मिसन अस्पतालले स्वास्थ्य बीमा रोक्ने घोषणा गर्दा लुम्बिनी मेडिकल कलेजमा छुटको वर्षा

पाल्पा, १७ साउन । लुम्बिनी मेडिकल कलेजमा गतवर्ष देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप अर्को ठूलो अस्पताल युनाइटेड मिसन अस्पतालमा परेको थियो । बीमा कार्यक्रम नहुँदा लुम्बिनी मेडिकल कलेज (एलएमसी)मा बिरामीको चाप ह्वात्तै घटेको थियो ।

तर, यसबीचमा मिसन अस्पतालले पनि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ ।

ठिक यहि बेला लुम्बिनी मेडिकल कलेजले भने बिरामी उपचारमा छुटै छुटको अफर ल्याएको छ ।

मिसन अस्पतालले गत १२ साउनमा पत्रकार सम्मेलन गरी आउँदो २१ साउन देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने एक पक्षीय घोषणा गरेको थियो । उसको एक पक्षीय घोषणाको तिब्र आलोचना समेत भएको छ ।

स्थानीय जनप्रतिनिधि देखि संघीय सांसदहरुले पाल्पामा बीमा कार्यक्रम भद्रगोल हुँदै गएको भन्दै त्यसलाई सम्हाल्न प्रमुख सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

लुम्बिनी मेडिकल कलेजले ठिक यहि बेला बिरामीलाई आफूतर्फ आकर्षित हुने गरी उपचारमा भारी छुटको घोषणा गरेको छ ।

कस्तो छ छुटको घोषणा ?

सामाजिक उत्तरदायित्व अन्तरगत भन्दै मंगलबार जारी सूचनामा  नाम दर्ता (टिकट) शुल्क, साधारण बेड शुल्क र सामान्य प्रयोगशाला जाँच (सीबीसी, ब्लड ग्रुप, ब्लड सुगर, युरिन रुटिन स्टुल रुटिन, आरएफटी)मा पुरै अर्थात सत – प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यस्तै अस्पतालमा हुने जुन सुकै अप्रेशनमा र फिजियोथेरापीमा ७५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यसैगरी  प्रयोगशाला जाँच (थाइराइड, लिपिट फ्रोफाइल) जस्ता अन्य जाँच, एक्सरे, भिडियो एक्सरे, ईसीजी र ईको जाँचमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यस्तै सीटीस्क्यान र एमआरआई जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

लुम्बिनीका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले सामाजिक उत्तरदायित्व अन्तरगर्त अस्पतालले छुट सुविधा उपलव्ध गराएको बताए ।

‘यो बर्खाको बेला छ, डेंगी, झाडापखाला जस्ता महामारी फैलन सक्ने मौसम पनि हो । आम सर्वसाधारणहरुलाई यतिवेला धेरै खालका समस्या पर्ने सम्भावना हुन्छ । यो बेलामा हाम्रो पनि दायित्व हुन्छ भनेर नै यतिवेला उपचारमा छुट दिने योजना ल्याएका हौँ,’ पोखरेलले अगाडी थपे, ‘गरीव, असाहाय तथा विपन्नका लागि यसअघि देखि नै छुट दिदै आएका पनि छौँ र ती कार्यक्रमहरु निरन्तर चलि नै रहन्छ ।’

उनले अहिलेको छुट योजना कम्तीमा एक सातासम्म चल्न सक्ने जानकारी दिए ।

तानसेनको बेसी प्रभासमा रहेको ३०० बेडको यो शिक्षण अस्पतालमा चिकित्सा शिक्षा तर्फ नर्सिङ, एमबीबीएस, पोष्टग्राजुएट्स तहको पढाई हुने गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *