बहिरा व्यक्तिका लागि दोभाषे राखेर स्वास्थ्य सेवा दिने तयारीमा ‘क्लिनिक वान’
ललितपुर । जावलाखेलस्थित क्लिनिक वानमा अब बहिरा तथा कम श्रवणशक्ति भएका व्यक्तिको उपचार सहज हुने भएको छ । क्लिनिक वान ले बहिरा तथा कम श्रवणशक्ति भएका व्यक्तिलाई दोभाषेको सहायतामा स्वास्थ्य सेवा प्रदान गर्ने भएपछि उपचारमा सहज हुने भएको हो ।
सेवा सहज बनाउने विषयमा विहीबार क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघबीच सम्झौता भएको छ।
श्रवणशक्ति नभएका, गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिका क्लिनिक वान उपलब्ध स्वास्थ्य सेवाहरु सहुलीयत तथा निःशुल्कसम्म उपलब्ध हुने क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार २०७२ सालमा स्थापना भएको यस संस्थाले त्यसको २ वर्षपछि बहिरा तथा कम श्रवणशक्ति भएका व्यक्तिलाई निस्शुल्क उपचार गर्न सुरु गरेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा शिविर चलाउनु भन्दा फरक काम गरौँ भन्ने लागेर अपांगता भएका व्यक्तिलाई सेवा दिने निर्णय गरेको प्रबन्ध निर्देशक पौडेलले बताए । तर त्यो बेला सेवा त्यति प्रभावकारी हुन सकेन । स्थायी रुपमा दोभाषे नराखिएको, बिरामीको कुरा चिकित्सकले नबुझ्ने, कतिपय अवस्थामा दोभाषेले समेत कुरा नबुझ्ने जस्ता समस्या भएपछि रोकिएको थियो ।
तर अहिले भने राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघसँगको सम्वन्वयमा नयाँ तरिकाले कार्यक्रम ल्याइएको उनको भनाई छ । पौडेलका अनुसार अहिले क्लिनिकमा बहिरा तथा कम श्रवणशक्ति भएका बिरामी पुग्दा ढोकैमा दोभाषेले रिसिभ गर्छन् ।
त्यसपछि दर्ता प्रक्रिया पूरा गरी उपचारका लागि चिकित्सकसम्म पुर्याउने र उनीहरुको समस्या चिकित्सकलाई सुनाउन मद्दत समेत गरिदिन्छन् ।
बहिरा तथा कम श्रवणशक्ति भएका व्यक्तिको उपचारमा यस्तो प्रयासको सुरुवात क्लिन वानले गरेको पौडेललको दावी छ । अन्य स्वास्थ्य संस्था तथा अस्पतालहरुले पनि उपचारमा दोभाषेको व्यवस्था गर्नसके राम्रो हुने उनको भनाई छ ।
पौडेलका अनुसार बहिरा विरामीका लागि दोभाषेको व्यवस्थासँगै उपचारमा सेवा तथा अवस्था अनुसार १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । क्लिनिक वानका सेवामा ३५ प्रतिशत, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, औषधि र खोपमा १० प्रतिशत, संघको सिफारिस पत्र लिएर आएमा १०० प्रतिशत छुट हुने पौडेलले जानकारी दिनुभयो।
क्लिनिक आउँदा अघिल्लै दिन नाम दर्ता गराएर समय लिएर आउनुपर्ने र सरकारले जारी गरेको आपांगता सम्बन्धी कार्ड पनि लिएर आउने पर्ने डा. पौडेलले बताए । १०० प्रतिशत छुटका लागि राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघको सिफारिस लिएर आउनु पर्ने छ ।
क्लिनिकमा पहिले सम्पर्क गरी दिएको समयमा मात्रै आउन भनिएको छ । फोन तथा वाट्सएम, भाइबर लगायतमार्फत दर्ता गर्न आग्रह गरिएको छ ।
क्लिनिकले आकस्मिक सेवा नदिने भएकाले त्यस्तो अवस्थामा नआउने पनि पौडेलको आग्रह छ ।
३ दर्जन बढी विशेषज्ञ चिकित्सकबाट विभिन्न विशेषज्ञ सेवाहरु उपलब्ध हुने जानकारी प्रबन्ध निर्देशक पौडलले बताए ।
राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघककी अध्यक्ष लक्ष्मी देवकोटाले बहिरा व्यक्तिलाई स्वास्थ्य परीक्षण गराउन धेरै समस्या पर्दै आएको भन्दै
क्लिनिक वान र संघबीचको यो सम्झौताले आगामी दिनमा बहिरा व्यक्तिको उपचारमा सहज बताईन् ।
सो अवसरमा सम्यक डायग्नोसिस प्रालिका अध्यक्ष डा. केयुर गौतमले नयाँ प्रयास गरेको भन्दै क्लिनिक वानप्रति आभार प्रकट गरे । उनले
दोभाषेबिना उपचारमा जाँदा बहिरा व्यक्तिलाई के भएको हो स्पष्ट नहुने र सही उपचार नहुने समस्या रहेको बताए ।
‘हाम्रो पाँच इन्द्रीय हुन्छन् । सबै इन्द्रीय ठिक भएको व्यक्तिलाई त मनका कुरा बोल्न गाह्रो हुने अवस्थामा नभएकालाई कस्तो होला ? डा गौतमले भने ।
क्लिनिक वानका सिइओ रघु रानाले अहिले जावलाखेलमा मात्रै लागू गरिएको यो कार्यक्रम सफल हुँदै गएमा भक्तपुर र उपत्यकाबाहिर पनि लैजाने जानकारी दिए ।
नेपालमा कुल जनसंख्याको २.२ प्रतिशत अपाङ व्यक्तिहरु छन् । त्यसमध्येको ७ प्रतिशत कान नसुन्ने व्यक्ति रहेको राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको दावी छ ।
सम्पर्क इमेल : [email protected]