चार वर्ष अघि नै उच्चस्तरीय बैठकले गरेको थियो स्वास्थ्यकर्मी सुरक्षा सम्वन्धी महत्वपूर्ण १० बुँदे निर्णय
काठमाडौँ, १० असोज । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणलाई कसरी न्युनिकरण गर्न सकिन्छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वर्ष अघि उच्चस्तरीय बैठकको आयोजना गरेको थियो । २३ असार २०७६ मा सम्पन्न सो बैठकले १० बुँदे निर्णय गरेको थियो ।
त्यसबेला स्वास्थ्य मन्त्रालयको नेतृत्व उपप्रधान समेतको जिम्मेवारी पाएका उपेन्द्र यादवले गरेका थिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण तथा दुर्व्यहार हुने क्रम नरोकिएपछि त्यसबेला मन्त्री यादवको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजना गरिएको थियो ।
बैठकको आयोजना तथा समन्वयको लागि खटिएका तत्कालिन स्वास्थ्य सचिव रामप्रसाद थपलियाले त्यसबेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाका लागि महत्वपूर्ण निर्णय गरिएको थियो भन्दै त्यो निर्णय कार्यान्वयनमा ल्याउन सक्ने हो भने यस्ता घटना धेरै हदसम्म घटेर जाने बताउँछन् ।
‘हाम्रो बानी निर्णय गर्ने तर कार्यान्वयनमा नल्याउने खालको भयो, यदि कार्यान्वयनमा ल्याउने हो भने २०७६ साल असार २३ गते बसेको अस्पताल सुरक्षा सम्वन्धी बैठकले गरेको निर्णय काफी छ,’ तत्कालिन सचिव थपलिया भन्छन्, ‘त्यसबेला गरिएका १० बुँदे निर्णयको कार्यान्वयन भएको भए, अहिलेको यो अवस्था आउने थिएन ।’
हुन पनि त्यसबेला स्वास्थ्य मन्त्रालयमा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, गृह सचिव प्रेमकुमार राई, सशस्त्र, जनपत र राष्ट्रिय अनुसन्धान गरी तीनवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी समेत सहभागी थिए ।
यस्तै बैठकमा स्वास्थ्य मन्त्रालय, विभागका उच्च अधिकारी, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य बीमा बोर्ड, चिकित्सक तथा नर्सिङ संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरु, नेपाल औषधि उत्पादक संघ, सहित विभिन्न ठूला अस्पतालका प्रमुखहरुको उपस्थिति थियो ।
त्यसबेला बैठकको मोडरेट गरेका तत्कालिन सचिव थपलिया भन्छन्, त्यस बैठकको एउटै उदेश्य थियो अस्पतालमा हुने घटना र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यहारलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।
यस्ता थिए २०७६ असार २३ गते तत्कालिन स्वास्थ्य मन्त्री यादवको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले गरेका १० बुँदे निर्णय
स्वास्थ्य संस्था र तहाँ कार्यरत अवस्थामा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्ने सम्बन्धमा मिति २०७६।०३।२३ गते मा. उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यूको अध्यक्षतामा मा. गृह मन्त्रीज्यू, मा. स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीज्यू, गृह सचिवज्यू, स्वास्थ्य सचिवज्यू, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तरगतका पदाधिकारी, सुरक्षा निकायका प्रमुखज्यूहरु लगायत अन्य सरोकारवालाहरु समेतको समुपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न भएका बैठकका निर्णयहरु :
१. स्वास्थ्य संस्था र तहाँ कार्यरत अवस्थामा रहेका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुको विद्यमान सुरक्षा प्रवन्धलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन देहाय अनुसार गर्ने, गराउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्ने ।
क) प्रत्येक स्वास्थ्य सेवा प्रदायक संस्थाको प्रमुखले आफ्नो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको नाम, थर, पद, सम्पर्क नम्बर, ईमेल ठेगाना र हाल बसोवास गरी रहेको ठेगाना जस्ता न्यूनतम सुचनाहरु अध्यावधिक गरी स्वास्थ्य संस्थामा राख्ने व्यवस्थालाई अनिवार्य गरी थप प्रभावकारी बनाउने अनिवार्य व्यवस्था मिलाउने ।
ख) स्वास्थ्य संस्थासंग सम्पर्क र समन्वय गर्नका लागि त्यस संग सम्बन्धित जिम्मेवार पदाधिकारी र निज संग सम्पर्क स्थापित हुन नसकेको अवस्थामा अर्को वैकल्पिक पदाधिकारी समेत दुई जनाको नाम, थर, पद, सम्पर्क नम्वर, ईमेल ठेगाना समेत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी लगायतको सुरक्षाको लागि खटिएको वा खटिने सुरक्षाकर्मीलाई उपलब्ध गराउने र यस्तो अद्यावधिक बिवरण नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउने र परिवर्तन भएमा तत्काल अद्यावधिक गरी समयमै सुरक्षा निकायलाई जानकारी गराउने व्यवस्था मिलाउने ।
ग) प्रत्येक स्वास्थ्य सेवा प्रदायक संस्थाले आफ्नो स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारीहरुको सुरक्षाको विषय तथा समसामयिक विषयमा महिनाको एक पटक नजिकको सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारी प्रतिनिधीहरु समेत सहभागी हुने गरी नियमित बैठक वस्ने बसाउने व्यबस्था मिलाउन आवश्यक पर्ने कार्य वातावरण निर्माण गर्न आवश्यक समन्वय गर्ने ।
२. सुरक्षा निकायको आ-आफ्नो कार्यक्षेत्र भित्र पर्ने स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको सुची तयार गरी सोका व्यवस्थापक, सञ्चालक र जिम्मेवार पदाधिकारीहरुसंग नियमित सम्पर्क र समन्वय गर्ने व्यबस्था मिलाउन गृह मन्त्रालय मार्फत सम्बन्धित सबै स्थानीय प्रशासनलाई निर्देशन दिन अनुरोध गर्ने ।
३. सुरक्षा निकायको आ-आफ्नो कार्यक्षेत्र भित्र पर्ने स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको नियमित सुरक्षा निगरानी गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित सुरक्षा निकायहरुलाई निर्देशन दिन अनुरोध गर्ने ।
४. स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नी कर्तव्य पालनाको सिलसिलामा अप्रत्याशित रुपमा घट्न सक्ने परिस्थितिजन्य घटनाहरुलाई अतिरन्जित गरी सामुहिक वा व्यक्तिगत स्वार्थको लागि घटनालाई तोडमोड गरी अनर्गल प्रचार र कावु बाहिरको परिस्थिति निर्माण गरी अस्पताल प्रशासन, स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारीको जनधनमा क्षति पुऱ्याउने, अस्पतालको भौतिक संरचनामा क्षति गर्ने लगायतका गैह्रकानूनी र अशोभनीय कार्य गरी कानून समेत हातमा लिने र सोही घटनालाई लिएर त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाईदा लिन केही उदण्ड समुह सक्रिय भएको आशंका भएमा सोको निगरानी र आवश्यक कारवाहीका लागि नजिकको सुरक्षा निकायलाई सुचना उपलब्ध गराउने र यस्तो अवस्थामा तत्काल सुरक्षा व्यवस्थाका लागि नजिकको सुरक्षा इंकाई परिचालित हुने व्यवस्था गर्न गृह मन्त्रालय मार्फत सबै
गर्ने ।
५. स्वास्थ्य संस्था स्वास्थ्य सेवा प्रदायक निकायमा कुनै घटना घटेमा वा घट्ने आशंका भएमा सम्पर्क व्यक्ति मार्फत तत्काल सुरक्षा निकायलाई जानकारी दिने ।
६. स्वास्थ्य प्रदायक संस्थाहरुको सेवा प्रवाह सम्बन्धमा मन्त्रालय तथा मातहतका निकायहरुबाट अनुगमन गर्ने गराउने व्यवस्थालाई थप प्रभावकारी बनाई संस्थाहरुलाई सेवाग्राही प्रति जिम्मेवार र सेवामुखी रहन निर्देशित गर्ने ।
७. स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य प्रदायक संस्थाहरुलाई सहज कार्य वातावरण सृजना गर्न पालिकाहरुको सहयोग र समन्वयको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सवै पालिकाहरुलाई लेखी पठाउन अनुरोध गर्ने ।
८. स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरामीलाई गर्ने व्यवहार सम्बन्धी आचार संहीता परिपालना गर्न गराउन सम्बन्धित सवै परिषदहरुलाई लेखी पठाउने । सेवा प्रदायुक्त संस्थाका प्रमुखले नेतृत्व र समन्वय गरी सम्बन्धित सरोकारवालाहरु संग सञ्चार, समन्वय, सहकार्य गरी कार्यान्वयनमा ल्याउने ।
९. आफ्नो स्वास्थ्य संस्थाबाट उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने जिम्मेवारी संस्था प्रमुख र खटिएका स्वास्थ्यकर्मीहरुको सामुहिक प्रयासवाट हुने हुदा कार्य सम्पादन मूल्याङ्कन गर्दा यस पक्षलाई दृष्टिगत गरी मूल्याइन गर्ने प्रणालीको विकास गर्ने ।
१०. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका सम्वन्धमा हाल कार्यान्वयनमा रहेको ऐन नियमावलीलाई स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र सेवाग्राहीको हितमा हुनेगरी समयानुकुल परिमार्जन गर्न पहल गर्ने ।
यो पनि पढ्नुहोस् :
– स्वास्थ्य मन्त्रालयमा अस्पताल सुरक्षा सम्बन्धि बैठक सम्पन्न, कसले के बोले ?
सम्पर्क इमेल : [email protected]