पूर्व राष्ट्रपति डा. यादवले जब सम्झिए पेटस्क्यान मेसिन खरीदको कुरा….
'बर्षेनी बजेट छुट्याउँदा १० वर्षमा एउटा मेसिन खरीद गर्न सकिदैन् हामी कस्तो शासन प्रशासनमा छौँ ?'
काठमाडौँ, ३१ असार । गत शुक्रबार त्रिभुवन विश्वविद्यालय सुरेश वाग्ले क्यान्सर सेन्टरका प्रमुख समेत रहेका प्राडा वाईपी सिंहद्धारा लिखित ‘क्यान्सर के, किन, कसरी ?’ नामक पुस्तक लोकार्पण समारोह भएको थियो । उक्त समारोहमा प्रमुख अतिथि थिए नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव ।
लोकार्पण पछि पूर्व राष्ट्रपति डा. यादव पुस्तक र त्यसमा लेखिएका क्यान्सरका विषयमा आफ्नो मन्तव्य राख्न अघि सरे । उनले आफ्नो विगत सम्झिए, डाक्टर भए पनि चिकित्सकीय प्राक्टिस गर्न नपाएको सुनाए ।
‘चिकित्सा शिक्षा अध्ययन्का लागि लामो समय खर्चिए पनि मैले १० बर्ष जति मात्रै चिकित्सा सेवामा आफू क्रियाशिल राख्न पाएँ । त्यसपछि राजनीतिमा लागियो । पछि स्वास्थ्य मन्त्री भइयो, त्यसबेला पनि स्वास्थ्यलाई नजिकबाट हेरियो । केही नीतिगत कामहरु गरियो,’ उनले भने ।
त्यसपछि निकाले क्यान्सरको प्रसंग ।
उनले आफू पनि क्यान्सर पिडीत भएको सुनाए ।
डा. यादवलाई सात वर्ष अघि प्रोष्टेड क्यान्सर भएको पत्ता लागेको थियो । उनले भारत र अमेरिकामा उपचार पछि अहिले आफू ठिक भएको बताए । ‘सात वर्ष भयो क्यान्सर उपचार गराएको अहिले ठिक छु उनले सुनाए । त्यसक्रममा उनले भने समयमै पत्ता लाग्यो भने क्यान्सर रोग कुनै ठूलो समस्या होईन । ढिला हुँदा समस्या हुने हो,’उनले भने ।
पूर्व राष्ट्रपति डा यादवले त्यसपछि निकाले पेटस्क्यानको कुरा ।
‘देशको पहिलो राष्ट्रपतिले चासो राखेर क्यान्सर उपचारका लागि एउटा मेसिन खरीद गर्नका लागि दिइएको निर्देशन सरकारले दश वर्षमा पनि पुरा गर्न सकेन । हामी कुन शासन व्यवस्था र प्रशासनबाट चलेको छौँ ?’ प्रतिप्रश्नका साथ उनले गुनासो पोखे ।
विसं २०७० असारको पहिलो साता पेटमा कालो दाग देखिएपछि त्यसबेला राष्ट्रपति रहेका डा. यादवलार्य क्यान्सरको आशंकामा थप उपचारका लागि भन्दै जापान लगिएको थियो । जापानस्थित टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा पेटस्क्यान गरेपछि उनमा क्यान्सर नभएको पुष्टि भएको थियो ।
जापानबाट फर्केलगत्तै उनले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र स्वास्थ्य मन्त्री विद्याधर मल्लिकलाई पेटस्क्यान मेसिन खरीद गर्न विशेष निर्देशन दिएका थिए । सोहीअनुसार भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा राख्ने गरी पहिलो वर्ष अर्थात् आर्थिक वर्ष ०७०/७१ मा १६ करोड रुपैया, आव ०७१/७२ मा ४५ करोड र आव ०७२/७३ मा पुन: ४० करोड रुपैयाँ विनियोजन थियो ।
तर, हरेक वर्ष स्पेसिफिकेसनमा गडबढी, उजुरी र मुद्धामामिलामा अल्झिने सरकारले खरीद गर्नै सकेन । बरु त्यसपछिका केही वर्ष पेटस्क्यानको लागि बजेट छुट्याउनै छाडिदियो ।
यसपटकको बजेट भाषणमा भने अर्थमन्त्री डा प्रकाशशरण महतले पेटस्क्यान खरीदका लागि आवश्यक बजेट विनियोजन गरेको छु भनेर संसदलाई जानकारी गराएका छन् ।
पूर्व राष्ट्रपति यादवले पेटस्क्यान खरीद गर्न दिएको प्रसंगलाई पुन: जोडे । २०७० सालको असारमा अलि बढी पखला लाग्यो, यहाँ परीक्षण गर्दा पेटमा कालो दाग जस्तो देखियो । चिकित्सकले क्यान्सरको आशंका जनाए पेटस्क्यान गर्नुपर्ने बताए । संविधानको बनाउने बेला थियो । भारत र अमेरिकामा गए उपचार भन्दा पनि राजनीतिक शंका हुने अवस्था थियो । बरु नेपालका लागि न्युटल देखिएको जापानमा जाने भन्ने सल्लाह भयो र त्यसतर्फ गएँ । पेटस्क्यान गराएँ । समस्या रहेनछ । यति एउटा मेसिन नहुँदा जापान जानु परेको थियो । फर्किए लगत्तै त्यसबेला मन्त्रिपरिषद्का अध्यक्ष हुनुहुन्थ्यो खिलराज रेग्मी उहाँलाई बोलाएँ , स्वास्थ्य मन्त्री विद्याधर मल्लिक तथा सचिवहरुलाई बोलाएर यो मेसिन तत्काल ल्याउने व्यवस्था मिलाउनु भने । उहाँहरुले पनि ‘हस’ भन्नु भयो र बजेट विनियोजन गरेको सुनाउनु भयो । पहिलो बर्ष प्रक्रियामा केही ढिलाई भयो भनियो । दोस्रो वर्ष बजेट बढाइयो, सो वर्ष पनि सकिएन, तेस्रो वर्ष पनि बजेट बढाइयो सो वर्ष पनि सकिएन । त्यसपछि त के के भयो थाहा भएन । तर १० वर्षसम्म राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्षले त्यसबेला चासो लिएको मेसिन आएको छैन् । हामी कुन शासन व्यवस्थाबाट अघि बढेका छौँ ?’ अन्तिममा प्रश्न गर्दै उनले पेटस्क्यान खरीदको बेलिविस्तार लगाए ।
पूर्वराष्ट्रपति डा यादव यतिमै रोकिएनन् । उनले अगाडी थपे, ‘पेटस्क्यानकै लागि नेपालबाट दैनिक पचासौँ केश भारत पुगेको हुन्छ । लाखौँ करोडौँ रुपैयाँ बाहिरिएको हुन्छ । स्वास्थ्य उपचारका लागि अति जरुरी भनिएको एउटा मेसिनका लागि राज्यको सबैभन्दा माथिल्लो निकायले चासो राखेर बजेट छुट्याउँदा समेत खरीद हुन सक्दैन् । केले यस्तो हुन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने ।
डा यादवले नेपालका पछिल्ला सरकार प्रमुखहरु प्रति पनि कटाक्ष गरे ।
‘म पछिका राष्ट्रपति प्रधानमन्त्रीहरु पनि बिरामी भइरहनु भएको छ । उपचारका लागि शिक्षण अस्पताल गइरहनु हुन्छ । त्यसबेला अस्पताललाई सुविधा सम्पन्न गर्ने कुरा पनि गर्नुहुन्छ सायद तर बालुवाटार पुग्दा विर्सनु हुन्छ । समस्या यहि हो । नेपालको पहिलो राष्ट्रपति म आफैले विशेष चासो राख्दा सरकारले १० वर्षमा एउटा मेसिन ल्याउन सकेन । यो हामी नेपालीको लागि विडम्बनाको कुरा हो ।’
डा यादवले नसर्ने रोगले विकराल रुप लिए पनि यो मुद्धा राजनीति दलको चासोमा नपरेको बताए ।
‘स्वास्थ्यका मुद्धामा नेताहरु कहिल्यै छलफल गरेको देख्नु भएको छ ? विवाद गरेको देख्नु भएको छ ? छैन । किनभने यो विषय कसैको चासोमा नै छैन् । स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा चासो नभएपछि एउटा अत्यन्त जरुरी मेसिन खरीद गर्न १० बर्षमा पनि सकिदैन्, यो दुखको कुरा हो ।’
उनले नसर्ने रोग तथा क्यान्सरको बारेमा विद्यालय तहबाट पाठ्यक्रममा राखेर जनचेतना अभिबृद्धि गर्नु पर्ने बताए ।
सम्पर्क इमेल : [email protected]