‘जीवन्त सम्बन्ध’ लिएर आउँदैछन् डा. ओम मूर्ति अनिल
काठमाडौं, २९ भदौ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल उपचारका क्षेत्रमा जति सफल छन्, उत्तिकै सक्रिय देखिन्छन् रोगको रोकथामका लागि पनि ।
‘मान्छे रोगी भएर उपचारमा लाग्नु भन्दा रोग लाग्नै नदिने तर्फ केन्द्रीत हुनुपर्छ, यसका लागि स्वास्थ्यका बारेमा जनचेतना बढाउनु जरुरी छ,’ उनले ठ्याक्कै एक दशक अघि म पनि डाक्टर भन्ने पुस्तक प्रकाशित गर्दा भनेका थिए ।
हुन पनि सो पुस्तक आम व्यक्तिले स्वस्थ रहन, रोगबारे सरल रुपमा जानकारी लिन सकिने निकै उपयोगी पुस्तक थियो ।
उनै डाक्टर ओम मूर्ति यसपटक फेरि यस्तै जनउपयोगी कोसेली बोकेर आम पाठक समक्ष आउँदैछन् । आगामी शुक्रबार अर्थात ठ्याक्कै एक साता पछि उनले लेखेको नयाँ पुस्तक जीवन्त सम्वन्धको लोकार्पण हुँदैछ ।
‘समयले मानिसलाई धेरै कुरा सिकाउँछ, देखाउँछ, पढाउँछ, केही वर्ष अघिसम्म मलाई पनि लाग्थ्यो सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो भन्ने, तर होईन रहेछ, त्यो ठूलो कुरा अर्के रहेछ । हाम्रा जीवन्त सम्वन्धहरु । कोही व्यक्ति गम्भीर बिरामी छ, उसको समय केही वर्षका लागि मात्रै छ भने पनि उसले त्यसलाई भरपुर उपयोग गरेर जीवन सबैभन्दा उत्कृष्ठ बनाउन सक्छ । अर्को व्यक्ति निरोगी छ, ८० वर्षसम्म पनि बाच्छ तर उसका सम्वन्धका कारण जीवन मरे तुल्य छ । त्यसैले जीवनका लागि स्वास्थ्य मात्रै पनि पूर्ण होइन भन्छु म,’ उनले डा ओम मूर्तिले शुक्रबार आउँदै गरेको आफ्नो नयाँ पुस्तकको आवरण पृष्टको सार्वजनिक गर्ने क्रममा विषयबस्तुबारेमा सामान्य खोत्लदै भने ।
उनले आउँदै गरको पुस्तकबारे चर्चा गर्ने क्रममा भने,’ मेरो नयाँ पुस्तक यिनै विषयवस्तुहरु जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।’
उनले पुस्तकका विशेषताबारेमा थप प्रष्ट्याउँदै भने, सम्बन्धहरूको गहिराईलाई केलाइएको । व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित । मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने । सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने छन् ।
२४० पृष्ठको सो पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड राखिएको बताए ।
आउँदै गरेको पुस्तकको आवरणको सार्वजनिक करण भने डा ओममूर्तिले छोरी अनिषा र श्रीमती मनिषाको हातबाट गराएका थिए ।
पुस्तकको आय फाउण्डेशनलाई
डा ओम मूर्तिले यसै वर्ष ‘डा. ओम फाउन्डेशन’ भन्ने गैर सरकारी संस्था खोलेका छन् । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गर्ने बताइएको छ ।
उनले २०८० असोज ५ गते शुक्रबार साँझबाट पुस्तक उपलव्ध हुने र अनलाइन अर्डर तथा बुकिङ आजै बाट खुल्ला भएको बताए । उनले दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमाबाट पनि पुस्तकका लागि अर्डर गर्न सकिने जानकारी दिए ।
संस्मरण विधाको यो पुस्तकलाई साधारण तर्फ ६ सय मूल्य राखिएको छ । विशेष प्रकाशन जसमा ( हार्डकभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्याग समेत हुन्छ त्यसको मूल्य १ हजार रुपैयाँ रहेको बताए ।
डा. ओम फाउन्डेसन प्रकाशक रहेको यो पुस्तकको वितरक समिक्षा पब्लिकेसन प्रालि रहेको जनाइएको छ ।
सम्पर्क इमेल : [email protected]
Subhakamana