नेपालमा पूर्ण स्तनपान गराउने आमाहरु ५६ प्रतिशत मात्रै, धेरै पढेकाहरुमा झन् कमी
जागिरेका आमाहरुले प्रसूतिपछि पाउँछन् ९८ दिन तलवी विदा, चिकित्सकको सिफारिसमा एक वर्षसम्म
काठमाडौँ, १७ साउन । जन्मने बित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ ।
त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको बगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ । आमाको बिगौती दूधले भविष्यमा बालबालिकाहरुलाई विभिन्न प्रकारका रोगहरुको जोखिमबाट टाढा राख्दछ र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दछ ।
शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिना सम्म आमाको दूध मात्र खुवाउनु पर्दछ । बच्चा जन्मेको ६ महिना पुरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तिमा २ बर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनु पर्दछ ।
भनिन्छ, आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । आमाको दूधमा पाइने रोगसँग लड्ने प्रतिरोधात्मक तत्व बट्टाको दूधमा नपाइने भएकाले बट्टाको दूध सेवन गर्ने शिशुहरुमा रोगसँग लड्ने क्षमताको कमी हुँदै भविष्यमा कुपोषित मात्र नभएर मोटोपना, मधुमेह लगायतका रोगहरु लाग्न सक्ने अध्ययनहरुले देखाएको छ ।
यसका साथै बट्टाको दूध सेवन गर्ने शिशुहरु भन्दा स्तनपान गर्ने शिशुहरुको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ । ६ महिनासम्म आमाको दूधमात्र खुवाउँदा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिने अन्तराष्ट्रिय जर्नल ल्यान्सेटले पुष्टि गरेको छ ।
नेपालको अवस्था भने यस्तो छ
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत रहेको छ । यस्तै शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । तर, शिशु जन्मेदेखि दुई बर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या भने ९४ प्रतिशत रहेको छ ।
सर्वेक्षणका अनुसार पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत छ । सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ ।
यस्तै सर्वेक्षणबाट पूर्ण स्तनपानको दर माध्यामिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिएको छ । न्यून आय भएका आमाहरु (६४ प्रतिशत) भन्दा उच्च आय भएका (४४ प्रतिशत) परिवारका आमाहरुले पूर्ण स्तनपान कम गराएको पाइएको छ ।
उक्त तथ्यांक अनुसार नेपालमा बोतलपान गराएका शिशुको संख्या मुलुकभर २२ प्रतिशत रहेको छ भने प्रदेशगत रुपमा बागमतीमा सबैभन्दा बढि (४३ प्रतिशत) र कर्णालीमा सबैभन्दा कम (११ प्रतिशत) रहेको देखिएको छ । ्
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ बर्ष मुनीका २५ प्रतिशत बालबालिकाहरु पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रत्तअल्पताबाट ग्रसित छन् ।
संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपुर्ण भूमिका हुन्छ ।
जागिरेका आमाहरुले प्रसूतिपछि पाउँछन् ९८ दिन तलवी विदा, चिकित्सकको सिफारिसमा एक वर्षसम्म वेतलवी विदा
जागिरे महिलाहरुका लागि कम्तीमा ६ महिना तलवी विदा दिनु पर्छ भनेर आवाज नउठेको होईन् । संसदीय समितिमा पनि यसबारेमा पटक पटक छलफल भएको छ ।
तर, अहिले कार्यान्वयनमा आएको पूर्ण स्तनपानलाई सहयोग गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले भने सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई कम्तिमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा तथा चिकित्सकको सिफारिसमा बढिमा एक बर्षसम्मको वेतलबि बिदाको व्यवस्था गरेको छ ।
त्यस्तै दफा १४ मा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको राय बमोजिम प्रजनन् स्वास्थ्य रुग्णता (मर्बिडिटी) को कारणले जटिल शल्यक्रिया गर्नु पर्ने भएमा त्यस्तो शल्यक्रिया हुनु अघि वा पछि कम्तीमा तीस दिनसम्मको तलब सहितको अतिरिक्त बिदा दिनु पर्ने व्यवस्था छ ।
यस्तै स्तनपान गराइरहेकी कामकाजी आमाहरुलाई कार्यालय समयभित्र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ (३) अनुसार स्तनपानमैत्री वातावरण श्रृजना गरी सहयोग गर्न, पुर्ण स्तनपानलाई ध्यानमा राखि प्रसूति बिदा दिने लगायतका लागि सबै सरकारी, गैरसरकारी कार्यालयहरुमाझ समन्वय, पहल, पैरवी गर्ने कार्य भइरहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]