आवासीय चिकित्सकको आन्दोलन आज पनि जारी
आन्दोलनलाई काठमाडौँ केन्द्रीत बनाउँदै आवासीय चिकित्सक
काठमाडौँ, १२ असोज । चिकित्सक माथि हुने कुटपिट तथा आक्रमणको विरोधमा आवासीय चिकित्सकहरुले विगत चार दिन देखि सुरु गरेको आन्दोलन आज पनि जारी छ । काठमाडौँ उपत्यकामा विरोधमा उत्रिएका आवासीय चिकित्सकहरु आज पनि माइतीघर पुगेर प्रदर्शन सुरु गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (न्याम्स) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका सरकारी कलेज तथा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका आवासीय चिकित्सकहरुको अगुवाईमा आन्दोलन भएको हो ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका सह संयोजक डा अरुण उप्रेतीले आवासीय चिकित्सकहरुको आन्दोलन जारी रहेको बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्नका लागि बनाइएको कानूनको प्रभावकारी कार्यान्वयन हुने अवस्था नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
उनले उपत्यकाका विभिन्न मेडिकल कलेज तथा अस्पतालहरुबाट आवासीय चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा एकजुट भएर लागेको बताए । उनले शनिबार (भोली) आफूहरुले बृहत प्रदर्शन गर्ने योजना बनाएको समेत बताए । त्यसका लागि उपत्यका बाहिरबाट समेत आवासीय चिकित्सक तथा विद्यार्थीहरु काठमाडाँै आइसकेको र आउँदै गरेको समेत बताए ।
मणिपालमा आवासीय चिकित्सकले सेवा दिएका छैनन्,
यसैबीच बिहीबार बेलुका छ बुँदे सम्झौँता भएर आन्दोलनका कार्यक्रम फिर्ता लिएको समाचार बाहिरिए पनि शुक्रबार पनि ओपिडी सेवा बन्द नै रहेको आवासीय चिकित्सकहरुले बताएका छन् ।
‘अस्पताल प्रशासन र बिरामी पक्षबीच सम्झौँता भएको हो । त्यसमा आन्दोलनकारी आवासीय चिकित्सकहरुको सहमति छैन् । हामीले कार्यस्थल सुरक्षा मागेका हौँ । त्यसका लागि जेल वीद आउट बेल सम्वन्धी नियम कार्यान्वयनमा आउनु पर्छ भन्ने हो । त्यसैले मणिपालको आन्दोलन पनि यथावत नै छ,’ डा उप्रेतीले भने ।
चिकित्सक संघ अलमलमा
हेटौँडा घटनामा देशव्यापी बन्द आव्हान गर्दा आलोचना खेपेको नेपाल चिकित्सक संघको केन्द्रीय यसपटकको आन्दोलनमा भने पर्ख र हेरको अवस्थामा देखिएको छ ।
उसले न त आफ्नो नेतृत्वमा आन्दोलन वा विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । न त आवासीय चिकित्सकहरुलाई ढुक्कले सर्पोट गरेको छ ।
देशभरका चिकित्सकहरुको साझा संगठन दावी गर्ने चिकित्सक संघको नेतृत्वले निर्णय लिन नसक्दा पुन आवासीय तथा अन्य चिकित्सकको आलोचना खेप्नु परेको छ ।
आवासीय चिकित्सक आन्दोलनले सेवामा असर, बिरामीसंगको सम्वन्धमा थप तिक्तता हुने संकेत
हेटौँडाको सञ्चो अस्पतालमा चिकित्सक माथि आक्रमण भएपछि नेपाल चिकित्सक संघले गत साता विरोध स्वरुप देशव्यापी अस्पताल बन्द गरेर आन्दोलनमा उत्रियो । उसको सो कदमको सर्वत्र आलोचना भयो ।
यद्धपी सरकारले सोही दिन बार्ता गरेर सहमति गर्यो अनि आन्दोलन फिर्ता भयो । तर सहमति गरेको तीन दिन नवित्दै कञ्चनपुर, चितवन, मोरङ , लमजुङ, कास्की, ललितपुर लगायतका स्थानमा चिकित्सकमाथि आक्रमण तथा दुर्व्यहार भयो ।
यदि आन्दोलन र सहमतिले मात्रै त्यस्ता घटना नहुँदो हो त अहिलेको यो अवस्था आउने थिएन ।
बिरामी र आफन्त जहिले पनि तनावमा हुन्छ । राम्ररी कुरा बुझाउन नसक्दा कहिलेकाँही नराम्रो घटना पनि घट्छ । कहिले बिरामी पक्षको गल्ती हुन्छ, कहिले स्वास्थ्यकर्मीको पनि गल्ती हुन सक्छ । अझ यी भन्दा ठूलो गल्ती गर्ने सरकार छ र राजनीति दलहरु छ ।
सरकारले कानूनको कार्यान्वयन राम्ररी गर्न चाहेको छैन । यता राजनीति दलले पनि गल्ती गर्ने व्यक्ति कुन पार्टी निकट छ भनेर त्यसका आधारमा कारवाहीको माग गर्ने वा कारवाही नगर्न दवाव दिने गरेका छन् ।
यसरी आ आफ्नो सुरमा लाग्दा अस्पताल आइरहेका अरु निर्दोष बिरामीहरुले सास्ती व्यहोरिरहेका छन् । यसले उनीहरुको मनमा स्वास्थ्यकर्मीप्रति थप नकारात्मक सोच पैदा गर्न सक्छ । यसैले आन्दोलनको मोडालिटी परिवर्तन गर्नुमा बुद्धिमता हुनेछ ।
सम्पर्क इमेल : [email protected]