अनुगमनका लागि ललितपुरका फार्मेसीमा पुगे स्वास्थ्य मन्त्री बस्नेत, टोलीले के देखे ? निर्देशनमा के लेखे ?

काठमाडौँ, ८ साउन ।  कहिले विभाग र कहिले अस्पतालको आकस्मिक अनुगमनमा निस्कने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सोमबार फार्मेसी अनुगमनमा निस्किए ।

उनी आफूले एक टोली मात्रै लिएर निस्किएनन्, काठमाडौँ उपत्यमामा २० वटा टोली तयार गरे र देशका सबै जिल्लामा स्थानीय प्रशासन तथा स्वास्थ्य कार्यालयलाई अनुगमन गर्न निर्देशन दिए ।

७७ वटै जिल्लामा गरिएको अनुगमनमा के पाइयो? यसको रिपोर्ट कम्पाइल गर्न केही लाग्ने मन्त्री स्वयंले बताएका छन् । उनी आफैले गरेको ललितपुरको निरीक्षणका क्रममा के के देखियो भनेर भने बताएका छन् ।

मन्त्री बस्नेतको टोलीले सोमबार फार्मेसी अनुगमन गर्दे दर्ता भएकोरनभएको सम्बन्धित फार्मासिस्ट बसेरनबसेको ? म्याद सकिएको औषधिहरुको व्यवस्थापन लगायतका फार्मेसीमा हुनु पर्ने न्युनतम मापदण्ड छ कि छैन लगायतका विषयहरुको निरीक्षण गरेको थियो । उनीसंगै विभागका महानिर्देशक नारायण ढकाल र केही फार्मेसी निरीक्षकहरु सहभागी थिए ।

उनको टोलीले एकान्तकुनाको सेवा हेल्थ केयर प्रालिको फार्मेसी युनिट, पाटनको टाइम मेडिकल फार्मेसी, र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको विल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको थियो ।

जावलाखेलस्थित अल्का अस्पतालले भने फार्मेसीको न्युनतम सेवा मापदण्ड पालना गरेको पाइएको टोलीका सदस्यले बताए । ‘तुलनात्मक रुपमा यो फार्मेसी व्यवस्थित र राम्रो रहेको पाईयो,’ उनले भने ।

फार्मेसीको निरीक्षणपछि स्वास्थ्यमन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताए। गल्ती गर्ने फार्मेसीका विषयमा बेलुका मन्त्रालय र विभागसहितको टोलीले आवश्यक कारवाहीको निर्देशन दिने समेत जानकारी दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्‍याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरे नगरेको हेर्न निस्किएको भन्दै सबै टोलीले पठाएको रिपोर्टपछि अन्तिम निस्कर्ष निस्कने बताए ।

‘प्रारम्भिक रुपमा भन्नुपर्दा कतिपय फार्मेसीहरु राम्रैसंग चलेका पनि रहेछन् । कतिपयले बदमासी गर्न खोजेको पनि भेटियो । त्यस्ता फार्मेसीलाई विभागले आवश्यक निर्णय लिन्छ,’ उनले भने ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा लागुऔषध ब्युरोका प्रतिनिधि, विभागका कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *