सांसद चन्द्र भण्डारी फलोअप उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना
काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी फलोअप तथा उपचारका लागि पुन: अस्पताल भर्ना भएका छन् । पारिवारिक स्रोतका अनुसार उनी कीर्तिपुर अस्पतालमा भर्ना भएका हुन् ।
त्यसो त उनले अस्पताल नखुलाए पनि पुन: उपचारका लागि भर्ना भएको जानकारी सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
उनले आज बिहान सामाजिक संजाल फेसबुक मार्फत आफू फलोअप तथा उपचारका लागि पुन: अस्पताल भर्ना भएको जानकारी गराएका हुन् ।
आज विहानै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ, इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।”
भण्डारीको भारतमा लामो उपचार भएपनि हात तथा खुट्टाको समस्या पूर्ण ठिक भइसकेको छैन् । कीर्तिपुर अस्पतालमा उनको पुन शल्यक्रिया हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गत ३ फागुनमा घरकै भान्सा कोठामा ग्याँस लिक हुँदा भएको आगलागीमा आफ्नो आमासंगै गम्भीर घाइते भएका भण्डारीको सुरुको उपचार कीर्तिपुरमै भएको थियो ।
उनकी आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।
तर अर्को दिन उनलाई थप उपचारका लागि चिकित्सकीय टोली सहित एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लगिएको थियो। त्यहाँ उपचार गराएर १७ बैशाखमा उनी स्वदेश फर्किएका थिए ।
सम्पर्क इमेल : [email protected]