नेपाली औषधिको गुणस्तरमा शंका मानेपछि ……..
काठमाडौँ, २४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वदेशी कम्पनीबाट उत्पादित औषधि तथा सर्जिकल सामानको गुणस्तरमा शंका व्यक्त गरेको छ ।
उसले आफ्नो फार्मेसीका लागि खरीद गर्न लागेको मेडिकल तथा सर्जिकल सामानहरुको वोलपत्र आव्हान गर्दा स्वदेशी कम्पनीका लागि थप दुई प्रावधान राखेको छ ।
‘खासमा विदेशी कम्पनीले उत्पादन गरी आयात गरेका औषधि र सर्जिकल सामानहरुको गुणस्तर राम्रो नै हुन्छ । उनीहरुसंग यी कागजात मागिएको छैन । तर, कतिपय स्वदेशी उत्पादनका हकमा ढुक्क हुने अवस्था छैन् । त्यसैले हामीले खरीदका लागि बोलपत्र आव्हान गर्दा नै थप दुईवटा प्रावधान राखेका थियौँ,’ प्रतिष्ठानका फार्मासिस्ट एवं खरीद समितिका सदस्य कृष्ण जोशीले भने ।
उनका अनुसार स्वदेशी औषधि तथा सर्जिकल आइटम सप्लाई गर्नेहरुलाई कबोलित ब्राण्ड एक्टीभ फार्मास्युटिकल इनग्रेडियन्टस (एपीआई) उत्पादन गर्ने उत्पादकको जीएमपी प्रमाणपत्र र बोलपत्रमा कबोलित ब्राण्ड एक्टिभ फर्मास्युटिकल इनग्रेडियन्टस (एपीआई) आयात गर्दा ८० प्रतिशत एक्सपाइरी डेट बाँकी रहेको भनि प्रमाणित हुने कागजात मागिएको छ ।
प्रतिष्ठानले बुधबार (आज) नै पनि प्रतिस्पर्धामा भाग लिएका सप्लायर्सलाई यी दुई विषयका बारेमा एकीन गरी दुई दिन भित्र कागजात पेश गर्न भनेको छ ।
यी दुई कागज दुई दिन भित्रै पेश गर्न कसरी सम्भव हुन्छ ? नेपाली हेल्थको प्रश्नमा उनले पहिले बोलपत्र आव्हान गर्दा नै यी कागज मागिएको, तर कुनैले पनि नदिएपछि पुन ताकेता गरिएको बताए ।
‘समय अहिलेको दुई दिनको मात्रै होईन, पहिले बोलपत्रका बेलामा समेत यी कुराहरु मागिएको थियो । अहिले दुई दिन थप गरिएको मात्रै हो । यी कागज पेश गर्न सप्लायर्सहरुलाई पहिले ३१ र अबको २ दिन गरी ३३ दिन समय भयो,’ जोशीले भने ।
कतिपय उत्पादकहरुले औषधि व्यवस्था विभागमा दर्ता हुँदा समेत नचाहिने कागजात राप्तीले मागेको भन्दै आलोचना गरेका छन् । उनीहरुले दुई दिनको समय दिएर कागज ल्याउनु भन्नु नै शंकास्पद भएको बताएका छन् ।
तर जोशीले दुई दिन नभई कागजातका लागि कुल ३३ दिन समय पाएको बताए ।
विभागका महानिर्देशक नारायण ढकालले गुणस्तर एकीन गर्नका लागि थप कागजात माग्नु सम्वन्धीत संस्थाको अधिकार भएको बताए । तर छोटो अवधीमा पेश गर्न सम्भव हुन्छ कि हुँदैन भन्ने तर्फ पनि ध्यान दिन जोड दिए ।
प्रतिष्ठानले सप्लायर्सलाई आज पठाएको पत्रमा ‘सार्वजनिक खरीद ऐन २०६३ को दफा २३ को उपदफा ४ मा भएको व्यवस्था बमोजिम दुई दिन भित्र तपशीलका काजगात उपलव्ध गराईदिनु,’ भनेको छ ।
सार्वजनिक खरीद ऐन २०६३ को दफा २३ को ४ मा ‘सार्वजनिक निकायले यस दफा बमोजिम बोलपत्रको परीक्षण गर्ने सिलसिलामा बोलपत्रदातासंग आवश्यक जानकारी माग गर्न सक्नेछ,’ भनेर लेखिएको छ ।
प्रतिष्ठानका कर्मचारी जोशीले अन्त्यमा भने, ‘हामीले यसरी कागजात खोज्नुको पछाडी आम जनताले खरीद गरी प्रयोग गर्ने औषधि र सर्जिकल सामग्रीहरु गुणस्तरीय होस भन्ने एकमात्रै लक्ष्य हो, अरु केही शंका मान्नु पर्दैन ।’
सम्पर्क इमेल : [email protected]