आयोगको सूचनाप्रति चारवटा परिषद्को आपत्ति, भने – ‘हाम्रो क्षेत्राधिकार हनन् भयो’
काठमाडौँ, १२ साउन । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बीचको द्धन्द्धको असर अन्य परिषद्मा पनि देखा पर्न थालेको छ । आयोगले गत ९ साउनमा सीटीईभीटीलाई लक्षित गरि प्रकाशित गरेको सूचना प्रति अरु चारवटा परिषद्ले आपत्ति जनाएका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फार्मेसी परिषद् र आयुर्वेद चिकित्सा परिषद् नेपालले चिकित्सा शिक्षा आयोगको ९ साउनमा निकालेको सूचना प्रति विरोध जनाएका हुन् ।
आज प्रकाशित चारवटा परिषद्को ध्यानाकर्षण पत्रमा ‘विद्यार्थीहरुको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायत सम्वन्धित विषयगत परिषदमा दर्ता समेत नहुने,’ भनी उल्लेख भएको प्रति असन्तुष्ट व्यक्त गरिएको छ ।
संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘विषयगत परिषदहरुमा आ आफ्नो प्रचलित ऐन र नियम अनुसार स्थापना भएको र नियम अनुसार स्थापना भएको र परिषदहरुले तोकेको मापदण्ड पुरा गरी नाम दर्ताका लागि सम्वन्धित परिषदमा आएका विद्यार्थीहरुको नाम दर्ता गर्ने अधिकार विषयगत परिषदसंग नै भएको हुँदा आयोको सूचनाले परिषदहरुको क्षेत्राधिकार हनन भएको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
चिकित्सा शिक्षा आयोगले सीटीईभीटीले प्रमाणपत्र तहका स्वास्थ्य विषय पढाईका लागि आफूखुशी कलेजलाई सम्वन्धन दिने र सीट निर्धारण गर्ने काम गरेको भन्दै आपत्ति जनाएको थियो ।
उसले सीटीईभीटीलाई ऐन विपरित काम गरेको भन्दै उसले सिट दिएका कलेजमा अध्ययन् गरी पास आउट भए पनि विद्यार्थीहरुलाई परिषद्ले नाम दर्ता नगरिदिने बताएको थियो । परिषद्हरुले हामीले गर्ने काममा आयोगले क्षेत्राधिकार भन्दा बाहिर गएर अनावश्यक चासो लिएको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]