भीआईपी र भीभीआईपी क्याविन थप्दै वीर अस्पताल
काठमाडौँ, ८ साउन । वीर अस्पतालमा विशिष्ठ र अति विशिष्ठ (भीआईपी तथा भीभीआईपी) व्यक्तिको उपचारका लागि थप तीनवटा क्याविन थप्दैछ । अहिले वीरमा एउटा भीआईपी र एउटा भीभीआईपी क्याविन रहेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले नयाँ सर्जिकल भवनमा एउटा भीभीआईपी र दुईवटा भीआईपी कक्ष थप्न लागिएको जानकारी दिए । उनले भीआईपी कक्षको शुल्क प्रतिदिन पाँच हजार तोकिए पनि भीभीआईपी कक्षको शुल्क विषयमा थप निर्णय गर्ने तयारीमा रहेको सुनाए ।
‘अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीरको सेवा सर्वसाधारण देखि भीभीआईपी सम्म पुर्याउने योजना अनुसार कक्ष थप्न लागिएको बताए । ‘वीरलाई हरेक हिसावले सुधार गर्दैछौँ । अब भीआईपी तथा भीभीआईपीको उपचारको व्यवस्था पनि यहाँ मिलाउँदै छौँ,’उनले भने ।
वीरमा अहिले तयारी अवस्थामा एक एक वटा भीआईपी र भीभीआईपी कक्ष पुरानो भवनमा रहेका छन् । तर ती कक्षहरुको प्रयोग राम्ररी हुन सकेको छैन् ।
भीआईपी कक्षमा बहाल रहेकै बेला पूर्व स्वास्थ्य मन्त्री भवानी खापुङ, पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भर्ना भई उपचार गराएका थिए । यस्तै पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पनि केही वर्ष अघि यहाँ भर्ना भएर उपचार सेवा लिएका थिए ।
तर, भीभीआईपीमा भर्ना नै भएर उपचार सेवा लिन आएका छैनन् ।
‘कन्सलटेसन र स्वास्थ्य परीक्षणका लागि पूर्व राष्ट्रपतिहरु आउनु भयो । तर भर्ना नै हुने आउनु भएको छैन,’ उपकुलपति प्राडा बस्नेतले पुन: थपे ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले भीआईपी र भीभीआईपीहरुलाई बीरमै उपचार गर्ने व्यवस्था मिलाउने बताउँदे आएका छन् । ‘वीरमा स्रोत साधन सम्पन्न जनशक्ति पनि भएको अवस्था छ । भीआईपी र भीभीआईपीको नाममा व्यक्तिहरु सामान्य उपचारको लागि बाहिर जाने प्रचलन बढेको छ । यसलाई रोक्ने भनेर मन्त्री ज्यू लाग्नु भएको छ,’ उपकुलपति बस्नेतले भने ।
उनका अनुसार मन्त्री बस्नेतले विभिन्न अस्पतालका विशेषज्ञ डाक्टरहरु सम्मिलित छुट्टै टिम बनाएर भीआईपी तथा भीभीआईपीको उपचारका लागि प्रवन्ध गर्ने योजनामा छन् ।
वीर अस्पतालका अस्पताल प्रशासन शाखा प्रमुख सागर मिश्रले नयाँ कक्ष बनाउने तयारीको काम अन्तिम चरणमा पुगेको बताए । ‘क्याविनको फिनिसिङको काम चल्दैछ । अबको एक दुई दिनमा तयार हुन्छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]