चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि किन भइरहेको छ आक्रमण ?
हिजो आज हामी स्वास्थ्य क्षेत्रका व्यक्तिहरुका लागि माथिको शीर्षक जति गम्भीर छ, आम सर्वसाधारणका लागि यो शीर्षक उति नै हलुका बन्दै गएको छ ।
चिया पसल, रेष्टुरेन्टमा गरिने कुराकानी मात्रै होईन सामाजिक सञ्जाल फेसबुक, ट्वीटरतिर डाक्टर वा स्वास्थ्यकर्मी कुटिएको समाचारमा आउने कमेन्टमा हेर्नु भयो भने थाहा पाइहाल्नु हुन्छ । अर्थात, अहिले डाक्टर वा स्वास्थ्यकर्मी कुटिनु सामान्य जस्तै बन्न थालेको छ । जो, अति नै गम्भीर कुरा हो ।
यसै साता कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र र हेटौंडाको सञ्चो अस्पतालमा भएको घटनापछि यस विषयमा गहिरिएर सोचेँ । स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण र दुर्व्यहारका घट्ना किन बढी रहेको छ भनेर घोत्लिएँ । आफूले नियमित पढ्ने केही स्वास्थ्यका अनलाइन र मेनस्ट्रिम अनलाइन खोतल्न थालेँ, कि स्वास्थ्यकर्मीमाथिको दुर्व्यहार वा आक्रमणको ट्रेन्ड कता जाँदैछ भनेर ।
यस्ता दुर्व्यहार र आक्रमणको घट्ना कसरी बढी रहेको छ ? यसको पूर्ण विवरण घटनापछि विज्ञप्ती जारी गर्ने पेशागत संगठनहरुसंग वा प्रहरीसंग होला । मैले त केही दिन लगाएर स्वास्थ्य विटमा सञ्चालित केही स्वास्थ्यका अनलाइन न्युज पोर्टल र मुलधारे भनिने केही अनलाइनहरुमा आएका समाचारका अर्काइभहरुबाट गणना गर्न थालेँ । त्यसैले मेरो तथ्यांक बास्तविक भन्दा केही कमि पनि हुनसक्छ । अर्थात मैले हेरेका पोर्टलहरुले सबै घटनाको समाचार नलेखेको पनि हुनसक्छ । तर जति हेरेँ र पाएँ अवस्था डरलाग्दो रुपमा बढी रहेको छ ।
स्वास्थ्यकर्मीमाथि कुटपिट दुर्व्यहार र स्वास्थ्य संस्थामाथिको आक्रमण सम्वन्धी समाचार विसं २०७० देखि २०७७ सम्म तुलनात्मक रुपमा कम देखियो । अर्थात यो अवधीमा तीनवटा मिडियामा जम्मा ४७ वटा केश देखियो ।
त्यसमा पनि यी केशहरु कानूनमा गयो गएन थाहा छैन् । कुनै कुनै केशमा पुलिसले समातेर लगेको छ भन्ने सम्म छ । तर त्यसपछि कारवाही भएको छ कि छैन त्यो थाहा छैन् ।
तर, विसं २०७८ को सुरु देखि यसै साता कञ्चनपुरको घटनासम्म आईपुग्दा १४३ वटा घटना घटेको देखिएको छ । पछिल्लो सात वर्षको केश र पछिल्लो दुई वर्षमा आएको केशको संख्याले मलाई यो साच्चिकै डरलाग्दो अवस्थामा बढी रहेको छ भन्न गाह्रो भएन ।
समाचारकै ‘ट्रेण्ड’ले के बताइरहेको थियो भने पहिले अस्पताल तोडफोड र हुलहुज्जत बढी हुन्थ्यो भने पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण बढी भएको देखिएको छ ।
त्यसो त सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण बढ्दै गएपछि विसं २०६६ सालमा सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन’ लागू गरेको थियो । त्यसलाई गत वर्ष संसोधन गरि थप बलियो बनाएको पनि हो । तर, घटना घटन कम भएको छैन । झन झन् बढ्दै गएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिने आक्रमणको बदलिदो शैली र मिडियाको भूमिका:
अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पहिला पहिला पनि यस्ता घटना नहुने होइनन् हुन्थे तर छिटफुट मात्रामा हुन्थे । बिरामीको मृत्यु भएको कि भिडले अस्पताल वा चिकित्सकको लापवाही भन्ने र मिडियाले त्यहि कुरालाई एकोहोरो रुपमा प्रस्तुत गर्ने देखिन्थ्यो ।
तर, पछिल्लो समय मेनस्ट्रिम र विशेषगरी स्वास्थ्य विटमा समाचार लेख्ने सञ्चारकर्मीहरु यसमा अलि जिम्मेवार भएको पाइएको छ । अस्पतालमा मान्छे मर्ने वित्तिकै मिडियाले लेख्ने गरेको लापवाही भयो भन्ने परिपाटी अहिले बदलिएको छ । लेखिहालेमा पनि लापवाहीको आरोप भनेर थप्ने गर्दछन् ।
पहिले समाचारहरु हुलहुज्जत र तोडफोडमा उत्रिनेको पक्षबाट ढल्किएर लेखेको जस्तो देखिन्थ्यो भने अहिले दुबै पक्षलाई समेटने प्रयास गरेको देखिन्छ । मिडियामा वा सञ्चारकर्मीमा आएको यो परिवर्तनले सम्भावित ठूलो दुर्घटनालाई समेत न्युनिकरण गरेको छ । साच्चिकै स्वास्थ्यमा लेख्ने पत्रकारहरु अलि सम्वेदनशील देखिएका छन् ।
तर, फेरी अचेल फस्टाउँन थालेको युटुवरले यस्ता घटनामा झन् आगोमा घ्यु थपे जस्तो गराउन थालेको छ । सम्वेदनशीलता भन्दा पनि आफ्नो टिआरपी बढाउने उदेश्य बोकेका कतिपय युटुवरको कारण यस्ता घटनाहरु सम्हालिनु भन्दा झनै फैलिदै गएको छ । यसलाई जिम्मेवार बनाउनु सरकारसंगै सबै सरोकारवालाको दायित्व हो ।
अब मुल मुद्धामा प्रवेश गरौँ,
स्वास्थ्यकर्मीमाथि आक्रमण किन हुन्छ ?
मैले सुरुमै भनेको छु , यो प्रश्नको जवाफ दिन जति अफ्टेरो छ, उति नै सजिलैसंग दिएको पनि सुनिन्छ । तर, कसलाई अफ्टेरो हुन्छ र कसलाई सजिलो हुन्छ यहाँहरु सबै जानकार नै हुनुहुन्छ ।
स्वास्थ्यकर्मी माथि आक्रमण हुनु अपराध हो । अराजकताको पराकाष्ट हो । बिरामीको उपचारमा खटिएका चिकित्सक नर्स तथा अरु स्वास्थ्यकर्मीहरुको जसको ध्यान बिरामी तथा घाइतेलाई कसरी छिटो निको बनाउने भन्नेमा हुन्छ, त्यसरी काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हुलहुज्जत गरी आक्रमणको प्रयास गरिन्छ ।
अस्पतालमा गम्भीर घाइते वा गम्भीर बिरामीको उपचार भइरहेको हुन्छ ? कहिलेकाँही सामान्य भनिरहेको बिरामीलाई उपचारकै क्रममा जटिलता उत्पन्न हुनसक्छ । त्यसबेला डाक्टरको अथक प्रयासका बावजुत बिरामी तथा घाइतेहरु गुम्न सक्छन् । अथवा, नतिजा बिरामी पक्षले चाहे जस्तो नआउन सक्छ । यस्तो बेलामा विभिन्न बहानामा डाक्टर वा स्वास्थ्यकर्मीमाथि आक्रमण वा स्वास्थ्यसंस्थामाथि तोडफोड हुने गरेको छ ।
कतिपय उपचारमा त्रुटि होलान तर अहिलेसम्म आक्रमण भएका घटनाहरुमा त्यस्तो बढी त्रुटि भयो रिपोर्ट छानविन गर्ने कुनै पनि निकायले सार्वजनिक गरेका छैनन् ।
पहिले पहिले मात्रै होइन अहिले पनि दुर्गम गाउँहरुमा हेल्थ असिस्टेन्ट होइन अहेव र अनमीहरुले स्वास्थ्य संस्था धानेका छन् । उनीहरुलाई गाउँमा ठूलो डाक्टरकै रुपमा पुज्ने पनि चलन छ । तर जति शहर केन्द्रीत वा बजार केन्द्रीत हुँदै गयो, स्वास्थ्यकर्मीमाथि आक्रमण हुने दर पनि उसै गरी बढ्दो क्रममा छ ।
स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिएर काम गरेको दुई दशक लामो अनुभवबाट म के भन्न सक्छु भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण हुनुको पछाडी अरु थुप्रै कारण पनि होला हुनसक्छ । तर केही कारणहरु स्वास्थ्यका अगुवा भनिएकाहरुले लिएका नीतिका कारण भइरहेछ । झट्ट हेर्दा र सुन्दा पनि गज्जब लाग्ने तर त्यसले स्वास्थ्यकर्मी वा चिकित्सक प्रति हेर्ने दृष्टिकोण आम जनतामा बदलिरहेको छ । आज मैले तपाई कतिपय चिकित्सक वा स्वास्थ्यकर्मीहरुले वाह वाही गरेकै कतिपय कुराहरु नै आक्रमण हुनुको मुख्यकारण हो भन्ने अवस्थामा पुगेको छु ।
कारण नं १.
पहिले पहिले डाक्टरलाई अति सम्मानित बर्गको रुपमा हेरिन्थ्यो । जनताले ईज्यत गर्दथे । अगाडीका कुराहरु मैले खोजिन तर विसं २०७२ सालतिर नेपाल मेडिकल काउन्सिलले केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी)को सहयोगमा एउटा अभियान सञ्चालन गर्यो, जसको नाम थियो ‘अप्रेसन क्वाक’ ।
नक्कली प्रमाणपत्रबाट डाक्टर बनेको भन्दै त्यसबेला थुप्रै डाक्टरमाथि धरपकड गरियो । धेरै चर्चित डाक्टरहरु पनि त्यसबेला पक्राउ परे । यद्धपी पछि धेरै डाक्टरहरु आरोप प्रमाणित नभई छुटे ।
यो अभियान सुरु गरेर मेडिकल काउन्सिल र प्रहरीले आफ्नो प्रतिष्ठा उचो पारे पनि होला । मिडियाहरुले त नक्कली डाक्टर भनेर समाचार लेख्न पाएपछि के चाहियो ? मज्जाले लेखे ।
काउन्सिल र सीआईवीको यो अप्रेसन ठिक पनि थियो होला तर यसले आम जनतामा डाक्टरहरु नक्कली हुँदा रहेछन्, फटाहा हुँदा रहेछन् भन्ने नकारात्मक सोच जन्मायो । उनीहरुले आफ्नो आफन्तको उपचार सफल नहुनासाथ नक्कली वा खराव किसिमको डाक्टर थियो कि भनेर शंका गर्न थाले । म त भन्छु अप्रेसन क्वाक पछि आम जनतामा डाक्टरप्रतिको ईज्यत सम्मान भन्दा पनि शंका बढी हुन थाल्यो । यसपछि स्वास्थ्य संस्था भन्दा पनि डाक्टरलाई नै बढी तारो बनाउन थालियो । तपाईँ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले यस तर्फ सोच्नु भएको थियो त ?
कारण नं २.
हाम्रो हेल्थ सिस्टममा धेरै गलत कुराहरु होला । यसलाई सच्याउँदै जानु पर्छ । नेपालको चिकित्सा क्षेत्रमा एक जना यस्तो पात्रको उदय भयो । डाक्टर गोविन्द केसी ।
उहाँ कतिपयको नजरमा चिकित्सा शिक्षाको ‘रोलमोडल’ कहलिनुहुन्छ, कतिपयको नजरमा चिकित्सा शिक्षाको अवरोधक । तर राज्यले उहाँसँग गरेको सम्झौँता पछि स्थापना भएको चिकित्सा शिक्षा आयोग देखि अन्य नीतिगत व्यवस्थाले उहाँ आफ्नो अजेण्डामा सफल भएकै मान्नुपर्छ ।
जब डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका नाममा अनसन सुरु गर्नु भयो त्यसक्रममा कहिले व्यक्ति र कहिले संस्थामाथि माफिया दलालको चार्ज लगाउन थाल्नु भयो ।
आफ्ना कुरा नमानेकै भरमा सहकर्मीहरुलाई दलाल र माफियाको ट्याग झुण्ड्याईदिन थाल्नु भयो ।
यसले स्वास्थ्य क्षेत्रलाई हेर्ने जनताको दृष्टिकोण बदलियो । एक अर्थमा भन्ने हो भने स्वास्थ्य क्षेत्र भ्रष्टाचार गर्ने थलो, त्यहाँका पदाधिकारीहरु भ्रष्टाचार गर्ने व्यक्ति हुन् भन्ने भाश्य सिर्जना हुन पुग्यो ।
निजी क्षेत्र माफिया, सरकारी अधिकारीहरु दलाल र माफियाहरु मात्रै हुन्छन्, नेगेटिभ कुरालाई छिटो विश्वास गर्ने जनतामा यो भ्रम गहिरो गरी छिर्यो । यसले डाक्टरहरुप्रतिको विश्वास र सम्मानमा क्षयिकरण गरेको छ । अझ स्पष्ट रुपमा भन्दा यसले पनि डाक्टर वा स्वास्थ्यकर्मीमाथिको आक्रमण बढाउन मद्धत गरेको छ ।
कारण नं ३.
हाम्रा स्वास्थ्यकर्मीहरुले वा तिनका संगठनहरुले आफूहरुको स्तर आफै गिराउँदै गए । हरेक घटनाको पछाडी कारण हुन्छ । अस्पतालहरुमा हुने आक्रमण र तोडफोडमा उनीहरुले केही कारणमा चित्त नबुझेर गर्ने हो । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि नियोजित रुपमा आक्रमण वा तोडफोड निकै नै कम हुन्छ । त्यसैले आक्रमणको कारण खोजी गर्ने र त्यसलाई पछि दोहोरिन नदिने हुनुपर्छ । तर त्यसो हुने गरेको छैन ।
नेपालमा डाक्टर वा स्वास्थ्यकर्मीले बिरामीप्रति गर्ने व्यवहारमा धेरै समस्या देखिन्छ भनिन्छ । ‘प्रपर कम्युनिकेशन’ नहुँदा, राम्ररी काउन्सिलिङ नगर्दा बढी जसो घटना घटेको देखिन्छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुले यो थाहा पाएर नै पनि ती कुराहरुमा सुधार गरेका छैनन् । सुधार्न भन्दैनन् । आक्रमण भयो मात्रै भन्दछन् ।
कारण नं ४.
चिकित्सकहरुबाट हुने गल्ती लुकाउँदा पनि यस्ता घटनाहरु बढ्दै गएका हुन् । जस्तो थाइराइडको शल्यक्रिया गर्ने भनिएको तर पाठेघर झिकियो भन्ने कुरा सुनिन्छ, दायाँ घुँडाको शल्यक्रिया गर्ने भनिएको तर बायाँको गरियो भन्ने आउँछ ।
र, त्यहि बेलामा हल्ला के पनि चल्छ भने डाक्टरहरु भनेको नक्कली हुन्छन् ।
हो, यस्ता हल्लालाई चिर्न हामीले सकेनौँ ।
चिकित्सकले गर्ने उपचारमा पनि कहिलेकाँही प्राविधिक रुपमा त्रुटी हुनसक्छ भनेर हामीले भन्न सकेनौँ । गल्ती गर्नेमाथि कारवाही गर्न सकेनौँ । वा गरेकै भए पनि बाहिर ल्याउन सकेनौँ । त्यसले डाक्टरहरुले लापवाही गरे पनि मेडिकल काउन्सिल लगायतका निकायहरुले जोगाउँछ भन्ने भान आम मानिसमा व्याप्त छ । डाक्टरले गल्ती गर्दैन् । गरेमा उ पनि सजायको भागीदार हुन्छ भन्ने म्यासेज जनताबीच पुरयाउन आवश्यक छ ।
कारण नं ५.
खासगरी डाक्टरहरुमा इन्टर प्रोफेसनल कम्पिटेसन पनि छ कि भन्ने लाग्छ । एउटाले अर्कोलाई माइनस गर्नका लागि आरोप लगाइदिने, मिडियाबाजी गरिदिने, फेरी अर्कोले पनि त्यहि रुपमा आफ्नो सहकर्मीमाथि प्रस्तुत भईदिने । एउटालाई आक्रमण हुँदा अर्कोले बल्ल भेट्यो भन्ने । र अर्कोलाई माइनस गर्न भए नभएका पोल खोलिदिने । यी आदि कारणले पनि डाक्टरको छवि धमिलिदै गएको छ । डाक्टर वा स्वास्थ्यकर्मीहरु कमजोर हुँदै गएको छ । जहाँ कमजोर हुन्छ, उसमाथि आक्रमण हुनसक्छ ।
यी बाहेक अरु प्रणालीगत कुरा पनि छन् । जस्तो कि:
१. नेपालमा औषधिको मात्रै कारोवार हेर्ने हो भने १२० अर्वको छ । नेशनल हेल्थ एकाउन्ट सर्भे -२०१९ ले स्वास्थ्य सेवाका लागि नेपालीले ५८ प्रतिशत पैसा आफ्नो खल्तीबाट तिर्छन् र त्यो मध्ये ६६ प्रतिशत औषधिमा खर्च गर्छन भन्ने देखाएको छ ।
अनि तपाई सरकारले दिएको निशुल्क औषधि कति खानु हुन्छ ? सरकारले दिएको निशुल्क उपचार सेवा कत्तिको पाउनु भएको छ ? शहरमा बस्नेले त सरकारले दिएको सुविधा केही लिएको छ जस्तो लाग्दैन, कोभिडका बेलामा त्यस विरुद्धको खोप बाहेक ।
अर्को कुरा सरकारीमा आउने औषधि काम कम गुणस्तरको हुन्छ भन्ने भ्रम, सरकारी त्यहाँ काम गर्ने डाक्टर नभेटिने, निजी क्षेत्रमा बढी व्यापारमुखी हुने, कहिलेकाँही बिरामी पक्षले आफूमाथि मिस विहेव गरेको महसुस गर्ने । यी आदि कारणले पनि डाक्टरमाथि आक्रमणका घट्ना बढ्न थालेको हो ।
मानिस दुई दिन हिडेर मान्छे उपचारका लागि आउँछ । तर, डाक्टरले दुई मिनेट पनि मुस्किलले टाइम दिन्छ । कतिपयको व्यवहार पनि रुखो देखिन्छ । यसले पनि डाक्टर बिरामीको सम्वन्धमा दरार उत्पन्न हुन्छ । विरामीको अवस्था जे सुकै भएपनि राम्रोसंग सोध्नु पर्ने हो, औषधि खाने तरिका राम्ररी भन्नु पर्ने हो । बिरामी र तिनका आफन्तसंग कसरी प्रस्तुत हुने भन्ने काउन्सिलिङ र कम्युनिकेशन स्किल छैन् । त्यसले पनि समस्या पारेको हो ।
२. स्वास्थ्य संस्थामा राजनीतिक प्रतिवद्धता (पोलिटिकल कमिटमेन्ट) भएन । मेडिकल ‘नेग्लीजेन्स’ भयो भनेर जाँदा राजनीतिक दलका नेताहरु नै त्यसलाई मिलाउन भनेर अघि सरे । सिस्टममा बस्न खोजेनन् उनीहरु । यसलाई कानूनी बाटोमा लैजाउँ न, दुई पाँच जनालाई कार्वाही गरौँ न । हामीसंग कानून छ त्यहि कानूनमा टेकौँ भनेर भनिदिए हुँदैन थियो ? त्यसैले पनि यो गडबड थप बढी रहेको हो ।
स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा केही भयो भने कानून आकर्षित हुन्छ भन्ने ‘हाइ लेभलको पोलिटिकल कमिटमेन्ट’ हुनु पर्छ । कानून अनुसार काम गर्ने त्यसभन्दा तलमाथि केही हुँदैन भन्नु पर्छ । हिजोआज त चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको सिसिटिभीमा स्पष्ट देखिन्छ तर प्रहरीले कुट्ने फलानो हो पक्रिने कि नपक्रिने भनेरे पहिले नेतालाई सोध्छ । नेताको आदेश अनुसार जाहेरी लिने कि नलिने जस्तो हुन्छ । यो गलत भयो ।
अनि अर्को कुरा स्वास्थ्यकर्मीहरु पनि राजनीतिक पुर्वाग्रहबाट प्रेरित हुन भएन । कुटाइ खाइरहँदा हाम्रो पार्टीको कि अर्को पार्टीको भनेर सोधखोज गर्ने र त्यसका आधारमा कम वा बढी आपत्ति प्रकट गर्ने प्रचलन छ यसलाई छाड्नु पर्छ । सहिलाई सहि गलतलाई गलत भन्न सक्नु पर्छ ।
३. हामीसंग दक्ष स्वास्थ्यकर्मी पनि छैनन् । भर्खर एमबीबीएस गरेको व्यक्तिलाई मेडिकल अफिसरको रुपमा इन्चार्ज बनाएर पठाएको छ, राती ठूलै केश आयो भने उसले त्यसलाई कभर गर्न सक्ने म्यानपावर हामीले बनाउन सकेका छैनौँ । त्यसपछि बिरामीका आफन्तहरुले यो नजान्ने चिकित्सक रहेछ,भनेर हो हल्ला गर्न थाल्छन् । बिरामीको आफन्त जहिले पनि तनावमै रहन्छ । त्यहाँ केही ढिले भएको थाहा पायो कि एट्याक गर्न खोज्दछ ।
४. स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको कम्युनिकेशन स्किल कम छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिको बोली व्यवहारले निकै फरक पार्दछ । तर यहाँ त विरामी वा तिनका आफन्तहरुसंग नर्सले एक थरी कम्युनिकेशन गरिदिने, प्यारामेडिक्सको अर्कै थरी, चिकित्सकको अर्कै थरी, प्रयोगशालाकर्मीको अर्कै थरी, फार्मासिस्टको अर्कै थरी कुरा हुने गरेको छ ।
केही समय अघि एउटा अस्पतालको घट्ना एक जना नर्सले आईसीयूमा उपचाररत गम्भीर बिरामीको आफन्तलाई ‘ला ……तपाईँको बिरामीलाई त एक्सपाइर औषधि परेछ नि’ भनिछन् ।
दुर्भाग्य उनले भनेको केही समयमा बिरामीको मृत्यु भयो । त्यसपछि आफन्तहरु तोडफोड र आक्रमणमा उत्रिए ।
त्यसैले बोल्दा पनि बढो सम्वेदनशील हुनुपर्छ । एक्सपायर औषधि चलाएकै भए पनि त्यसको असर कति सम्वेदनशील हुन्छ भन्ने कुरा बुझाउन सक्नु पर्दथ्यो भन्ने हो ।
५. कमाउ खाउ भन्ने प्रचलनलाई बन्द गरिनुपर्छ । एउटा डाक्टरले दिनमा कति बिरामी हेर्ने ? जति आए पनि हेर्ने ? त्यो पनि त मान्छे हो ? उसलाई तनाव हुन्न र ? विहान ६ देखि बेलुका ९ बजेसम्म बिरामी मात्रै हेर्ने ?निरन्तर त्यसरी काम गर्दा कति थाकेको हुन्छ होला । उसको मुड कस्तो हुन्छ होला ? त्यसतर्फ नसोच्ने ? यसमा पनि सुधार ल्याउन पर्छ ।
६. हामीले यसलाई एक खालको ‘स्टिग्मा’ पनि भनौला, तर यो सम्वेदनशील कुरा हो । हाम्रो समाज हामी व्यक्तिहरु थुप्रै थरिका कुराहरुमा पनि विश्वास गर्दछौँ नि । अब एउटा बिरामीलाई पुजा गर्न परयो भन्दा अस्पतालमा दिने कि नदिने ? कतिपय आस्थासंग जोडिएका हुन्छन् । उनीहरुका लागि सहजीकरण गर्ने कि नगर्ने ? यस तर्फ पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विशेष ध्यान दिनु पर्छ । अर्थात मल्टीकल्चरल आस्पेक्टबाट पनि हेर्नुपर्छ । कुनै शेर्पाले गुम्वामा लगेर पुजा गर्छु, कुनै ब्राम्हणले मन्दिरमा लगेर पुजा गर्छु भन्न थाल्यो भने त्यसका लागि सहजीकरण गर्ने कि नगर्ने ?
भारतमा एउटा अस्पताल छ जसमा गुरुद्धारा पनि त्यहि छ, चर्च पनि त्यहि छ, बौद्य स्तुपा पनि त्यहि छ, मस्जित पनि त्यहि छ, मन्दिर पनि त्यहि छ । आफ्ना धार्मिक आस्था अनुसार बिरामी वा आफन्तहरुले त्यहाँ प्राथना गर्दछन् । यसबाट मान्छेलाई शान्ति त हुन्छ नि । ‘भोइलेन्स’ कहाँबाट हुने हो भने जव तपाईँको मनमा अशान्ति हुन्छ त्यसपछि हुने हो । यस तर्फ पनि ध्यान दिनु पर्छ ।
७. अर्को कुरा हामीकहाँ ‘जेण्डर’को समस्या छ । हामी पुरुष प्रधान समाज छ । महिला डाक्टर देख्यो कि हेप्ने बानी पहिल्यै देखि नै सुरु हुन्छ । यसले के जान्ला भन्ने ? यस्तो नजरिया बदल्नका लागि जनचेतना बढाउन जरुरी छ ।
८. प्रोफेसनल अर्गनाइजेसको काम भनेको घटनापछि विज्ञप्ती निकाल्ने मात्रै होइन, घटना घट्न नदिनका लागि पनि काम गर्नु पर्छ । जनताबीच चेतना फैलाउने काम पनि गर्नुपर्छ ।
नेपाल चिकित्सक संघ लगायतका पेशागत संस्थाहरुले यस्ता घटनापछि ‘जेल वीद आउट बेल’ भन्ने गरेको सुनिन्छ । त्यो कति जनालाई थाहा होला ? जसले त्यो लेख्छ त्यो डाक्टरलाई मात्रै थाहा होला कि ?!, साच्चिकै सोध्ने हो भने सबै डाक्टरलाई पनि यो थाहा नहुन सक्छ ।
त्यसैले यस्ता कुराहरुलाई जनतालाई कसरी थाहा दिने ? कानूनमा यस्तो छ है भनेर खवरदारि कसले गर्ने ? सरकारले त गर्नु नै पर्छ । एनएमए जस्ता पेशागत संस्थाको पनि दायित्व हुन्छ ।
यस्तो कडा कानून छ भन्ने कुरा कुटने मान्छेलाई थाहा भएको भए सायद सो कदम चाल्दैनथ्यो कि । किनभने कानून डर पनि हो । डरले मान्छेको स्वभावलाई नियन्त्रण गर्न सक्छ । तर उनीहरुलाई थाहा नै छैन । यसमा सरकार र पेशागत संगठनको ध्यान जानु पर्छ ।
८. आन्दोलनका नाममा सेवा बन्द गर्ने जस्ता कार्य रोकौँ । किनभने हुनेको लागि दुई चार दिन ढिला हुन, दश बीस हजार खर्च बढ्न ठूलो कुरा होईन, तर नहुनेका लागि एक दिन बढी बस्न, दुई चार सय खर्च बढ्नु पनि ठूलो समस्या हो । अझ त्यो भन्दा ठूलो कुरा बिरामीले समयमै उपचार पायो कि पाएन भन्ने हो । जव स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्था बन्द गरेर आन्दोलनमा उत्रिन्छ । धेरै मानिसहरु स्वास्थ्यकर्मीप्रति नकारात्मक भइहाल्छ । त्यसैले यस्ता आकस्मिक निर्णयहरु गर्नु अघि स्वास्थ्यकर्मी वा चिकित्सकले गम्भीर भएर सोच्नै पर्छ ।
चिकित्सक बिरामीबीचको सम्वन्धलाई थप सुमधुर बनाउनु लाग्नु पर्छ । एउटा उच्छिङ्गखल व्यक्ति वा समूहले आक्रमण गर्दा त्यसको असर बेकसुर र निरिह अवस्थामा रहने अरु बिरामीमाथि पार्नु हुँदैन ।
राज्यलाई दवाव दिने नाममा बिरामीको उपचार बन्द गरी व्ल्याकमेलिङ गर्न पाइदैन । यसले स्थितिलाई झनै भड्काउने काम गर्दछ । डाक्टर भन्ने यस्तै हुन् । मौकामा ठोक्नु पर्छ भन्ने मानसिकता बढ्छ । अहिलेको अवस्था भन्ने हो भने चिकित्सक संघ र यी जस्ता अरु पेशागत संगठनका गतिविधिले सम्वन्धमा दरार उत्पन्न भएको छ ।
९. स्वास्थ्यकर्मीहरु ‘इथिक्स’मा पनि रहनु पर्दछ । तपाईँ एउटा नाम चलेको ठूलो सरकारी अस्पताल जानु भयो, पत्थरीको शल्यक्रिया गर्न ६ महिनाको पालो दिन्छन् । तर उतिखेरै ती डाक्टरले के पनि भन्न सक्छन् भने फलानो अस्पतालमा जानु भयो भने भोली नै अप्रेसन हुन्छ मैले नै गरिदिन्छु । यसले पनि डाक्टर फटाहा हो सरकारीमा तलव खान्छ निजीमा काम गर्छ । पैसा मुखी छ आदि आदि आरोप लगाउन थाल्छन् । यसलाई हटाउन डाक्टरहरु ‘ईथिक्स’मा रहन जरुरी छ ।
समाधानका लागि के गर्नुपर्छ ?
१. सबैभन्दा पहिलो कुरा सरकारले ल्याएको स्वास्थ्य बीमालाई ‘रिफर्म’ गर्नु पर्छ । यदि तपाईँसंग सबै उपचार स्वास्थ्य बीमाले कभरेज गरेको थियो, तपाईँको पकेटबाट उपचार खर्च तिर्नु परेको थिएन भने मान्छे त्यति धेरै ‘हेजिटेसन’मा आउँदैन । उसले भोली गएर घरबार बेच्नु पर्दैन नि त । सामाजिक सुरक्षा यहि निर जोडिएर आउँछ ।
असन्तुष्ठि भएपछि हुलदंगामा जान्छ मान्छे । यदि स्वास्थ्य बीमाबाटै सबै उपचार हुने थियो । पकेटबाट ठूलो रकम खर्च गर्नु पर्ने थिएन भने मैले तिर्न परेको छैन्, ठिकै छ दुई चार दिन ढिला भएपनि भन्ने हुन्छ । डाक्टरसंग निहुँ खोज्दैन । त्यसैले सबैलाई समेटने सबै रोगलाई समेटने स्वास्थ्य बीमा हुनु पर्दछ । ‘आउट अफ पकेट एक्सपेन्डिचर’ घटाउनु पर्छ । जब घट्न थाल्छ मानिसको तनाव पनि घट्दै जान्छ । सरकारले जनताको स्वास्थ्यको पूर्ण जिम्मा लिनु पर्छ ।
२. हाइलेभल पोलिटिकल कमिटमेन्ट ल्याउनु पर्छ : यो मानेमा कि कसैले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्छ वा स्वास्थ्य संस्थामा माथि क्षति गर्छ भने त्यस्तो बेला पोलिटिकल इन्टरफेरेन्स (राजनीतिक हस्तक्षेप ) बन्द नै हुनुपर्छ । सून्य नै हुनपर्छ ।
किनभने मेरो पहुँचमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार छन् अध्यक्ष छन् खत्राकखुत्रुक चलाउँछु भन्ने हुन भएन । मसंग पुलिस छ नेता छ भन्ने भयो भने ‘जेल विद आउट बेल’ यान त्यान केही हुने वाला छैन । त्यसैले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणविरुद्ध बनाइएको कानूनको अक्षरस पालना गर्न ‘हाइलेभल पोलिटिकल कमिटमेन्ट, हुनुपर्छ । नो पोलिटिकल इन्टरफेरेन्स ।
दुरव्यहार वा आक्रमण गर्ने विरुद्ध कानून अनुसार सहज रुपमा कसैलाई नसोधी प्रहरीले नियन्त्रणमा लिने र अनुसन्धान अघि बढाउने परिपाटी हुन परयो ।
यहाँ त आक्रमण गर्ने वा खाने दुबै कुन पक्षसंग नजिक हुन भनेर व्यवहार गरिन्छ । कानून अनुसार होईन । हाम्रो मान्छेलाई किन पक्रेको भनेर केन्द्र देखि लोकल नेताको समेत फोन जानु भएन ।
दुई चारवटा केश यसरी अघि बढ्यो भने यो नजिर बन्दै जान्छ र यसले आक्रमण न्युनिकरणमा सहयोगी बन्छ । स्वास्थ्य कर्मीमाथि आक्रमण गर्ने पहुँचवाला नै छ भने पनि उसले कानून अनुसार सजाय पाउने हुनु परयो । स्वास्थ्य संस्थामाथि आक्रमण गरेको छ भने जो सुकै होस् घरबार नै बेचेर भएपनि क्षतिपूर्ति तिर्नै परयो । अर्थात कानूनको विना दवाव लागू हुनु पर्छ । पोलिटिकल्ली नै आयो भने बल्ल यो सुध्रिन्छ ।
३. पेशागत संगठनहरु विशेषगरी चिकित्सक संघले स्वास्थ्यकर्मी भनेको डाक्टरमात्रै हुन भन्ने छोड्नु परयो । अस्पतालमा बिरामीको उपचारमा सबैको दायित्व हुन्छ । अर्थात अस्पतालमा हुने उपचार भनेको सबैले गरेर हुने ‘इन्टिग्रिटिड एप्रोच’ हो । हामी सबैले गर्दा स्वास्थ्य संस्था चल्ने हो भन्ने हुनु पर्छ ।
हो, बढी दायित्व डाक्टरकै हुन्छ । तर दायित्व वार्डमा पोछा लगाउनेको पनि हुन्छ । होलस्टिक एप्रोचमा जानु पर्छ ।
एउटा विज्ञप्ती निकालेर भएन । हरेक पेशागत संगठनहरुले आ आफ्नो सदस्यहरुलाई अब कम्युनिकेशन स्कील बारे प्रशिक्षण दिनु पर्छ ।
विरामीसंग कस्तो बोल्ने, आफन्तसंग कसरी बोल्ने, बिरामी हेजिटेसनमा आयो भने के गर्ने ? गम्भीर हुँदै गयो भने के गर्ने ? कुन अवस्थामा रिफर गर्ने ? बिरामीका आफन्तलाई सहि सूचना र खोजेको बेलामा सूचना कसरी दिने भन्ने बारेमा सिकाउनै पर्छ । त्यो नेपालमा अहिलेसम्म त्यति राम्रो छैन् ।
४. हाम्रो मल्टीकल्चरलाई समेटने गरेर संस्थागत विचार गरेर अघि बढ्यो । कम्युनिकेशन र व्यवहारमा सुधार गर्ने तिर लैजानु पर्छ ।
५. जनचेतना जगाउने काममा लाग्ने : कानूनका कुरा, उपचारका कुरा, आक्रमण गर्दा हुने कार्वाहीबारे धेरैलाई थाहा छैन । यो कुरा पब्लिक अवेर गराउनु पर्छ । त्यसका लागि मिडियाको महत्वपूर्ण भुमिका हुन्छ । उनीहरुसंग राज्य पक्ष वा पेशागत संघसंस्थाहरुले नजिकबाट हातेमालो गर्ने र चेतना विस्तार गर्ने । यसका लागि स्थानीय तहसंग मिलेर पनि काम गर्ने ।
६. साच्चिकै सुधार गर्ने हो भने हेल्थ कोर्ट (स्वास्थ्य अदालत) स्थापना गर्ने । यसमा हुने आक्रमण, क्षतिको तिब्र सुनुवाई गरी आदेश गर्नका लागि छुट्टै हेल्थ कोर्ट हुने र त्यसले दोषीलाई छिटो सजाय दिने व्यवस्था मिलाउन सकियो भने यसको पनि न्युनिकरण हुन्छ ।
अदालतको यहि संरचनाबाट पनि त्यो काम गर्न सकिन्छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको उजुरी पर्नासाथ तत्काल पेशीमा चडाउने र दुई दिन भित्रै त्यसको छिनोफाने गरिदिने हुनु पर्छ ।
अरु केशमा झै दुई चार वर्षसम्म छिनोफानो नहुने गरी अल्झाउन पाइएन । यसले मान्छेको मनस्थितिमा परिवर्तन गर्न सक्छ । यस्तो कानून छ भन्ने डर पैदा भयो भने पनि हतपत्त आक्रमणमा उत्रिदैन ।
७. डाक्टरलाई इथिक्समा रहनु पर्छ । सरकारी अस्पतालमा छ आठ महिनामा पालो दिने डाक्टरले फलानो निजी अस्पतालमा आइस भने बेलुका गरिदिन्छु भन्ने परिपाटी छ । यो इथिक्स भयो त ? यस्ता विविध विषयमा डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई पढाउन जरुरी छ । इथिक्समा रहनु पर्छ । र अर्को चाहि डाक्टरले बिरामीलाई समय दिनु पर्छ । सबै कुरा सुनिदिनु पर्छ र भनिदिनु पर्छ । विहानै देखि बेलुकासम्म विना आरामा खटिदा कतिपय डाक्टरहरु विरामीसंग आवेशमा आउने गरेका छन् ।
रिसाउने गरेका पनि छन् । यस्तो कुरालाई नियन्त्रण गर्नु पर्छ । टाइम लिमिट तोकेरै बिरामीसंख्या तोकेरै यो काम गर्नुपर्छ । मेरो कुरा सुनिदियोस भनेर डाक्टरलाई १००० रुपैयाँ बुझाउने हो नि । त्यसैले बिरामी मैत्री व्यवहार डाक्टरले गर्नैपर्छ ।
बिरामीको मृत्युको कारण औषधि हो कि ? कम गुणस्तरको औषधि परयो कि ? हाम्रो जस्तो कम अनुगमन नियमन हुने देशमा त्यसतो नहोला भन्न पनि सकिन्न । त्यसैले अस्वभाविक मृत्युको छानविन हुनुपर्छ । प्रेस्किप्सन अडिट हुनुपर्छ ।
र अन्यमा आक्रमण र तोडफोडपछि हामी पेशागत संगठनहरु विज्ञप्ती वा आन्दोलन गरी आफ्नो दायित्व पुरा गर्दछौँ । तर घटना किन घट्यो ? हाम्रो पनि केही कमजोरी भयो कि ? भविस्यमा यस्तो नगर्न केही गर्नु पर्छ कि भनेर कहिल्यै हेरेनौँ । यस्ता घटनाको पछाडी हाम्रा पनि केही नसोचिएका कारणहरु हुनसक्छन् जो भविस्यका लागि सिकाई हुन सक्छ । यस तर्फ पनि ध्यान दिनु पर्छ जस्तो लाग्छ ।
८. दक्ष जनशक्ति व्यवस्थापन र गुणस्तरमा सुधार ल्याउनै पर्छ : सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव छ भन्ने कुरा दोहोर्याई रहनु पर्दैन । बिरामीको भिड बढी रहेका बेला सिमित जनशक्तिबाट गुणस्तरीय उपचार हुन्छ भन्नु पनि मुर्खता हो । त्यसैले दक्ष जनशक्ति व्यवस्थापनमा लाग्नै पर्दछ । अर्को कुरा हामीले उपचारमा प्रयोग गर्ने उपकरणहरुको गुणस्तर कस्तो छ ? औषधि देखि व्लड कलेक्सन ट्युव सम्म । अल्ट्रासाउण्ड देखि एमआरआईसम्मका कुराहरु गुणस्तरीय छन् त ? यसबारेमा थप सचेत हुनुपर्छ । गुणस्तरहिन सामग्रीले सहि नतिजा दिदैन । त्यसबाट सजिलै असन्तुष्टिहरु पोखिन्छन् ।
अन्तमा फेरी भन्दछु, हामीले यस्ता आक्रमण र घटनाहरु दोहोरिन नदिनका लागि हामी स्वास्थ्यकर्मीहरुले ध्यान दिनु पर्ने कुराहरु, मनन् गर्ने केही कुराहरु राखेको हुँ । यसले हामी स्वास्थ्यकर्मी र हाम्रा संगठनलाई आत्मसमिक्षा गर्न सहयोग पुग्छ भन्ने लाग्छ । यहाँ थुप्रै कुराहरु छुटेका पनि छन् । मुल मुद्धा भनेको हामीले हाम्रा कार्य शैली र गतिविधिमा समिक्षा गरौँ । अरु माथि दोष थुपार्ने काम बन्द गरौँ भन्ने हो ।
# बरिष्ठ फार्मासिस्ट लम्साल युनिभर्सिटी अफ जेनेभाबाट ग्लोबल हेल्थ विषयमा विद्यावारिधि गर्दैछन् ।
सम्पर्क इमेल : [email protected]
नयाँ कोणबाट आएको सटिक विश्लेषण ।
कानून बनाउनु तर कार्यान्वयन नगर्नु । राजनीतिक हस्तक्षेप गर्नु । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कम सेवा तर बढी राजनीतिमा ढल्किनु जस्ता कुराहरु पनि हुन् ।
Well written article dai.
Communication and counseling ekdam jaruri chha.