के भयो त्रिविले कीर्तिपुरमा बनाउने भनेको १५०० शैय्याको सुपरस्पेसियालिटी सेन्टर परियोजना ?
'तीन वर्ष अघि तीन वर्षमा सम्पन्न गर्ने भनेर अघि बढाएको परियोजना तीन वर्ष पछि डुस'
काठमाडौँ, २४ असोज । तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने भन्दै सरकारले तीन वर्ष अघि कीर्तिपुरमा १ हजार ५०० शैय्याको मेडिकल सुपर स्पेसियालिटी केन्द्र स्थापना गर्ने योजना अघि सारेको थियो । तर तीन वर्ष पछि आईपुग्दा सो योजना लगभग विलाएको छ ।
तीन वर्ष अघि अर्थात २०७७ जेठ १५ गते तत्कालीन अर्थ मन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यको ३८ नम्बर बुँदामा ‘त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन् संस्थान अन्तरगर्त नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन् अध्यापन तथा तालिम सहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपर स्पेसियालिटी केन्द्र स्थापना गरिनेछ,’ भन्ने उल्लेख थियो ।
सोही आधारलाई टेकेर २०७७ चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नाममा रहेको ६० रोपनी जग्गा अस्पताल सुपरस्पेसियालिटी अस्पताल निर्माणका लागि त्रिविलाई उपलव्ध गराउने निर्णय गरेको थियो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान आईओएमकी डीन प्राडा दिव्यासिंह शाहले त्यसबेला भनेकी थिईन, ‘आइओएम अन्तरगर्त महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको सेवा विस्तार गर्न ठाउँ साँघुरो भयो, त्यसैले यसैको बिस्तारित स्वरुपमा कीर्तिपुरमा सुपरस्पेसियालिटी केन्द्र बनाउने हो । एक महिना भित्र नक्सा डिजाइन सहितको डीपीआर तयार हुने र त्यसपछि फटाफट काम अघि बढ्ने छ ।’ उनले त्यसबेला ६० रोपनी जग्गा तत्कालिन मन्त्रिपरिषद्ले निर्णय गरेर उपलव्ध गराए पनि त्रिविकै अरु जग्गा थपेर कुल २५० देखि ३०० रोपनी सम्मको क्षेत्रफलमा अस्पताल बन्ने दावी गरेकी थिईन् ।
हुन पनि उनकै भनाईलाई सहयोग हुने गरी अर्को बर्ष अर्थात आर्थिक वर्ष २०७८ /७९ मा अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले पनि अघिल्ला अर्थमन्त्री खतिवडाले सुरु गरेको कीर्तिपुरमा सुपरस्पेसियालिटी अस्पताल बनाउने योजनालाई निरन्तरता दिएका थिए ।
विसं २०७८ जेठ १५ गते अर्थ मन्त्री पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यको ४२ नं बुँदामा उनले कीर्तिपुरमा १ हजार ५ सय शैय्याको सुपर स्पेसियालिटी केन्द्रको निर्माण कार्य सुरु गरी तीन वर्ष भित्र सम्पन्न गर्ने भनेका थिए ।
त्यसबेला बजेट बक्तव्यमा भनिएको थियो, ‘जटिल तथा घातक प्रकृतिका रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशमा नै अन्तराष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्था अन्तगर्त काठमाडौँको कीर्तिपुरमा नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, स्पाइनल सर्जरी, कार्डियोलोजी, कार्डियो सर्जरी, पल्मोनोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी र सर्जरी लगायत रोगको विशिष्टीकृत उपचार सेवा, डाइग्नोस्टेक सेन्टर अध्ययन् अध्यापन तथा अनुसन्धानका लागि १ हजार ५ सय शैय्याको अत्याधुनिक सुपरस्पेश्यालिटी केन्द्रको निर्माण कार्य सुरु गरी तीन वर्ष भित्र सञ्चालनमा ल्याउन बजेट विनियोजन गरेको छु ।’
‘सुरुका दुई वर्ष सरकारले यो परियोजनालाई अघि बढाएकै हो । तर त्यसपछि प्राथमिकतामा परेन । आर्थिक वर्ष २०७८/७९ मा छुट्याइएको बजेट पनि कार्यान्वयन गर्ने चरणमा सरकार फेरियो, र बजेट समेत बीचमै खारेज भयो,’ आइओएमकी डीन प्राडा शाहले भनिन् । उनले अगाडी थपिन्, ‘कीर्तिपुर परियोजनाका लागि प्रोजेक्ट म्यानेजमेन्ट कन्सलटेन्ट छनौट गर्ने काम अन्तिम चरणमा पुगिसकेको थियो, बीचमा बजेट कटौती गरी रकमान्तर गरेपछि यो परियोजना अहिलेलाई स्थगित जस्तै भएको छ ।’
गठबन्धन फेरिएपछि बनेको पछिल्ला सरकारले पछिल्लो दुई वर्षमा सुपरस्पेसियालिटी बनाउने विषय प्राथमिकतामा नराखेपछि यो परियोजना तत्कालका लागि पूर्ण रुपमा स्थगित भएको छ ।
सम्पर्क इमेल : [email protected]