अब ६० वर्ष माथिका जेष्ठ नागरिकको उपचारमा ५० प्रतिशत छुट !

काठमाडौँ, ८ भदौ । अब ६० वर्ष माथिका जेष्ठ नागरिकहरुले केन्द्रीय अस्पतालहरुमा उपचार गर्दा कम्तिमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले गत बुधबार सचिवस्तरीय निर्णय गर्दै जेष्ठ नागरिकको उपचारमा छुट सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन सबै केन्द्रीय अस्पताललाई परिपत्र मार्फत यस्तो अनुरोध गरेको छ ।

परिपत्रमा मन्त्रालयले केन्द्रीय अस्पतालहरुलाई जेष्ठ नागरिक सम्वन्धी ऐन २०६३ अनुसार दिने भनिएको स्वास्थ्य सुविधा उपलव्ध गराउन भनेको छ ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै जेष्ठ नागरिक सम्वन्धी ऐन कार्यान्वयन गर्न अनुरोध गरेको थियो । यो कार्यान्वयनमा ल्याउन पर्छ भनेर सामान्यलाई झक्झक्याउने काम सेवानिवृत्त राष्ट्रसेवक संघ नेपालले गरेको थियो ।

उसले उठाएको सात बुँदे मागको ५ नम्बर बुँदामा ‘जेष्ठ नागरिक सम्वन्धी ऐन २०६३ मा यातायात र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा जेष्ठ नागरिकहरुलाइ दिने भनिएका सेवा सुविधाहरु यातायातका सबै साधान र स्थान तथा सबै अस्पतालहरुमा कार्यान्वयन गरियोस,’ भन्ने छ ।

सामान्यले सेवानिवृत्त राष्ट्रसेवक संघ नेपालले राखेको सोही माग सम्वन्धी पत्र समेत राखेर स्वास्थ्य मन्त्रालयलाई पठाएको थियो । स्वास्थ्यले पनि सामान्यले पठाएको सोही माग सम्वन्धी पत्रको ५नम्बर बुँदा कार्यान्वयन गर्न संघीय अस्पतालहरुलाई अनुरोध गरेको हो ।

उसले सबै विभाग र सबै केन्द्रीय अस्पतालहरुका नाममा गरेको परिपत्रमा पनि सेवानिबृत्त राष्ट्रसेवक संघ नेपालको पत्रको बुँदा नम्बर ५ कार्यान्वयन गरियोस भनेको छ ।

जेष्ठ नागरिक सम्वन्धी ऐनको दफा ९ को ३ र ४ मा जेष्ठ नागरिकको उपचारमा हुने छुट तथा सुविधाका बारेमा उल्लेख छ ।

उपदफा ३ मा ‘स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुु पर्नेछ’ भनिएको छ ।

यस्तै उपदफा ४ मा ‘नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका जेष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनु पर्नेछ,’ भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *