डाक्टरमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न चिकित्सक संघले सरकारलाई दियो ७२ घण्टे ‘अल्टिमेटम’

काठमाडौँ, २८ भदौ । नेपाल चिकित्सक संघले सञ्चो अस्पताल हेटौँडाका चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाही गर्न सरकारलाई ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको छ ।

संघले घट्नामा सम्लग्न भएकाहरुलाई सो अवधी भित्र कानूनी कार्वाही नगरे देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

हेटौंडा घटनाबारे जानकारी दिन संघले बिहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा. अनिल बिक्रम कार्कीले घटनामा सम्लग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संशोधन ऐन २०७९ बमोजिम कार्वाही गर्नुपर्ने बताए । उनले स्थानीय प्रशासनले घटनालाई गम्भीरताका साथ अघि बढाउनु पर्नेमा जाहेरी नपरेको तथा अन्य विभिन्न बहाना गरी कार्वाही प्रक्रियालाई फितलो गर्न खोजेको आरोप समेत लगाए ।

‘ज्यानमार्ने योजना अनुरुप आक्रमण भएको छ, प्रहरीकै अगाडी डाक्टरलाई काट्छु भनेको छ तर प्रहरीहरु जाहेरी आएन भनेर बसिरहन्छ । हामीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संसोधन ऐन २०७९ जारी गरिसकेको अवस्थामा यस्ता बाहना गरेर बस्नु कार्वाहीलाई फितलो पार्ने मनसाय पनि हुनसक्छ । त्यसैले हामीले भन्दैछौँ, ७२ घण्टा भित्र कानूनी कार्वाही नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।’

गत २२ साउनमा एक जना बिरामी डेंगी लक्षण लिई उपचारका लागि सञ्चो अस्पतालमा आएका थिए । त्यहाँ एक दिन भर्ना भई उपचार गरेपछि थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज रिफर गरिएको थियो । तर २५ साउनमा ती बिरामीको मृत्यु भयो । ती मृतकका आफन्तहरुले हिजो (२७ भदौमा) अस्पतालमा आई डाक्टरद्धय विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमण गरेका थिए ।

सो आक्रमण गर्नेहरुमध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

यसअघि संघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतलाई भेटी आक्रमणकारीहरुलाई कानूनको कठघरामा उभ्याई कारवाही गर्न ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री श्रेष्ठले कार्वाही हुने आश्वासन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *