत्यावश्यक मानिएका प्राविधिक समूहको विभिन्न ६६ पदमा दरबन्दी स्वीकृत गरेको छ ।

बैठकले नाक कान घाँटी तर्फ स्पीच थेरापिका लागि एक जना अडियोलोजिष्ट, यस्तै रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याव टेक्निसियन पाँचौँ पाँच जना पदपूर्तिका लागि स्वीकृत गरेको छ ।

यस्तै फार्मेसीका लागि केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, अरु चालक अरु सहायक सहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय भएको छ ।

यस्तै बैठकले तीन जना नयाँ सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरेको छ ।

थपिएका नयाँ सिनेट सदस्यमा प्राडा चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा. दिपक सिग्देल रहेका छन् । त्यसैगरी, प्राज्ञिक परिषद्मा प्राडा अजित रायामाझी, प्राडा दीपेन्द्र श्रेष्ठ र प्राडा सरोज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले अस्पतालका लागि केही अत्यावश्यक दरबन्दी स्वीकृत भएको बताए । उनले स्वीकृत भएका दरबन्दीमा अब कार्यविधि बनाई नियुक्ति प्रक्रिया अघि बढाउने बताए ।

‘केही सिनेट सदस्य पद र प्राज्ञिक परिषदका पदहरु रिक्त थिए । ति पदमा पनि पदपूर्ति गर्ने काम भयो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *