भीआईपी तथा भीभीआईपीको उपचार गर्न विशेषज्ञ चिकित्सक सम्मिलित समिति गठन, १५ जना विशेषज्ञ चिकित्सक तोकियो
काठमाडौँ, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले देशका विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समिति गठन गरेका छन् ।
वीर अस्पतालमा थप तीन शैय्याको भीआईपी तथा भीभीआईपी कक्ष थपिएकै बेला मन्त्री बस्नेतले त्यस कक्षमा गएर उपचार गर्ने विशेषज्ञ टोली गठन गरेका हुन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा १५ सदस्यीय भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समिति गठन गरेका छन् ।
सो समितिमा केही सरकारी अस्पतालमा कार्यरत, केही सरकारी अस्पतालबाट अवकाश लिएका र केही निजी अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सक राखिएको छ ।
मन्त्रीको सचिवालयका अनुसार प्राडा बस्नेतको संयोजकत्वमा गठित समितिको सदस्यमा डा किरण श्रेष्ठ, डा ध्रुब गैरे, डा. रविराम श्रेष्ठ रहेका छन् । यस्तै प्राडा शैली प्रधान, प्राडा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी, प्राडा. सुभाष आचार्य, र डा सुन्दुक रुइत रहेका छन् ।
यसैगरी प्राडा. शशी शर्मा, प्राडा. रत्नमणि गजुरेल, प्राडा। भोला रिजाल, प्राडा. मनबहादुर केसी र डा. रमेश चोखानी रहेका छन् ।
यो समितिले उपचारका क्रममा आवश्यकता अनुसार थप विशेषज्ञ चिकित्सकको पनि सहयोग लिन सक्ने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]