चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नाम सिफारिस गर्न रेग्मीको संयोजकत्वमा समिति गठन
काम सुरु गरेको तीस दिन भित्र तीन जनाको नाम सिफारिस गर्नुपर्ने
काठमाडौँ, १८ साउन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको चार वर्षे कार्यकाल सकिनै लाग्दा सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तीका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरेको छ ।
गत मंगलबार (१६ साउन)मा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा नाम सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष प्राडा गिरीको चार वर्षे कार्यकाल आगामी २६ भदौमा सकिदैछ ।
मन्त्रिपरिषदले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तीका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरेको जानकारी दिईन् ।
समितिमा को को छन् ?
उपाध्यक्ष नियुक्तीका लागि नाम सिफारिस कसरी गर्ने ? कस्तो व्यक्तिलाई गर्ने भन्ने व्यवस्था राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा स्पष्टसंग उल्लेख गरिएको छ । सो ऐनको दफा २३ (१)मा उपाध्यक्षको नाम सिफारिस गर्नका लागि लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने गरी दुई सदस्य समिति बन्ने उल्लेख छ ।
जसमा मुख्य सचिव वा निजले तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकहरुमध्येबाट नेपाल सरकारले तोकेको एक जना महिला गरी दुई जना सदस्य रहने प्रावधान छ ।
सो अनुसार सिफारिस समितिको संयोजक माधवप्रसाद रेग्मी रहनेछन् । दुई जना सदस्यहरुमध्ये एक जना मुख्य सचिव डा. बैकुण्ठ अर्याल रहने छन् भने अर्को सदस्यको रुपमा गत मंगलबारको मन्त्रिपरिषद बैठकले नै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोकिएको उल्लेख छ ।
यो समितिले आफ्नो काम प्रारम्भ गरेको मितिले ३० दिन भित्र तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । ती तीन जनामध्येबाट सरकारले उपयुक्त ठानेको एक जनालाई उपाध्यक्षमा नियुक्ती गर्नेछ ।
सम्पर्क इमेल : [email protected]