राष्ट्रपतिको उपचार खर्च सरकारले ब्यहोर्ने कानूनी ब्यवस्था छ : उपप्रधान एवं रक्षा मन्त्री खड्का
काठमाडौँ , ८ साउन । उपप्रधान एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय नियम संगत भएको बताएका छन् । पार्टीको केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकमा जवाफ दिने क्रममा पार्टीका उपसभापति समेत रहेका खड्काले राष्ट्रपतिको उपचारको विषय निकाले हुन् ।
‘यही अवसरमा राष्ट्रपतिको उपचारको खर्च व्यहोर्ने बारेमा सरकारले गरेको निर्णयको बारेमा पनि भन्न चाहन्छु । किनभने सामाजिक सञ्चाल तथा मिडियाहरुमा यो विषय उठेको देखियो । कुरा के हो भने राष्ट्रपतिको उपचारका लागि सरकारले खर्च व्यहोर्ने कानूनी व्यवस्था नै रहेछ । परिवारको तीन सदस्यसहित बिरामी राष्ट्रपतिको सम्पूर्ण उपचार खर्च सरकारले व्यवहोर्न सम्वन्धमा संसदले छुट्टै कानून बनाएको रहेछ । त्यसैलाई टेकेर हामीले निर्णय गरेका हौँ । अरुको हकमा बाहिर गएर उपचार गरेको खर्च दिन अलि नमिल्दो रहेछ । तर राष्ट्रपतिको हकमा भने छुट्टै ऐन नै रहेछ । उपचार खर्च निकै कम भए पनि एयर एम्बुलेन्समा लैजाँदा केही बढी खर्च आएको हो,’ उनले प्रतिरक्षा गर्दै भने ।
गत १२ असारको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलको भारतमा गरिएको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । उपचारको संयोजन गरेको परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च भुक्तानीका लागि भन्दै ५५ लाख २ हजार २७९ रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएको छ ।
बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पौडेल भारत उपचारका लागि आफ्नो र परिवारको कारणले नगएको ठोकुवा गरे ।
‘उहाँको अवस्था अलि गम्भीर छ भने पछि सबैभन्दा पहिले म भेटन गएको थिएँ । त्यसपछि प्रधानमन्त्री पनि जानु भयो । हामीले डाक्टरसंग सल्लाह गर्दा भारत लैजान ठिक भन्ने निष्कर्ष निस्कियो । बरु राष्ट्रपति ज्यूले त जान मानि राख्नु भएको थिएन । प्रधानमन्त्री ज्यू र मैले तत्कालै मुख्य सचिवलाई फोन गरेर भारत उपचारको प्रवन्ध मिलाउन भन्यौँ र अर्को दिन दिल्ली लगेको हो,’ खड्काले उपचार बारेमा बेलिविस्तार लगाए ।
दिल्लीबाट फर्केपछि राष्ट्रपतिको सचिवालयले उपचार खर्च आफैले व्यहोर्न चाहेको बताएको थियो ।
तर, केही साता पछि उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको सार्वजनि भएपछि राष्ट्रपति र सरकारको आलोचना भएको थियो ।
सम्पर्क इमेल : [email protected]