कर्णालीमा आँखा उपचार सेवा बिस्तार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच सम्झौँता

काठमाडौँ, ८ भदौ । कर्णाली प्रदेशका जनतालाई बृहत आँखा उपचार सेवा उपलब्ध गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यी दुई संस्थाबीच समझादारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत उपस्थितिमा आयोजित कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महत तथा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक डा सन्दुक रुईत र प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

 

समझदारी पत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने, समुदायस्तरमा पुगेर आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँखा विभागको स्तरोन्नती गर्न तिलगङ्गाले सहयोग गर्ने लगायतका विषय छन् ।

सो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आजको सम्झौँताले कर्णाली प्रदेशका जनताको आँखा उपचार सेवालाई सहज बनाउन महत्वपूर्ण हुने बताए । उनले दुर्गम कर्णालीलाई तिलगङ्गाको सहयोग हुनु खुशीको कुरा हो भन्दै सरकारले अब आँखा उपचारका लागि छुट्टै रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको बताए ।

उनले भने, “दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ । मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।”

तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिष्ठान अन्तर्गत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने बताए ।

“आँखा उपचारका लागि अत्यावश्यक सबै प्रकारका आधुनिक स्वास्थ्य उपकरण र संरचना निर्माणमा सहयोग उपलब्ध गराउनेछौँ”, डा रुइतले भने “कर्णाली प्रदेशको कुना कुनामा गएर सेवा उपलब्ध गराउने र त्यसमा पनि मोतिविन्दु, जलविन्दु तथा मधुमेहजन्य आँखाको समस्याको उपचारलाई सहज र सुलभरूपमा सबैको पहुँचमा पु¥याउन हामीबीच सहकार्य हुनेछ ।”

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए । उनले सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने अवसर मिलेको थिएन”, उनले भने, “तिलगङ्गासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ ।”

उपकुलपति डा रावलका अनुसार प्रतिष्ठानमा तीन वर्षदेखि आँखासम्बन्धी रोगको उपचार सेवा सञ्चालन भइरहेको छ । यद्यपि बजेट र विशेषज्ञ चिकित्सकको अभावमा सेवालाई विस्तार गर्न नसकेको उनको भनाई छ । “विगत तीन वर्षदेखि बहिरङ्ग सेवा उपलब्ध भइरहेको छ । एक जना नेत्र रोग विशेषज्ञ हुनुहुन्थ्यो, अहिले विशेषज्ञ उपलब्ध गराउन मन्त्रालयसँग आग्रह गरेका छौँ”, उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *