औषधि सम्बन्धि बृहत सम्मेलन ‘फार्मा कन्क्लेभ – २०२३’ सम्पन्न

'औषधिको गुणस्तरमा जोड दिनु'


काठमाडौँ, २५ असोज । औषधि सम्बन्धि बृहत सम्मेलन ‘फार्मा कन्क्लेभ – २०२३’ सम्पन्न भएको छ । नेपाल औषधि उत्पादक संघ, औषधि ब्यवस्था विभाग, जर्मन सहयोग र पीटीबी संयुक्त आयोजनामा भएको यो सम्मेलनमा नेपाली औषधि उद्योगको विकास, नीतिगत पैरवी, औषधि बजारलाई सुधार र प्रभावकारीरुपमा कसरी स्तरउन्नती गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

दरवारमार्गस्थित याक एण्ड यति होटलमा चलेको कार्यक्रममा नेपालका औषधि उत्पादक, स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागका पदाधिकारी सहित भारत र बंगलादेशका विज्ञहरुको उपस्थिथि रहेको थियो ।

उद्घाटन सत्रपछि विज्ञहरुद्धारा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति गरिएको थियो । यस्तै नेपाली औषधि उद्योग विकासका चुनौति र अवसरहरुको जानकारी, औषधि उद्योगको प्रवर्धन गर्नका लागि भावी रणनीतिहरु विषयमा समूहगत छलफल भएको थियो ।

एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले यो सम्मेलनले नेपाली औषधि उद्योगका उत्पादक तथा प्रतिनिधि, औषधि व्यवसायी, औषधि अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याएको भन्दै नेपाली औषधि उद्योगको विकास, नीतिगत पैरवी, औषधि बजारलाई सुधार र प्रभावकारी रुपमा स्तरउन्नती गर्ने विषयमा प्रभावकारी रुपमा छलफल भएको बताए । उनले छलफलबाट नेपाली औषधि उद्योग कहाँ छ ? कहाँ पुग्नु पर्ने हो ? राज्यको नीतिमा कहाँ कहाँ ग्याप छ भन्ने विषयमा समेत व्यापक छलफल भएको जानकारी दिए ।

समूहगत छलफलमा भारतका डा निकुञ्ज पटेल, बंगलादेशका डा सितेस सि बचार सहित टिजिग फार्माका कार्यकारी निर्देशक शैलेश बैद्य, औषधि व्यवस्था विभागका पानबहादुर क्षेत्री, औषधि विज्ञ डा पन्ना थापा लगायतले भाग लिएका थिए ।

डा पटेलले भारतले औषधिका क्षेत्रमा गरेको तिब्रतर विकास, डा बचारले बंगालादेशमा औषधि उद्योगको विकासमा केन्द्रीत रहेर बोलेका थिए ।

यस्तै क्षेत्रीले औषधिका क्षेत्रमा सरकारको नीति, थापाले नेपालको औषधि उत्पादनको क्षेत्रमा भएका कार्य र गर्नु पर्ने कार्य, नेपालमै पहिलो पटक एन्टी क्यान्सरको औषधि बनाएका बैद्यले टेक्नोलोजी ट्रान्सफर र फरेन डाइरेक्ट इन्भेस्टमेन्टका बारेमा आफ्ना धारणा राखेका थिए ।

समूहगत छलफलको सहजीकरण बरिष्ठ उपाध्यक्ष महेश प्रधानले गरेका थिए ।

‘औषधिको गुणस्तरमा जोड दिनु’
यसैबीच सम्मेलनको अन्तिम सत्रलाई सम्वोधन गर्न पुगेका स्वास्थ्य सचिव डा रोशन पोखरेलले नेपाली औषधि उद्योगहरुको विकासका लागि सरकारको सधै सहयोग रहने बताए । उनले स्वदेशी उद्योगहरुले गुणस्तरमा ध्यान दिन आग्रह गरे । उनले नीतिगत गर्नु पर्ने सुधारका काममा पनि आफू सधै सकारात्मक रहेको बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल पनि गुणस्तरमा जोड दिदै सिस्टम सुध्रिडिकरणमा लाग्नु पर्ने बताए । उनले विश्वव्यापी प्रतिस्पर्धामा जाने उदेश्यले काम गर्न पनि उद्योगीहरुलाई सुझाव दिए । उनले स्कीलफुल म्यानपावरलाई सबैभन्दा बढी रोजगारी दिने उद्योग नेपालको औषधि उद्योग हो भन्दै यसको योगदानलाई विर्षनु नहुने बताए । उनले औषधि क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै यसलाई स्वस्थ रुपमा चलाउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा एपोनका तर्फबाट प्रणव दाहालले कार्यपत्र प्रस्तुति गरेका थिए ।

कार्यक्रमबाट आएका निष्कर्षका आधारमा स्वास्थ्य, उद्योग, अर्थ मन्त्रालय, औषधि व्यवस्था विभाग, फार्मेसी काउन्सिल लगायतका सरकारी निकायहरुलाई सुझाव पेश गर्ने अध्यक्ष पाण्डेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *