रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभाग प्रदेश तहमा बिस्तार, बागमतीको संयोजक बने प्राडा मनोहर प्रधान
काठमाडौँ, १२ साउन । स्वास्थ्य क्षेत्रमा बेग्लै पहिचान बनाएका प्राडा मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संग आवद्ध भएका छन् । उनलाई रास्वपाले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग बागमती प्रदेश संयोजकको जिम्मेवारी दिएको छ ।
रास्वपाले बुधबार प्राडा प्रधानलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग बागमती प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । अहिले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख भने सांसद डा। तोसिमा कार्की रहेकी छन् ।
‘मैले अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएको थिएन । पछिल्लो समय स्थापित पार्टी रास्वपाको कार्यशैली र विचारले आम जनमानसको अपेक्षालाई परिपूर्ति गर्न सक्छ भन्ने लाग्यो । त्यसैले यो पार्टीमा आवद्ध भएँ । आफ्नो विज्ञता अनुसार पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागको बागमती प्रदेश संयोजक जिम्मेवारी प्राप्त गरेँ, यो जिम्मेवारीलाई प्रभावकारी ढंगले अघि बढाउने प्रयास गर्नेछु ,’ डा. प्रधानले भने ।
उनले आफ्नो विभागको प्रदेश तह विस्तार गर्ने योजनामा पार्टी रहेको र पहिलो पटक बागमती प्रदेशको संयोजक तोकिएको बताए ।
‘अहिले बागमतीको संयोजक म तोकिएको छु । यसमा नौ सदस्यीय प्रदेश समिति बन्नेछ । त्यसको खाका केही दिनमै सार्वजनिक हुनेछ,’ डा प्रधानले भने । उनले प्रदेशका १३ जिल्ला र त्यस भित्रका स्थानीय तहसम्म पुगेर संगठन विस्तार गर्ने योजना रहेको बताए ।
स्वास्थ्य विभागमा नेतृत्व आफूले पाए पनि चिकित्सक, नर्स, प्यारामेडिक्स लगायतका स्वास्थ्य सम्वद्ध सबै खाले जनशक्ति यसमा अटाउने उनले बताए ।
एमडीजीपी प्राडा प्रधानले सन् २००९ र सन् २०१३ मा नेपाल मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित भई दुई पटक कार्यभार सम्हालेका थिए । चितवनका स्थायी बासिन्दा उनी पछिल्लो समय स्वास्थ्य सेवासंगै सामाजिक सेवामा क्रियाशिल रहेका छन् ।
‘संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । तर यसको व्यवहारिक कार्यान्वयनको पक्ष हेर्ने हो भनि समस्या नै छ । रास्वपा यस्तै समस्यालाई समाधान गर्ने योजनाका साथ अघि बढेको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आम नागरिकलाई स्वास्थ्यको सहज पहुँच उपलव्ध गराउन तथा स्वास्थ्य सचेतनाका कार्य योजनावद्ध रुपमा अघि बढाउने मुख्य उदेश्य रहेको छ । विश्वले स्वास्थ्यमा कसरी फड्को मारेको छ । हामी कहाँ निर छौँ ? कहाँ निर ग्याप भयो ? यी सबैको सुक्ष्म रुपमा विश्लेषण गरी हाम्रो विभागले पार्टीलाई सुझाव दिने कार्य गर्दछ,’ प्राडा प्रधानले अन्तिममा भने, ‘यसमा मैले आफ्ना अनुभव र नेटवर्कलाई प्रयोग गरेर सकेसम्म राम्रो गर्नेछु ।’
सम्पर्क इमेल : [email protected]