डब्लुएचओको क्षेत्रीय निर्देशकको निर्वाचनमा सरकारको ‘लबिङ’ किन कम ?

सरोकारवाला भन्छन्, 'डा. आचार्यको पक्षमा भोट माग्न सरकारले विशेष सक्रियता देखाउनु पर्‍यो'

काठमाडौँ, २२ असोज । आगामी नोभेम्वरबाट विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्र (सेरो)को क्षेत्रीय निर्देशक परिवर्तन हुँदैछ । सो पदका लागि नेपालका डा. शम्भु आचार्य र बंगलादेशकी साईमा बाजेदको उम्मेद्धारी परेको छ ।

आगामी ३० अक्टोबर देखि २ नोभेम्बर सम्म भारतको नयाँ दिल्लीमा चल्ने सेरो बैठकबीच हुने निर्वाचनले यी दुई मध्ये एक जनालाई नेतृत्वमा लैजाने छ ।

डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिब्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार गरी ११ सदस्यीय राष्ट्र छन् । यी मध्ये म्यानमारले यसपटक भोटमा सहभागी हुन पाउने छैन् । संयुक्त राष्ट्रसंघले त्यहाँको जुन्ता सकारलाई आधिकारिता नदिएका कारण डब्लुएचओको क्षेत्रीय निर्देशक छनौट गर्ने मतदानमा सहभागीता हुन नपाउने भएको हो । त्यसैले छ वटा देशले समर्थन गर्ने व्यक्ति निर्देशक बन्ने छन् ।

नेपालको तर्फबाट उम्मेद्धार बनेका डा. आचार्यसंग विश्व स्वास्थ्य संगठनमा तीन दशक लामो काम गरेको अनुभव छ । उनका प्रतिस्पर्धी बनेकी साईमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

यसअघि क्षेत्रीय निर्देशक बन्ने अवसर भारतले पाएको थियो । सन् २०१४ मा पहिलो पटक क्षेत्रीय निर्देशक बनेकी त्यहाँकी डा. पुनम क्षेत्रपाल सिंह दोस्रो कार्यकालका लागि सन् २०१८ मा पनि निर्वाचित भएकी थिईन् । आफ्नो प्रतिनिधिलाई कार्यकाल दोहोरयाउने प्रस्ताव अघि सार्दा त्यसबेला भारतले यसपछि आफ्नो समर्थन नेपाललाई हुने बताएको थियो । तर, यसपटक नेपालले उम्मेद्धारी दिदै गर्दा भारतको समर्थन कसलाई हुन्छ भन्न सकिने अवस्था छैन । उम्मेद्धारी दिएको नेपालले पनि आवश्यकता अनुसार कुटनीतिक पहल गरेको देखिदैन ।

– डा. शम्भु आचार्य

आइतबार राजधानीमा भएको एक कार्यक्रममा संयुक्त राष्ट्रसंघ अन्तरगतका विभिन्न एजेन्सीमा रहेका काम गरेका जनस्वास्थ्य विज्ञ तथा कुटनीतिक क्षेत्रका पूर्व अधिकारीहरुले नेपाल सरकारको गतिविधिमा शंका व्यक्त गरे । उनीहरुले भने, ‘उम्मेद्धारी प्रस्ताव गरेपछि सरकारले अझ् प्रधानमन्त्री तहबाटै जुन रुपमा लविङ बढाउनु पर्ने हो, त्यो देखिएन भन्दै चिन्ता व्यक्त गरे । उनीहरुको गुनासो थियो यस क्षेत्रमा बढी प्रभाव हुने भारतलाई पाँच वर्ष नेपाललाई समर्थन गर्छु भन्ने बाचा सम्झाउन समेत सरकार तयार देखिएको छैन ।’

बरिष्ठ पत्रकार एवं अधिकारकर्मी कनकमणि दीक्षितले सरकारले डा. आचार्यलाई औपचारीक अनुमोदन गरे पनि खुलस्त सहयोग नगरेको बताए । उनले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको पछिल्लो भूमिका पछाडी हट्न खोजेको हो की ? भन्दै प्रश्न गरे ।

‘क्षमतावान उम्मेद्वार अन्तर्राष्ट्रिय पदको लागि नेपालले बिरलै पेश गर्न पाउँछ । विश्व स्वास्थ्य संगठन जस्तो टेक्निकल, नन पोलिटिकल पोजिसनमा सहभागी हुन पाउनु धेरै गौरवको विषय हो । नातावाद, कृपावादपनि नेपालको उम्मेदवारमा लागू हुँदैन’ दीक्षितले भने ‘सार्क देशमा बंगलादेश र नेपालबीच निकै सौहार्दपूर्ण सम्बन्ध कायम छ । एउटा देशको सरकार प्रमुख नातावादकै कारण नेपालको आफ्नो सक्षम क्यान्डीडेटका लागि चुनौती खडा हुन पुग्यो । अब यस्तो बेलामा बंगलादेश रिसाउला की भनेर नेपाल पछि हट्ने हो त । नेपाल सरकारबाट डा।शम्भू आचार्यलाई औपचारीक अनुमोदन त छ । तर, एक हदसम्म पछाडी हट्न चाहेको हो कि ।’

दीक्षितले मन्त्रिपरिषदले नै डा. आचार्यलाई उम्मेदवारीमा प्रस्ताव गरे पनि बर्तमान परराष्ट्र साउदको क्रियाकलापले सरकार पूर्व निर्णयबाट पछाडी हट्न खोजेको जस्तो देखिएको बताए । भारत रुष्ट होलाकी भन्ने हिसाबले नेपालले खुट्टा लरबराएको हो की जस्तो देखिएको छ । उनले भने ।

जनस्वास्थ्यविद् प्राडा रिता थापाले आचार्य क्षेत्रीय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताइन् । डा . थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य संगठनमा आबद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वाभाविक रहेको बताइन् ।

‘शम्भु आचार्य एक्सपर्ट हुनुहुन्छ । ३० वर्ष जति सामुदायिकस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म काम गर्नुभएको छ । भोलि महामारी आउन सक्छ । महामारी स्वास्थ्य क्षेत्रमा मात्रै होइन । बहुक्षेत्रीय हुन्छ । यो समाधान गर्न अनुभव र क्षमता चाहिन्छ । यो कुरा शम्भु आचार्यमा छ’, उनले भनिन् ‘सन् १९५३ देखि नेपाल विश्व स्वास्थ्य संगठनमा आवद्ध छ । नेपालले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि राम्रो काम गरिरहेको छ । यो त नेपालले पाउने सम्मान हो । सरकारले त उनलाई सपोर्ट गरेको छ । तर, अर्को देशको दाँजोमा हाम्रो देशले चुनावी अभियानमा तिब्रता दिनु पर्छ ।’

नेपाल परिवार नियोजन संघका निर्देशक डा नरेशप्रताव केसीले डब्लुएचओको सिद्धान्तमा नै सक्षम र योग्य भएको व्यक्ति, नातावाद तथा कृपावादमा नभएको व्यक्ति छनौट गरिने भन्ने उल्लेख छ भन्दै त्यसको व्यवहारिक कार्यान्वयन हुन्छ कि हुन्न भनि हेर्ने बेला आएको बताए । दुई उम्मेद्धार मध्ये डा आचार्य अत्यन्त योग्य र नातावादमा नपर्ने व्यक्ति हो भन्दै अर्को उम्मेद्धारको विषयमा धेरै भनि रहन नपर्ने बताए । उनले पनि सरकारको तयारीमा अलि कमि हो कि भन्ने लागेको बताए ।

अन्तर्राष्ट्रिय संघ संस्थामा लामो अनुभव संगालेका विश्व पराजुलीले विश्व स्वास्थ्य संगठनको उच्च तहमा नेपालले उम्मेदवार दिनु गौरवको विषय भएको बताए । उनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशकको महत्वपूर्ण भुमिका रहने भन्दै मतदान गर्न सम्बन्धित देशलाई आग्रह गरे । ‘पराजुलीले आचार्यले जिते दक्षिण पूर्वि एशियाका साथै नेपाललाई पनि फाइदा पुग्ने छ,’ पराजुलीले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *