मानसिक स्वास्थ्यका विषयमा ईयूद्धारा सरोकारवाला पक्षसंग छलफल
काठमाडौँ, २४ असोज । विश्व मानसिक स्वास्थ्य दिवस – २०२३ को अवसरमा नेपालस्थित युरोपियन युनियन (ईयू)को प्रतिनिधि मण्डलले सोमबार ‘मानसिक स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार हो’ भन्ने शीर्षकको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको संस्था कोशिशसंग मिलेर उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरुले विषयगत प्रस्तुति तथा समुहगत छलफलमा भाग लिएका थिए ।
त्यसमा ईयूसंगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका प्रतिनिधि, कोशिश, टिपिओ नेपाल, करुणा फाउन्डेशन लगायत मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरु सहभागी थिए । उनीहरुले मानसिक स्वास्थ्य समस्या, यसमा भएका काम र गर्नु पर्ने कामका बारेमा प्रस्तुतिकरण तथा आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा सहभागीले नेपालमा मानसिक स्वास्थ्य समस्यालाई सम्वोधन गर्ने कानूनहरु पर्याप्त नभएको भन्दै मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिहरुमाथि हुने कलंक र भेदभावलाई उचित रुपमा सम्वोधन गर्न नसक्ने ठोकुवा गरे । उनीहरुले मानसिक स्वास्थ्यका बिरामीको उपचार भन्दा बाहिर हेर्नुपर्ने र उनीहरुलाई सामान्य जीवनयापन गर्न समाजमा पुर्नस्थापित गर्ने विषयमा विशेष ध्यान दिनु पर्ने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै ईयू नेपालका प्रतिनिधिमण्डल उपप्रमुख डा. जोएल हिभोनेटले ईयू र नेपाल दुबै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सीआरपीडी)का पक्षमा भएको भन्दै यसका पक्षमा जोड दिन आग्रह गरिन् । उनले मानसिक स्वास्थ्य भनेको व्यक्तिको नैसर्गिक अधिकारसंग जोडिएको विषय समेत भएको भन्दै लडाई,द्धन्द, महामारी तथा बेरोजगारी बढ्दै जाँदा यस्ता समस्या थपिदै जाने बताईन् । उनले जनचेतना अभिबृद्धिमा सञ्चारकर्मी र सञ्चारमाध्यमबो महत्वपूर्ण भूमिका हुने भन्दै सञ्चारकर्मीहरुलाई शिक्षा र तालीममा सहभागी गराउनु पर्नेमा जोड दिईन् ।
कार्यक्रममा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यका लागि उपचार एउटा पाटो रहेको भन्दै त्यो भन्दा ठूलो र महत्वपूर्ण पाटो उनीहरुलाई समाजमा पुर्नस्थापित गर्नु रहेको बताए । उनले मनोसामाजिक अवरोध तथा अपाङ्गता सम्वन्धी अवरोधलाई हटाउनमा सरोकारवाला पक्ष लाग्नु पर्ने बताए । उनले मानसिक स्वास्थ्य समस्यमामा परेका व्यक्तिका लागि उपचार भन्दा बढी साइकोथेरापी आवश्यकता भएको भन्दै सरकारले साइकोथेरापीको व्यवस्था गर्नु पर्ने बताए ।
कार्यक्रममा विगतमा मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएकी कमला पौडेलले आफ्नो अनुभव बताएकी थिईन । उनले मानसिक स्वास्थ्य समस्यामा पर्नेहरुलाई बढी नीति नियममा बाध्ने खालको कानून ल्याएको भन्दै यसलाई सुधार गर्नु पर्नेमा जोड दिईन् ।
कार्यक्रमको दोस्रो खण्डमा समूहगत छलफल समेतको आयोजना गरिएको थियो । करुणा फाउण्डेशनका दीपकराज सापकोटाले सहजीकरण गरेको सो छलफलमा कोशिशका देवकोटा, डब्लुएचका प्रतिनिधि डा केदार मरहठ्ठा, बरिष्ठ अधिवक्ता चन्दकान्त ज्ञवाली, टिपीओ नेपालका डा कमल गौतम लगायत सहभागी थिए ।
उनीहरुले मानसिक स्वास्थ्य नीतिमा अझै पनि कतिपय कुराहरु छुटेको, भएका नीतिहरुको कार्यान्वयन नभएको, नीति कार्यान्वयन गर्न संघ प्रदेश र स्थानीय तहबीच पनि समन्वयको अभाव भएको लगायतका धारणा राखेका थिए ।
सम्पर्क इमेल : [email protected]