सीआईबीले भन्यो, ‘मेडिकल काउन्सिलले गलत विवरण दिदा नक्कली आरोपमा सक्कली डाक्टर थुनिए’
काठमाडौँ, २९ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले डा रञ्जीत कुमार यादव पक्राउ प्रकरणमा मुख्य दोष नेपाल मेडिकल काउन्सिलको रहेको दावी गरेको छ ।
सीआईबीले आज विज्ञप्ती जारी गर्दै काउन्सिलले पठाएको विवरण र पक्राउ गर्न खोजिएको व्यक्ति फरक भएको स्पष्ट पारेको छ ।
काउन्सिलले २८ साउनमा सीआईबीलाई पत्र लेख्दै देवेन्द्र यादवको छोराको विवरण पठाउनु पर्नेमा विश्वनाथ यादवको छोरा पक्राउ परेको बताएको थियो ।
सीआईबीले महोत्तरी जिल्लाको पिपरा ८ का विश्वनाथका छोरा ३२ वर्षका रञ्जीतकुमार यादवलाई गत २५ साउनमा भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको थियो ।
सबै प्रमाणपत्र सक्कली हुँदा हुँदै पनि डा यादवलाई नक्कली भन्दै सीआईबीले पक्राउ गरेपछि परिवार तथा आफन्त उजुरीका लागि काउन्सिलमा पुगेका थिए । सो क्रममा थप कागजात हेर्दा पक्राउ परेका यादवको प्रमाणपत्र सक्कली भएको पाइएको थियो । त्यसपछि काउन्सिलले सीआईबीलाई त्यसबारेमा जानकारी गराएको थियो ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले २०७६ असोज २७ गते संकास्पद १ हजार ६०३ जना डाक्टरको विवरण पठाउँदा भुलवस डा यादवको विवरण सो लिष्टमा परेको बताए । उनले गतल भएको थाहा पाउनासाथ आफूले सीआईबीलाई जानकारी गराएको सबेत बताए ।
उनले आइतबार सीआईबीलाई देवेन्द्र यादवको छोरा (नक्कली आरोपित) रञ्जीतकुमार यादवको विवरण पठाएको जानकारी दिए ।
यसैबीच काउन्सिलको लापरवाहीले अनाहकमा एक जना डाक्टरले आफ्नो विश्वनीयता र प्रतिष्ठामा आँच आउने अवस्था भोग्नु परेको भन्दै युवा चिकित्सकहरुको समूहले आज काउन्सिलमा नाराबाजी गर्न पुगेका थिए । उनीहरुले काउन्सिल नेतृत्व र रजिष्ट्रारबिरुद्ध चर्का नारा लगाएका थिए ।
सम्पर्क इमेल : [email protected]