चिकित्सकमाथि भएको आक्रमणको विरोधमा उत्रिए दल निकटका चिकित्सक संगठनहरु

काठमाडौँ, २८ भदौ । हेटौँडास्थित सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि भएको आक्रमणको विभिन्न दल निकट मानिने चिकित्सकहरुको संगठनहरुले पनि विरोध गरेका छन् । उनीहरुले आज छुट्टा छुट्टै विज्ञप्ती निकाली चिकित्सक माथि भएको आक्रमणको कडा शब्दमा विरोध जनाएका हुन् ।

यसरी विज्ञप्ती जारी गर्नेहरुमा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल, कांग्रेस निकट चिकित्सकहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघ, माओवादी निकट चिकित्सकहरुको संस्था नेपाल प्रगतिशिल चिकित्सक संघ रहेका छन् ।

एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालले ‘आफ्नो ज्यानको बाजी राखी अहोरात्र निस्वार्थ सेवामा खटिएका चिकित्सकहरुमाथि भएको सांघातिक हमलाले देशभरका सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको मनोवल गिरेको र निरुत्साहित भएको तितो यथार्त हामी सामुु प्रकट भएको छ,’ भनेको छ ।

उसले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ तथा २०७९ को संसोधन अुनसार उक्त घटनाको उपयुक्त उपचारका लागि अधिकार सम्पन्न छानविन समिति गठन गरी दोषीमाथि कार्वाही गर्न भनेको छ । उसले फौजदारी घटनामा उल्टो मिलापत्र गराउने जिम्मेवार प्रहरी अधिकारीमाथि समेत कार्वाही गर्न भनेको छ ।

यता कांग्रेस निकटको प्रजातन्त्रवादी चिकित्सक संघले ‘चिकित्सकीय सेवा प्रवाह गरिरहेका चिकित्सक माथि ज्यान मार्ने गरी सांघातिक हमला गरेर गम्भीर घाइते बनाईनु अत्यन्तै अकल्पनीय र आततायी घटना हो भन्दै घटनाको अविलम्व छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन जोड दार माग गर्दछ,’ भनिएको छ ।

उसले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संसोधन ऐन २०७९ लाई अविलम्ब कार्यान्वयन गर्न भनिएको छ ।

यता माओवादी निकटको नेपाल प्रगतिशिल चिकित्सक संघले आज जारी गरेको विज्ञप्तीमा आक्रमणकारीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ तथा २०७९ को संसोधन अनुसार कार्वाहीको दायरामा ल्याउन र फौजदारी घटनामा उल्टो मिलापत्र गराउने जिम्मेवार प्रहरी अधिकारीमाथि समेत नियमानुसार कार्वाही गर्न माग गरेको छ । उसले घटनामा सम्लग्न कसुरदारलाई तत्काल पर्वपक्षको लागि थुनामा राख्न समेत माग गरेको छ ।

तीनवटै संगठनले सरकारले आफ्ना धारणाहरुलाई वेवास्ता गरेको पाइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

हेटौडास्थित सञ्चो अस्पतालमा सुरुमा उपचार गर्न गएका एक पुरुषलाई एक दिन राखेर चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा त्यहाँ दुई दिन उपचार पछि बिरामीको मृत्यु भएको थियो ।

मृत्यु भएको एक महिना भन्दा बढी समय पछि उपचारमा लापर्वाही भएको भन्दै सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि हिजो सांघातिक आक्रमण भएको थियो ।

यता नेपाल चिकित्सक संघले आक्रमणमा सम्लग्नहरुलाई तत्काल पक्राउ गरी ज्यान मार्ने कसुरमा मुद्धा चलाउन सरकारलाई ७२ घण्टै अल्टिमेटम दिईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *