एनसीडीएका अध्यक्ष पदका उम्मेद्धार खण्डेलवाल भन्छन्, ‘एनसीडीएलाई सबै अट्ने र सबै खट्ने संस्था बनाउँछु’
प्रकाशकुमार खण्डेलवाल, औलामा गन्न मिल्ने नेपालका प्रमुख औषधि व्यवसायीहरुको सूचीमा पर्दछन् । आफ्नो हजुरबुबा देखि छोरा पुस्तासम्म आइपुग्दा प्रकाश नेपालको औषधि व्यवसायको क्षेत्रमा चार पुस्तासम्म अनवरत रुपमा खटिने खण्डेलवाल परिवारको ‘मियो’को रुपमा उभिएका छन् ।
हुन पनि ६५ वर्ष अघि रौतहटको गौरमा उनका हजुरबुबाले सुरु गरेको औषधि व्यवसायको ‘गोरेटो’ अहिले ‘राजमार्ग’ स्वरुपमा उनका छोरासम्म आईपुगेको छ । त्यसैले त एक दशक भन्दा बढी समय जापानका बिताएका उनका छोरा आफ्नो पारिवारिक बिराशत बोकेको औषधि व्यापारलाई सम्हाल्न नेपाल फर्केका छन् ।
त्यसो त नेपालको औषधि व्यवसायका क्षेत्रमा खण्डेलवाल परिवारलाई ‘अल-राउण्डर’ हो भन्दा फरक पर्दैन । किनभने ६५ वर्ष अघि रौतहटको गौरमा सञ्चालनमा ल्याएको ‘प्रकाश मेडिकल हल’ औषधि पसल अहिले पनि ‘खण्डेलवाल’ परिवारले चलाएको छ ।
त्यस यता खण्डेलवाल परिवारले औषधिको थोक विक्रेता, खुद्रा बिक्रेता र आयातकर्ताको रुपमा आफूलाई उभ्याएको छ ।
औषधि व्यापार तथा व्यावसायमा सफलता प्राप्त गर्दै आएका उनै प्रकाशकुमार खण्डेलवाल यसपटक नेपाल औषधि व्यवसायी संघको नेतृत्व गर्न कस्सिएका छन् ।
हाल संघको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका उनले आगामी भदौको तेस्रो साता हुन लागेको १४ औँ राष्ट्रिय अधिवेशनबाट संघको अध्यक्ष बन्ने योजना अनुरुप उम्मेद्धारी घोषणा गरी भोट माग्न देश दौडाहामा निस्केका छन् ।
यसै साता काठमाडौँमा भेटिएका खण्डेलवाललाई नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्ष बन्न लाग्नु भएको हो ? भनेर सोधेका थियौँ । सरल र प्रष्ट बिचारका खण्डेलवालले तत्कालै जवाफ दिए. ‘हो’ ।
अध्यक्ष बन्नका लागि के छन् त चुनावी एजेण्डा ? उनीसामु दोस्रो प्रश्न तेर्स्यायौँ, ‘मेरो नारा छ- ‘एनसीडीएलाई सबै अट्ने र सबै खट्ने बनाउँछु ।’ उनले अगाडी थपे, ‘यसका लागि विस्तृत रुपमा कार्ययोजना तयार भएको छ । म संग भिजन छ, दृढ संकल्प छ । अरु थुप्रै संस्थालाई सफलतापूर्वक अघि बढाएको अनुभव छ । अझ सबैभन्दा ठूलो कुरा मेरा व्यवसायी मित्रहरु मसंग हुनुहुन्छ,’ उनले सुरुवातमै भने ।
कुराकानीलाई अगाडी बढाउँदै जाँदा खण्डेलवालले अलिकति आफ्नो बारेमा भने, अनि औषधि क्षेत्रसंग जोडिएको पारिवारिक पृष्टभूमी उप्काए र संघमा आफूले नेतृत्व गर्न पाउँदा संस्थालाई कसरी अघि बढाईन्छ भन्ने बारेका योजना सुनाए ।
उनले यसरी सुरु गरे ……. अहिले म ६३ वर्षको भएँ । म नजन्मिदै देखि हाम्रो परिवार औषधि व्यवसायमा लागेको हो । २७ वर्ष अगाडी म वीरगञ्ज ‘सिफ्ट’ भएको हुँ । औषधि व्यवसायकै सिलसिलामा ।
मेरो बुबा कोरोना महामारीका बेला बित्नु भयो । आमा हुनुहुन्छ । हामीचाँही बाजेको पाला देखि औषधि व्यवसायमा लागेको हौँ ।
म औषधि व्यापारमा १८ वर्षकै उमेरमा छिरेको थिएँ । रौतहटको गौरमा मेरो बुबाले खोलेको पसल काकाले सम्हाल्नु हुन्थ्यो । तर अचानक काका वित्नु भयो, काकाको अप्रत्यासित मृत्युपछि कि त्यो पसल मैले सम्हाल्नु पर्ने थियो कि त बन्द गर्नु पर्ने हुन्थ्यो । मैले व्यवस्थापन संकाय तर्फ प्रमाणपत्र तह त्यसबेलाको आइकम पढेको थिएँ । मैले बाबाले खोलेको पसललाई सम्हाल्ने निधो गरेँ । त्यसरी मैले १८ वर्षको उमेर देखि मैले यो व्यवसायमा हात हालेको हुँ ।
आफू जन्मिनु अघि नै परिवारले सुरु गरेको औषधि व्यवसायमा प्रकाश १८ वर्षको उमेर देखि नै छिरे । अनि उनलाई दह्रो संग आड दिन कान्छो भाई प्रदीप पनि सोही व्यवसायमा आवद्ध भए । पारिवारिक विरासत बोकेको औषधि व्यवसाय फैलदो क्रममा थियो, अचानक भाइको देहान्त भयो । आडभरोसा दिने भाईको अप्रत्यासित मृत्युले आत्तिएका प्रकाशलाई व्यवसायमा साथ दिनका लागि छोरा पुस्ता बलियो खम्बाको रुपमा ठडियो । अहिले आफ्ना दुई छोरासंगै कान्छो भाई प्रदीपको छोरा, काकाको छोराहरु पनि पारिवारिक विरासत बोकेको औषधि व्यवसायमा लागेका छन् ।
‘औषधि पसलमा हजुर बुबा बस्नु भयो त्यसपछि बुबा र काका बस्नु भयो, त्यसपछि म बसेँ अहिले मेरो छोरा पनि यहि फिल्डमा छ । यसरी हेर्दा औषधि व्यवसायमा हाम्रो चार पुस्ता चलेको छ भन्दा गल्ती हुँदैन’ उनले अगाडी थपे ।
‘कहिले देखि औषधि व्यवसायको क्षेत्रमा लाग्नु भयो र ? भनेर सोध्ने गर्नु हुन्छ । म भन्छु, ‘हामी औषधि व्यवसायको क्षेत्रमा लागेको ६५ वर्ष पुग्यो । रौतहटको गौरमा खोलिएको हाम्रो पहिलो औषधि पसल त्यसबेला ‘प्रकाश मेडिकल हल’को नाममा खोलिएको थियो । अहिले नाम परिवर्तन भएको छ तर सञ्चालनमै छ । काकाको छोराले चलाउँछ । गतिशिल ढंगले चलिरहेको छ ।
हाम्रो खुद्रा रुपमा औषधि विक्री गर्ने पसल पनि छ । थोक व्यापार पनि छ । औषधि आयातको व्यापार पनि छ । यसकै सिलसिलामा म २७ वर्ष अघि वीरगञ्ज सरेँ । यसबीचमा औषधि वितरणको जिम्मा समेत लिएका थियौँ ।
आयातका लागि युनिक ट्रेडलिंक प्रालि छ । फेयरडिल मेडिकल स्टोर्स, खुद्राका लागि युटिएल फार्मेसी प्रालि, निखिल फार्मा प्रालि, जी फार्मालिंक, राहुल फार्मा लगायतका थुप्रै कम्पनीहरु छन् ।
औषधि क्षेत्रमा पाईला
हामीले जसरी ६५ वर्ष अघिको कुरा गरिरहेका छौँ । त्यसबेला एलोपेथिक भन्दा आयुर्वेदिक औषधिहरुको बढी खोजी हुन्थ्यो । गौरमा हजुरबुबा तेल विक्री गर्ने डिपोमा काम गर्नु हुन्थ्यो । पछि जागिर छाडेर औषधि व्यवसायमा लाग्नु भयो । भारतको सीतामढीमा गएर आयुर्वेदिक औषधिहरु ल्याउने र बिक्री गर्ने । पछि विस्तारै एलोपेथिक औषधितर्फ हामी अघि बढ्यौँ ।
संस्थागत जिम्मेवारी
आफ्नो व्यवसायमा त म विभिन्न जिम्मेवारीमा हुने नै भएँ । यसबाहेक म वीरगञ्ज उद्योग बाणिज्य संघको कार्यकारी सदस्य, नेपाल औषधि व्यवसायी संघको बरिष्ठ उपाध्यक्ष, मेरो भाइको नाममा नाममा स्थापित प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्ट छ, त्यसको त्यसको उपाध्यक्ष छु । यो ट्रष्टको अध्यक्ष मेरी आमा हुनुहुन्छ । यसबाहेक मेरो थुप्रै सामाजिक संघसंस्थामा विभिन्न जिम्मेवारी सहितको आवद्धता रहेको छ ।
नेपाल औषधि व्यवसायी संघमा आवद्धता
ठ्याक्कै ५० वर्ष अघि नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को स्थापना भएको हो । त्यसैले यसपटक हामीले एनसीडीएको स्वर्ण महोत्सव मनाउँदै छौँ । यो हामी व्यवसायीको लागि अत्यन्त खुशीको कुरा हो ।
मैले फेरी अगाडीको कुरा जोड्न चाहेँ, एनसीडीए स्थापना भएका बेला हामी गौरमा नै मेडिकल सञ्चालन गरेर बसेका थियौँ । पछि त्यसबेलाको नारायणी अञ्चलबाट म एनसीडीएको सदस्यता लिएँ । वीरगञ्ज सरेपछि त्यसको कार्यकारिणीको सदस्य भएँ । त्यसपछि केन्द्रमा कार्यकारिणीको सदस्य भएँ । त्यसपछि अर्को पटक सह कोषाध्यक्ष भएँ । त्यसपछि उपाध्यक्ष आयात तर्फको भएँ । त्यसपछि बरिष्ठ उपाध्यक्ष भएँ । यसरी विभिन्न जिम्मेवारीमा रहेर एनसीडीएमा काम गर्न थालेको पनि १७ –१८ वर्ष भईसक्यो ।
अध्यक्ष पदमा मेरो उम्मेद्धारी किन ?
आगामी २२ र २३ भदौमा मधेश प्रदेशको वीरगञ्जमा एनसीडीएको १४ औँ राष्ट्रिय अधिवेशन हुँदैछ । यो अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनौट गर्दछ । म अहिले एनसीडीएको केन्द्रीय बरिष्ठ उपाध्यक्ष छु । यसपटक मैले केन्द्रीय अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेको छु । त्यसका लागि मैले केही एजेन्डा बनाएको छु । यसलाई एजेण्डा भन्नुस वा मेरा धारणा भन्नुस, वा चुनावी नारा । तल उल्लेखित कुराहरुमा मेरो प्राथमिकता रहन्छ ।
१. एनसीडीएलाई सबै अट्ने र सबै खट्ने संस्था बनाउछु
मैले आफ्नो एजेण्डा सुरुमै भनिसकेको छु एनसीडीएलाई सबै जना अट्ने र सबै खट्ने बनाउँछु । मैले सबैलाई समेटछु । सबैलाई खटाउँछु पनि । म संग अहं भावना छैन् । ‘ईगो’ राख्ने व्यक्ति पनि म होईन । तर म संग आत्मसम्मान छ । सबै सदस्यहरुलाई बराबरीको सम्मान दिन्छु । यति मात्रै होइन मैले सबैलाई मिलाएर काम गराउन पनि सक्छु । केन्द्रको बार्षिक योजना ल्याएर काम गराउन सक्छु ।
२. संस्थालाई आर्थिक रुपमा सबल बनाउँछु
संस्था सवल हुनका लागि आर्थिक रुपमा पनि बलियो हुनुपर्छ । मैले नेतृत्व गर्न पाएँ भने एनसीडीएलाई आर्थिक रुपमा पनि सबल र बलियो बनाउछु । यो मेरो मिसन, भिजन सहितको प्रतिवद्धता हो । किनभने आर्थिक रुपमा सबल नभईकन संस्था चल्दैन । हामीलाई थाहा छ नि, आर्थिक रुपमा सवल नहुँदा घर परिवार पनि चल्दैन । मुलुक पनि त चल्दैन ।
३. ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’मा ध्यान दिनेछौँ यो हाम्रो व्यवसायीहरुको संस्था हो । व्यापार गर्नेहरुको संस्था । पेशागत रुपमा हामीले काम गर्दै गर्दा समस्या देखिएमा बसेर समाधान गर्ने चौतारो एनसीडीए हो । हामीकहाँ अहिले ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’को समस्या विद्यमान छ । यसलाई व्यवस्थित गर्न सके व्यवसायी, उपभोक्ता तथा सरकार सबै पक्षलाई फाइदा हुन्छ । यसका लागि मैले केही रणनीतिहरु बनाएको छु । यसमा हामीले काम गर्न सक्छौँ ।
४. सोधभर्ना नियमावलीलाई समयसापेक्ष गराउँछौँ, बाणिज्य व्यापारको नीति बनाउँछौँ
हामीसंग सोधभर्ना नियमावली छ त्यसलाई पनि समयसापेक्ष गराउनु पर्ने छ । अहिले औषधिको म्याद गुज्रने समस्या ठूलो छ । यसमा एउटा कारण माथि उल्लेख गरेजस्तै ‘ओभर सप्लाई’ र ‘ओभर डप्पिङ’ हो । यसले हामीलाई निकै मर्का पारिरहेको छ । यस्तै औषधि क्षेत्रको व्यापार र बाणिज्य सम्वन्धी नीति बनाउछौँ । नीति बनाएर त्यसलाई अघि बढाउँछौँ ।
५. औषधिको गुणस्तर नियमनका लागि टिम
औषधिको गुणस्तरबारे नियमन गर्न तथा परामर्श दिनका लागि नितान्त प्राविधिक संस्था हो औषधि व्यवस्था विभाग । तर उसले व्यवसायको हरेक क्षेत्रमा हात हालेको छ । उसले समयमा काम गर्न नम्याउँदा हामीलाई समेत मर्का परेको छ । त्यसैले हामीले औषधिको गुणस्तर नियमन गर्न टिम बनाउँछौँ ।
६. एनसीडीएको सिफारिसलाई मान्यता
औषधि पसलको नविकरण गर्दा नेपाल औषधि व्यावसायी संघको अभिलेख र सिफारिसलाई औषधि व्यवस्था विभागले मान्यता दिनु पर्छ । यसो गर्दा संस्थागत विकास र संगठनात्मक महत्वलाई समेत प्रतिविम्बित गर्दछ । यसका लागि म नेतृत्वमा आएपछि पहल गर्दछु ।
७. सेन्ट्ररल इन्फरमेसन सिस्टम बनाउँछु
एनसीडीएको कार्यालयबाट हुने जम्मै कामलाई सेन्ट्ररल इन्फरमेसन सिस्टममा राख्छु । त्यसपछि धेरै काम अनलाइन मार्फत हुन सक्दछ । यो सिस्टम बनिसकेपछि हरेक थोक सहज रुपमा उपलव्ध होस भन्ने हो । संघीय, प्रदेश देखि जिल्ला तहसम्म यो सिस्टमले काम गर्ने बनाउँछु ।
८. सचिवालयलाई व्यवस्थित गर्दछु
एनसीडीए औषधि व्यावसायीको संस्था हो । यसलाई नमूना बनाउनु पर्छ । एनसीडीएको सचिवालयलाई थप व्यवस्थित गर्नु जरुरी छ । अहिले कार्यप्रणाली त छ तर यसलाई थप विकसित गर्नु पर्छ । सचिवालयमा एक जना कानूनी विज्ञ र एक जना दक्ष फर्मासिस्ट फुल टाइमरको रुपमा राख्छु । यिनीहरुले सबै आफ्ना सदस्यहरुलाई विषयगत रुपमा सहयोग गर्न सक्छन् । योग्यता अनुसार राय सल्लाह र काम गर्दा आइपर्ने कतिपय कठिनाईहरुलाई सुल्झाउन वा बुझाउनका लागि मद्धत गर्न सक्छन् ।
९. तालीम प्राप्तहरुका सन्ततीलाई अध्ययन कोटा
पहिले औषधि बिक्री गर्नका लागि फार्मेसी पढेको व्यक्ति कहाँ थियो र ? तालीम प्राप्त व्यक्तिबाटै यो सेवा सञ्चालन गरिदै आएको हो । तर अब भने औषधि बिक्री गर्न फार्मासिस्ट पढेकै व्यक्ति हुनु पर्ने व्यवस्था छ । यसका लागि सरकारले तालीमप्राप्त व्यक्तिका सन्तानका लागी फार्मेसी अध्ययनका लागि विशेष कोटा हुनु पर्छ भन्ने मेरो माग हो । जुनसुकै विषय पढेर आएपनि बी फार्मा र डी फार्मा पढ्नका लागि कोटा हुनु पर्दछ । यो पुराना तालीम प्राप्त व्यक्ति जसले फार्मासिस्टको काम गरेर सेवा दिएका थिए, उनीहरुको लागि सम्मान पनि हो । किनभने अहिले फार्मासिस्ट भएपनि पहिले त हामी जस्तै तालीम प्राप्तहरुले नै यो पेशा धानेको हो नि ।
१०. संस्थालाई एकीकृत बनाउँछु
एकता नै बल हो । हामी एक आपसमा झगडा गरयौँ, छुट्टिऔँ भने अरुबाट हेपिने हामी नै हौँ । कमजोर भएपछि जसले पनि हेप्छ । त्यसैले मेरो भनाई के भने औषधि व्यवसायसंग जोडिएका जतिपनि संस्थाहरु छन् ति संस्थाहरुलाई कुनै न कुनै रुपबाट एकीकृत हुनका लागि पहल गर्दछु । उनीहरुलाई पनि कुनै न कुनै तरिकाले हाम्रो संघमा समाहित गर्ने योजना बनाउने छौँ ।
११. पुस्तान्तरणमा देखिएको समस्या हल गर्नेछु
औषधि व्यवसायमा एउटा समस्या मौलाउँदे गएको छ । त्यो के भने अहिले कतिपय बी फार्मेसी र डी फार्मेसी पढेका साथीहरुले नेपाल औषधि व्यवसायी संघलाई तालीमप्राप्त व्यक्तिहरुले खोलेको संस्था हो भन्ने गरेका छन् । यो गलत बुझाई हो । एनसीडीएलाई त्यो नजरले हेर्नु हुँदैन । तालीमप्राप्त भएपनि हामीहरु अहिलेका फार्मासिस्टहरुको ईतिहास त हो नि । अगुवा त हो नि । त्यो बुझ्नु पर्छ । आखिर भोली गएर ओरिन्टेशन तालीम त हुँदैन । भोली त यो संस्था अहिले आएका पछिल्ला पुस्ता जो फार्मेसी पढेरै व्यवसायमा आवद्ध छन्, उनीहरुले नै सम्हाल्ने हो । ५० वर्ष अघि स्थापित संस्थाले आर्जेको सम्पत्ति त यिनै बि र डी फार्मेसी पढेर आएकाहरुले नै भोगचलन गर्ने हो । संस्था भनेको अभिछिन्न चल्ने कुरा हो । यो एक खालको पछिल्लो पुस्ता र अघिल्लो पुस्ताबीचको ‘ईगो’ समस्या पनि हो । यसलाई पनि हामीले आपसमा मिलेर नै समाधान गर्नेछौँ ।
१२. व्यवसायीहरुलाई नियमित तालीम
औषधि सम्वेदनशील बस्तु हो । यसको समुचित प्रयोग हुनुपर्छ । यसका लागि व्यवसायीहरुलाई पनि तालीम तथा ओरिन्टेशनको आवश्यकता छ । जस्तै एन्टीबोटिक, क्षयरोग औषधि सम्वन्धी विभागहरुसंग सहकार्य गरी यसलाई अघि बढाउने छु ।
१३. फार्मेसीमा काम गर्ने सहयोगीका लागि तालीम
औषधि पसलमा फार्मासिस्ट त हुनु पर्छ । तर त्यहाँ फार्मासिस्टलाई सघाउन सहयोगी पनि राख्न पर्न सक्छ । जस्तै औषधि डिस्पेन्सिङ गर्न सक्ने कर्मचारी राख्नुपर्छ, औषधि राख्ने, मिलाउने, म्याद गुज्रेकालाई हटाउने कार्य गर्नका लागि राखिने सहयोगीका लागि सर्ट ट्रम कोर्ष डिजाइन गरी सञ्चालन गर्ने व्यवस्थाको लागि पहल गर्छु । यसो भएको खण्डमा रोजगारीको अवसर पनि सिर्जना हुने, अवैध रुपमा फार्मेसीमा काम गर्ने प्रथा पनि हट्ने हुन्छ । देशमा औषधि पसलमा काम गर्न सक्ने मान्छे एक लाख बढी छन् तिनिहरुको काम के हुन्छ ? समयमा गोदामबाट सामान निकालेर रयाकमा राख्ने, मिलाउने रु त्यसका लागि सर्टटर्म कोर्ष बनाईदिने । औषधि व्यवस्था विभागसंग मिलेर ।
१४. औषधि पसलको नबिकरण तीन वा पाँच वर्ष राख्ने
हुम्ला, डोल्पा, ताप्लेजुङ, दार्चुलाका औषधि पसलहरुले नवीकरण गर्न आउँदा कति सास्ती खेप्नु पर्छ होला । सोच्नुस त ? त्यसैले स्थानीय तहमै अपडेट गराउने तर नवीकरणका लागि पाँच तीन वा पाँच वर्ष राख्नुपर्छ भन्ने मेरो मान्यता हो । म नेतृत्वमा आएँ भने यसका लागि पनि दवाव सिर्जना गर्दछु ।
१५. सात प्रदेशमै औषधि व्यवस्था विभागको व्यवस्था
अहिले पनि प्रदेशस्तरमा शाखा नभएको त होइन तर सबै ठाँउमा छैन् । विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र पोखरामा मात्रै प्रादेशिक कार्यालय खुलेको अवस्था छ । अब सातै प्रदेशमा यसैगरी डीडीएको प्रादेशिक शाखा खुल्नु पर्छ । अनि जिम्मेवारी पनि प्रदेश अन्तरगर्त रहने गरि मिलाउनु पर्छ । अहिले नियमन तथा अनुगमन गर्ने सिमानाको कुरा गर्दा निकै नै गोलमालको अवस्था छ ।
१६. एनसीडीएका प्रतिनिधिलाई समेटनु पर्ने
स्वास्थ्य क्षेत्रका लागि औषधि व्यवसायी संघ महत्वपूर्ण प्रतिनिधिमुलक संस्था हो । हामी चाहन्छौँ जिल्लास्तरीय, स्वास्थ्य सेवा समिति, विपत व्यवस्थापन समितिमा एनसीडीएको पनि प्रतिनिधित्व हुनु पर्छ । यसले एनसीडीएले पनि सामाजिक उत्तरदायित्व अन्तरगर्त काम गर्दछ भने उसको आत्मसम्मान पनि बढेर जान्छ । यसका लागि सरकारी निकायसंग पहल गर्नेछु ।
१७. स्वास्थ्य बीमामा देखिएको समस्या मिलाउँछु
स्वास्थ्य बीमा कार्यक्रम वा अस्पताल फार्मेसीका कुरा राम्रो भएपनि कुरा राम्रोे भएपनि यसको कार्यान्वयनमा अलि सोचेजस्तो देखिएको छैन् । स्पष्ट रुपमा भन्दा व्यवसायीलाई मर्का परिरहेको छ । बीमाका लागि औषधि उपलव्ध गराए पनि समयमै भुक्तानी नहुने, सरकारी अस्पतालका फार्मेसीमा औषधि उपलव्ध गराए पनि समयमा भुक्तानी नहुने जो समस्या छ । यसलाई सम्वन्धीत पक्षसंग बसेर हल गर्ने योजना छ । किनभने यसमा थोक विक्रेतालाई निकै नै मर्का परिरहेको छ ।
अन्त्यमा फेरी पनि भन्छु, औषधिका क्षेत्रमा भएको मेरो लगानी, मेरो र परिवारको औषधि क्षेत्रको योगदान र ईतिहास तपाईँहरुलाई थाहा भइसकेको छ । म दावाका साथ भन्न सक्छु देशमा औलामा गन्न सकिने औषधि व्यवसायीहरुमा म पनि एक हुँ । औषधि मेरो पारिवारिक विरासत बोकेको पेशा बनेको छ ।
सुरुवातको अवस्था देखि अहिलेको अवस्थासम्म आईपुग्न मैले गरेको मेहनत, पाएको सफलताले म यो भन्न सक्छु कि एनसीडीएलाई अहिलेसम्मकै उत्कृष्ठ संस्था बनाई छाड्छु । किनभने मैले हाम्रा व्यवसायी मित्रहरुको समस्यालाई नजिकबाट जान्ने अवसर पाएको छु । थोक, खुद्रा, आयात सबै तिर गएको छु । समस्या परेमा सुल्झाउने प्रयास गरेको छु । औषधि क्षेत्रको सबै खालको कारोवारको अनुभव भएकोले म त्यसमा देखिने सबै खालका समस्यालाई सुल्झाउन सक्छु भन्ने लाग्छ ।
र, फेरी भन्दछु देशका हजारौँ औषधि व्यवसायीहरुको सहयोगबाट यसपटक संस्थाको नेतृत्व हाक्ने गरी अध्यक्ष बन्न चाहन्छु ।
प्रस्तुति : रामप्रसाद न्यौपाने
सम्पर्क इमेल : [email protected]