कुटपिटको घटना बढेपछि आवासीय चिकित्सक आन्दोलित, गृह मन्त्री र स्वास्थ्य मन्त्रीको राजिनामा पहिलो माग
काठमाडौँ, १० असोज । डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात, दुर्व्यहार र आक्रमण हुने क्रम बढेपछि आवासीय चिकित्सकहरु कडा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजबाट कुनै पनि सेवामा सरिक नभई आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
मंगलबार बेलुका बसेको आवासीय चिकित्सकहरुको बैठकले आफूहरुको नेतृत्वमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति गठन गरेका छन् । सो समितिले पेशागत सुरक्षा तथा सुविधा सम्वन्धी विभिन्न ४ वटा माग अघि सारेको छ । जसको पहिलो बुँदामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको तत्काल राजिनामा माग गरिएको छ ।
पहिलो बुँदामा ‘देश भरिमा नै कानूनी राज्य, आम नागरिकहरुमा शान्ति, सुरक्षा कायम गर्न नसकेको अवस्था र खासगरी स्वास्थ्य संस्थाहरुमा शान्ति सुरक्षा कायम गर्न नसकेको, स्वास्थ्यकर्मीहरुमा कानूनी राज्य र सुरक्षाको प्रत्याभूति गराउन नसकेको परिप्रेक्ष्यमा गृहमन्त्री र स्वास्थ्य मन्त्री दुबैले तत्काल राजिनामा दिनु पर्ने,’ भनिएको छ ।
यस्तै समितिले जेल वीद आउट बेलको प्रभावकारी कार्यान्वयन सम्वन्धमा थप चार वटा बुँदा, स्वास्थ्य संस्थामा सुरक्षित कार्यस्थल सम्वन्धमा दुईवटा बुँदा र आवासीय चिकित्सकहरुको हकहितको सम्वन्धमा तीन बुँदामा माग अघि सारेको छ । उनीहरुले आफ्ना मागहरु पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
गत सोमबार यता लमजुङ, पोखरा, चितवन, पाटन लगायतका विभिन्न स्थानका अस्पतालहरुमा आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमण भएका थिए । एकपछि अर्को गर्दै विभिन्न ठाउँमा आक्रमण बढेपछि आवासीय चिकित्सकहरु हिजो विहान देखि स्वतस्फुर्त रुपमा सेवामा सरिक नहुने गरी आन्दोलनमा उत्रिएका थिए ।
उनीहरुको समूहले हिजो माइतीघरमा धर्ना तथा प्रदर्शन समेत गरेको थियो ।
यस्ता छन् संघर्ष समितिको माग
सम्पर्क इमेल : [email protected]