पूर्व राष्ट्रपति डा. यादव वीर अस्पतालमा भर्ना, स्वास्थ्य मन्त्री बस्नेत पुगे स्वास्थ्य अवस्था बुझ्न

काठमाडौँ, २४ भदौ । स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति डा रामबरण यादव उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । उनी आज अपरान्ह ५ बजे वीर अस्पताल पुगेर भर्ना भएका हुन् ।

विशिष्ट कक्ष (भीआईपी) वार्डमा भर्ना भएका डा. यादवमा उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले बताए ।

यसैबीच पूर्व राष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् ।

मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा. यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएका छन् । डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमि नगरेको महसुुस गरेको बताएका थिए ।

मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएपछि वीरमा भिआईपी र भिभिआईपी गरि दुई शैया थप्न लगाएर पाँच शैया पुर्‍याएको र भिआईभी र भिभिआईपीको उपचारका लागि वीर सहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकहरुको टीम बनाएकोले उपचारका बिषयमा चिन्ता लिनु नपर्ने जानकारी गराएका थिए ।

डा. यादवको उपचारमा मुटुरोग विज्ञहरु प्राडा. भगवान कोइराला, प्राडा रत्नमणी गजुरेल, डा. समिर पौडेल लगायतको टीम संलग्न रहेको डा. बस्नेतले जानकारी दिए । डा. बस्नेतका अनुसार पूर्व राष्ट्रपति डा. यादवको उक्तचाप नियन्त्रणमा छैन । तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको उनले जानकारी दिए ।

मन्त्री बस्नेतले डा. यादवको उपचारमा कुनै कमी हुन नदिन न्याम्सका उपकुलपति डा. बस्नेतलाई निर्देशन दिएका छन् । यसैगरी स्वास्थ्य मन्त्री बस्नेतले वीरमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र नेपाली कांग्रेसमा सहमहामन्त्री एवं पुर्व मन्त्री महेन्द्र यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था र उपचारका बिषयमा जानकारी लिएका छन् ।

मन्त्री बस्नेत आजमात्र जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर इजिप्टबाट स्वदेश फर्किएका हुन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *