घाइतेको उपचार गरिहेका स्वास्थ्यकर्मीको घाँटी अठ्याउन जाने खड्का पक्राउ
कञ्चनपुर, ४ असोज । बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । हातपातमा पर्ने अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि बुधबार अपरान्ह ईलाका प्रहरी कार्यालय बेलौरीले हातपातमा उत्रिने रामबहादुर खड्कालाई पक्राउ गरेको हो ।
खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी गरेको छ ।
यसअघि आफूमाथि हातपात तथा दुर्व्यहार गरेको भन्दै अहेव गैरेले खड्का माथि होस् भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीपछि प्रहरीले अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाएको हो ।
‘घटनाको चौतर्फी बिरोध भएपछि हिजो मध्यान्न तिर इलाका प्रहरी कार्यालय बेलौरीले छलफलका लागि भन्दै बोलाएको थियो तर म गईन । दिनभरको प्रयास पछि अपरान्ह प्रहरीले हाम्रो जाहेरी लियो र आक्रमणकारीलाई नियन्त्रणमा लियो । आज म्याद थपेर अनुसन्धान अघि बढाउने कुरा छ,’ आक्रमणमा परेका अहेव गैरेले भने ।
गत मंगलबार राती सवा ११ बजे चोट टाउको र आँखामा चोट लागेर घाइते भई आएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचार गरिरहेका बेला खड्काले अहेब गैरेमाथि हातपात गरेका थिए । उनले अहेव गैरेको घाँटी अठ्याएका थिए । सो घटनाको श्रीपुर स्वास्थ्य केन्द्रको उपलव्ध गराएको सिसि टिभि फुटेजमा समेत स्पष्ट देख्न सकिन्छ ।
सिसिटिभि फुटेज बुधबार बाहिरिएपछि देशभरका स्वास्थ्यकर्मीहरुले विरोध गरेका थिए । आक्रमण गर्ने व्यक्तिलाई कडा कार्वाही गर्न माग गरेका थिए ।
सम्पर्क इमेल : [email protected]