स्वास्थ्यकर्मी समायोजनको समस्या समाधानका लागि सात संगठनले दिए छ बुँदे सुझाव

काठमाडौँ, ९ साउन ।  स्वास्थ्यकर्मीहरुको समायोजन मिलानका विषयमा देखिएको समस्या समाधानका लागि भन्दै स्वास्थ्य सम्वद्ध ७ वटा संगठनका प्रतिनिधिले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छ बुँदे सुझाव दिएका छन् ।

सुझावपत्र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई सम्बोधन गरि लेखिएको छ । संगठनका प्रतिनिधिहरुले आज सामुहिक रुपमा भेटेरै उनलाई यो पत्र दिने तयारीमा थिए । तर मन्त्रीले समय उपलव्ध नगराएपछि सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरि फर्केका छन् ।

सुझावमा २५ असारमा स्वास्थ्यले स्थानीय तहलाई पठाएको पत्रको बुँदा नम्बर १ ले गडबड गरेको भन्दै अर्को परिपत्र पठाउन आवश्यक भएको भनिएको छ । यस्तै समायोजन मिलान भएका तर विविध कारणले पत्र तथा रमाना नपाएका र साविककै कार्यलयमा कामकाज गर्न लगाइएको वा कामकाज गरिरहेका स्वास्थ्यकर्मीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर समेत सुझाव दिइएको छ ।

यस्तै मुल समायोजन गर्दा संघ, पुल, फाजिल भनि समायोजनको पत्र पाएका र समायोजन नभएका स्वास्थ्यकर्मीहरुलाई मन्त्रालयले नै एकमुष्ट दरबन्दी सृजना गरि कामकाजमा खटाउने व्यवस्था गर्नु पर्ने, कामकाज र काज फिर्ता सम्वन्धी निर्णय कार्यान्वयन सबै तहमा एक समान हुनुपर्ने । यसको व्यवस्थापनको लागि मन्त्रालयले कार्यदल बनाई जिम्मेवारी तोक्न समेत भनेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक गौतमले बताए ।

संयुक्त सुझाव पेश गर्ने संगठनहरुमा महासंघ सहित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल, नेपाल स्वास्थ्य प्राविधिक संघ, मधेशी स्वास्थ्यकर्मी फोरम संगठन, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल नर्सिङ संघ रहेका छन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *