नेपाल औषधि उत्पादक संघको २९ औँ बार्षिक साधारण सभा आज, नयाँ कार्यसमिति चयन हुँदै

काठमाडौँ, २६ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन)को २९ औँ बार्षिक साधारण सभा आज हुँदैछ । काठमाडौँमा हुने आजकै साधारण सभाले आगामी दुई बर्षका लागि एपोनको नयाँ नेतृत्व चयन गर्दैछ ।

यसअघि २९ साउन २०७८ मा सम्पन्न एपोनको २७ औँ बार्षिक साधारणले प्रज्वलजंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसबेलाको कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

यसपटक पनि एपोनमा सहमतिमै पदाधिकारी तथा कार्यसमिति सदस्य चयन गर्ने योजनाका साथ सदस्यहरु लागेको बुझिएको छ ।

एपोनका उपाध्यक्ष सन्तोष बरालले एपोनका कुल सदस्य संख्या ७५ रहे पनि नयाँ नेतृत्व चयनका लागि मताधिकार रहेको सदस्यको संख्या ६० मात्रै रहेको बताए । उनले यहि संख्याबाट नयाँ नेतृत्व चुन्ने र चुनिने जानकारी दिए ।

अहिले अध्यक्ष रहेका पाण्डेले आगामी नेतृत्वका लागि दावी नगर्ने सार्वजनिक गरिसकेका छन् । पुराना पदाधिकारीहरुले फेरी दोहोरिने ईच्छा जाहेर गरेका छैनन् ।

अध्यक्ष बन्न एक कार्यकाल पदाधिकारी रहेको हुनु पर्ने भएकोले वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष महेश प्रधान, उपाध्यक्ष बराल, महासचिव बिप्लभ अधिकारी र कोषाध्यक्ष प्रभात रुंगाटामध्ये एक जना हुने निश्चित छ । यस्तै पदाधिकारीमा आउन पनि एक कार्यकाल कार्यसमिति सदस्य रहेको हुनुपर्ने छ । अघि सदस्य भएको मध्येबाट कोही आउने निश्चित छ ।

मताधिकार सदस्य संख्या पनि थोरै नै रहेको संस्थामा निर्वाचन भन्दा सहमतिबाट नेतृत्व चयन गर्नु पर्ने अधिकांश सदस्यहरुको सुझाव रहेको बताइएको छ ।

त्यसैले यसपटक नयाँ नेतृत्व चयनका लागि बाहिर खासै चर्चामा कोही देखिएका छैनन् । अध्यक्षका प्रत्यासी बन्ने योग्यता पुगेका चारै जनाले सहमतिमै नयाँ कार्यसमिति आउने सम्भावना बढी भएको बताउँदै आएका छन् । कतिपयले वर्तमान पदाधिकारीमध्ये अध्यक्ष बाहिरिने भएपछि त्यसपछिका पदाधिकारीहरुलाई एक एक तह बढुवा गर्दै लैजाने हो कि भनेर सुझाव समेत दिएका छन् ।

त्यसो निर्वाचनलाई सहमतिमै टुङ्गो लगाउने भनेर वर्तमान पदाधिकारीहरु पटक पटक छलफलमा बसेका छन् । उनीहरुलाई पूर्व पदाधिकारीहरुले समेत सहमतिमै टुङ्ग्याउन जोड दिएका छन् ।

‘पटक पटकको छलफल, अधिकांश सदस्य र सिनियरहरुको सुझाव अनुसार नयाँ कार्यसमिति सहमतिमै बन्न सक्ने सम्भावना बढेको छ,’ एक जना सदस्यले भने, ‘सबैको जोडवल र भावना सहमतिमै हुने भन्दा विरोधमा कोही ननिस्केला कि ।’

एपोनले पूर्व अध्यक्ष महेश गोर्खालीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सो समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल र अर्का पूर्व अध्यक्ष शंकर घिमिरे रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *