पाल्पाको मिसन अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा

पाल्पा, १३ साउन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य वीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको छ ।  अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २१ साउन देखि लागू हुने गरी सरकारको स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय हो ।

सो अवसरमा उसले स्वास्थ्य बीमा बोर्डबाट लामो समयसम्म भुक्तानी नपाएको, सेवावापत बीमा बोर्डले दिने रकम समयअनुकुल परिमार्जन नभएको र दावी भुक्तानी गरेअनुसारको रकम नपाएको आरोप लगाएको छ ।

अस्पतालकी निर्देशक डा. रचेल कारखले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने चाहना हुँदाहुँदै पनि स्थगित गर्न बाध्य भएको बताईन् । ‘हामी यो घोषणा गर्नु पर्दा खुशी छैनौँ, दुखका साथ भन्दैछौँ कि स्वास्थ्य बीमा बोर्डको कार्यक्रम आगामी २१ साउन देखि स्थगित गर्दैछौँ ।’

उनले अहिलेको अवस्थामा वीमा कार्यक्रम स्थगित नगरे अस्पताल नै बन्द हुने अवस्थामा पुगेको बताईन् । ‘खासमा बीमा कार्यक्रममा उपचारको दर रेट निकै कम छ, उपचार पछि पुरा रकम पनि पाइदैन । र लामो समय पेमेन्ट रोकिन्छ । हामीलाई यो कार्यक्रमले निकै अफ्टेरो पारयो,’ नेपाली हेल्थसंग कुरा गर्दै उनले भनिन् ।

त्यसो त यसअघि पनि केही समय मिसन अस्पताले आंशिक तथा पूर्ण रुपमा बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । पछि बीमा बोर्डसंगको छलफलमा सहमत भएपछि पुन: सञ्चालनमा ल्याएको थियो ।

अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बीमा बोर्डले दिने विभिन्न सेवावापतको भुक्तानी अत्यन्त कम हुँदा अस्पताल नियमित सञ्चालनमा समेत अप्ठेरो परेको बताए । उनले बीमा सेवा अन्तर्गतको सेवा हाललाई स्थगित भएपनि अस्पतालले विपन्न परिवारका लागि दिने निशुल्क सेवा, तथा अन्य बिरामीका लागि दिन सहुलियतपूर्ण सेवा कायमै रहने जानकारी दिए ।

भट्टराईका अनुसार अहिले बीमा बोर्डबाट मिसन अस्पतालले पाउनु पर्ने १२ करोड बढी भुक्तानी हुन बाँकी छ । उनले बोर्डबाट बजार मुल्य अनुसारको रकम नपाउँदा र भुक्तानी दावीमा समेत ३० प्रतिशत रकम कटौती हुँदा अस्पताल नै बन्द हुने अवस्था सिर्जना भएको बताए ।

यता स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले मिसन अस्पतालले बीमा कार्यक्रम स्थगित गर्ने जानकारी आफूले पनि पाएको बताए । उनले उपचार पछिको रकम नपाएको भन्ने मिसन अस्पतालको कुरामा सत्यता नरहेको बताए ।

‘केही समय अघि मात्रे हामीले सात करोड बढी रकम सोधभर्ना दिएका छौँ । अर्को कुरा मिसन अस्पतालले बीमा बोर्डको फरम्याट भन्दा बाहिर गएर रकम भुक्तानीका लागि दावी गर्ने गरेको छ । त्यसले विगतमा केही अफ्टेरो भएको हो । सरकारी कार्यक्रमको फरम्याट अनुसार न भुक्तानी हुन्छ । यसका लागि हामीले पटक पटक सिकायौँ भन्यौ तर उसले त्यसलाई गम्भीरताका साथ लिएन,’ डा बसौलालले भने ।

मिसन अस्पतालले समेत बीमा कार्यक्रम बन्द गरेपछि पाल्पा र त्यसभेगका बीमा गरेका जनतालाई समस्या हुने भएको छ । सरकारको नीतिका कारण भन्दै लुम्बिनी मेडिकल कलेज प्रभासले गतवर्ष देखि नै बीमा कार्यक्रम रोकेको थियो ।

अर्को ठूलो अस्पताल मिसनले समेत सेवा रोकेपछि जनतालाई थप समस्या हुने भएको हो ।

जिल्लाको अर्को सरकारी अस्पताल पाल्पा अस्पतालमा भने उपचार सेवा पर्याप्त छैन् । त्यो अस्पताल बीमा गर्नेहरुको रिफर गर्ने अस्पतालको रुपमा परिचित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *