वीरमा ‘हठात’ रुपमा कर्मचारी हटाएर आलोचित स्वास्थ्य मन्त्री बस्नेतले ‘आकस्मिक सिनेट बैठक’ बोलाए

वीरमा आन्तरिक खर्चबाटै कर्मचारी थप्ने प्रस्ताव लगिदै, डुब्दै गएको वीरलाई थप डुवाउने खेल

काठमाडौँ,२७ असोज । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाडो निर्देशनमा आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठक डाकिएको छ ।

दशैंको मुखमा वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हठात रुपमा हटाएर आलोचित भएका न्याम्सका सहकुलपति समेत रहेका बस्नेतको अध्यक्षतामा आकम्मिक बैठक बस्न लागेको हो ।

बैठकमा वीर अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति गर्ने विषयलाई प्रमुख एजेण्डा बनाइएको छ ।

जानकारहरुका अनुसार आफू विरुद्धको आलोचनालाई डाइभर्ट गर्नका लागि उनले प्रतिष्ठान तर्फको रिक्त केही दरवन्दी संख्यामा थपेर पदपूर्ति गर्न खोजेका हुन् ।

मन्त्री बस्नेतकै निर्देशनमा गत १५ असोजमा बसेको कार्यकारी परिषद्ले १८५ जना नर्स सहित २७६ जना कर्मचारीलाई २१ असोजबाट लागू हुने गरी हटाएको थियो ।

त्यसरी हटाउँदा अस्पतालको आइसीयू, इमरजेन्सी, अप्रेसन तथा विरामीका भर्नाका लागि छुट्याइएको बेड संख्या खुम्चिएको छ ।

चलिरहेको वीर अस्पताललाई सस्तो लोकप्रियताका लागि ७०० बेड निशुल्क भएको घोषणा गरे । उनले वीरका लागि आवश्यक बजेट मन्त्रालयले उपलव्ध गराउने समेत ठोकुवा गर्दै हिडेँ । तर यस महिनाको सुरुवात देखि उनले न्याम्सका अधिकारीहरुलाई बोलाएर
बजेट छैन, स्वास्थ्यकर्मीको म्याद नथप्नु भन्ने निर्देशन दिए ।

उनकै निर्देशन पछि परिषद्को बैठकबाट म्याद थप नगर्ने निर्णय गरिएको थियो ।

‘अहिलेको आकस्मिक बैठकको मुख्य दुईवटा उदेश्य छ । अढाई सय बढी कर्मचारीलाई दशैको मुखमा निकालेर आलोचित बनेका मन्त्रीले अब मैले नयाँ दरबन्दी सिर्जना गरेँ भनेर भाषण ठोक्नेछन् । दोस्रो दरबन्दी स्वीकृत गरी पदपूर्तिमा अघि बढ्यो भने त्यसमा आफ्ना निकटका व्यक्तिहरुलाई जागिरमा घुसाउन सक्नेछन, त्यसका लागि दवाव दिने छन् । किनभने अहिले पनि मन्त्री र उनको सचिवालयको टिमले विभिन्न अस्पताल, प्रतिष्ठान, परिषद्हरुमा कर्मचारी तथा स्वास्थ्यकर्मी नियुक्तिका लागि चिट पठाउने कार्य गर्न थालेका छन् । अस्पतालहरुमा औषधि खरीद देखि मेसिन उपकरणको ठेक्का पार्ने काममा पनि मन्त्री नजिकका व्यक्तिहरु हावी हुने गरेको बताइएको छ’ वीरका एक जना कर्मचारीले भने ।

सिनेटले यी दरबन्दीमा पदपूर्ति गर्ने निर्णय गर्दैछ

‘देखाउनका लागि अरु प्रस्तावहरु पनि होलान तर मुख्य प्रस्ताव भनेको केही पदहरु सिर्जना गरी त्यसमा आफ्नो मान्छे घुसाउने व्यवस्था मिलाउनु नै हो,’  स्रोतले अगाडी थप्छ, भोलीको सिनेट बैठकमा वीर अस्पतालको नाक कान घाँटी तर्फ स्पीच थेरापिका लागि एक जना अडियोलोजिष्ट, यस्तै रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याव टेक्निसियन पाँचौँ पाँच जना पदपूर्तिका लागि स्वीकृत गर्ने बताइएको छ ।

यस्तै फार्मेसीका लागि केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, अरु चालक अरु सहायक सहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने प्रस्ताव राखिएको छ ।

सिनेटका एक सदस्यका अनुसार उहि प्रकृतिका उहि नामका दरबन्दी स्थापना गरेर, राज्यलाई दोहोरो भार पार्ने गरी आर्थिक अवस्थाले थिलो थिलो परेको वीर अस्पताललाई झन आर्थिक बोझ थप्ने गरी दरबन्दी सिर्जना गर्न लागिएको हो । ‘किनभने वीर अस्पतालका लागि भनेर बनाएको दरबन्दीमा यी पदहरु नै छन् । त्यहि दरबन्दीमा पदपूर्ति गरे हुन्न थियो । अहिले मन्त्रीकै हातमा मन्त्रालय छ त ती सदस्यले भने । आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि यति साह्रो निर्लज्ज काम गर्नु राम्रो पनि होईन’ ती सदस्यले भने ।

अर्का एक सदस्यले सिनेटका लागि प्रस्तावित एजेण्डामा उल्लेखित पदहरु अस्पतालका लागि आवश्यक भए पनि काम गरिरहेका कर्मचारीलाई सरकारले तलव खुवाउन सक्दैन भनेर निकाल्ने मन्त्रीले न्याम्सलाई आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नु भनेर भार बोकाउनु उनी संस्थाप्रति जिम्मेवार छैनन् भनेर पुष्टि हुनु हो भन्ने टिप्पणी गरे ।

‘यिनै मन्त्रीले ७०० बेड निशुल्क भनेर अस्पतालको आम्दानी खुम्च्याईदिए । तर अहिले फेरी त्यसमाथि नै दोहोरो भार बढ्ने गरी प्रतिष्ठान तर्फ दरबन्दी सिर्जन ागर्न लागेका छन् यो एकदमै गैर जिम्मेवारी कदम हो,’ अर्का एक सदस्यले भने ।

‘हुन पनि वीरमा प्रतिष्ठान तर्फको स्थायी तथा अस्थायी गरी ५३५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । उनीहरुको तलवभत्ता वीरको आन्तरिक कमाईले दिनु पर्छ । नेपाल सरकार र प्रतिष्ठान गरी दुबै थरिका गरी झण्डै १६ देखि १७०० छन् । उनीहरुको सेवा विस्तार भत्ता ५० प्रतिशत पनि वीरको आन्तरिक स्रोतबाटै दिने व्यवस्था छ । अस्पतालमा बेड निशुल्क गर्ने, स्रोत घटाइदिने र जनशक्तिका लागि अस्पतालकै स्रोतबाट घटाइदिने काम गर्नु कति न्यायोचित हो ?,’वीर अस्पतालका एक कर्मचारीले बताए ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीरमा पछिल्लो समय देखिएका साना तिना समस्या र अफ्टेराहरुलाई फुकाउन भोलिको लागि बैठक राखिएको बताए । ‘केही जनशक्तिका कुरा छन्, केही अरु नीतिगत निर्णयहरु गर्नुपर्नेछ । दशैँ लागि सक्यो पछि झन् ढिला हुन्छ भनेर भोलिका लागि बैठक आयोजना गरिएको हो,’ उनले भने ।

मन्त्रीको कार्यशैलीप्रति उनकै पार्टी सम्वद्ध युनियन र कर्मचारी नै असन्तुष्ट
भाषणमा जति आदर्शका कुरा गरे पनि मन्त्री बस्नेतले पद सम्हाले देखि नै पार्टी निकटका कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई रिक्त ठाउँमा नियुक्त गरे । गर्दै आएका छन् । जो अस्वभाविक देखिदैन पनि । किनभने अन्य पार्टीका मन्त्रीहरुले आफू निकटका व्यक्तिहरुलाई यसैगरी नियुक्ति र सरुवा गरेर प्राक्टिसमा ल्याइरहेका थिए । तर अचम्मको कुरा उनले जो जोलाई नियुक्ति गरे मन्त्रीको कार्यशैलीपछि उनीहरु अहिले हैरान भएका छन् ।

‘पार्टी निकट ट्रेड युनियनको कुरा पनि सुन्दैनन्, सल्लाह सुझाव कसैको लिदैनन्, जसलाई पनि हप्की दप्की गर्छन् । आफै मात्रै जान्ने बन्छन्, त्यसैले अहिले कसैले उनलाई सुझाव पनि दिदैनन्,’ स्वास्थ्यकर्मी युनियन आवद्ध एक स्वास्थ्यकर्मीले भने ।  उनीहरुले स्वास्थ्य मन्त्री बस्नेतले पार्टीको छवि नै धुमिल्याउन थाले भनेर पार्टी नेतृत्वलाई समेत भन्ने गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *