भक्तपुर क्यान्सर अस्पतालको निर्देशक परिवर्तन गर्ने स्वास्थ्य मन्त्रीको निर्णयविरुद्ध सर्बोच्चको अन्तरिम आदेश
काठमाडौँ, २७ असार । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णयलाई सर्र्बोच्च अदालतले तत्कालका लागि अंकुश लगाईदिएको छ । सर्बोच्चले १९ असारमा गरेको निर्देशक परिवर्तन सम्वन्धी निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्बोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज निर्देशक परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश र परिवर्तन गर्ने निर्णयको बारेमा कारण देखाउ आदेश जारी गरेको हो ।
स्वास्थ्य मन्त्री बस्नेतले गत १९ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै भक्तपुर अस्पतालको निर्देशक परिवर्तन गरेका थिए । उनले त्यहाँ कार्यकारी निर्देशक रहेका प्राडा विष्णुद्धत्त पौडेललाई मन्त्रालयमा काज तानेर डा उज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाएका थिए ।
कार्यकारी निर्देशकको चार वर्षे कार्यकालका लागि अढाई वर्ष अघि मन्त्रिपरिषद्बाट नियुक्ती पाएका प्राडा पौडेलले मन्त्रीस्तरीय निर्णयलाई चुनौती दिदै गत २२ असारमा सर्बोच्चमा रिट दायर गरेका थिए ।
‘त्यसको सुनुवाई आज भयो र मेरो पक्षमा अन्तरिम आदेश तथा मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश जारी भएको छ । अब सर्बोच्च आदेश पत्र लिएर हाजिर हुन जान्छु,’ प्राडा पौडेलले नेपाली हेल्थसंग भने ।
डा पौडेललाई १८ मंसिर २०७७ मा बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशकमा नियुक्ती गरेको थियो । नियुक्ती पत्रमा उनको कार्यावधी ४ बर्षको भनिएको थियो ।
सम्पर्क इमेल : [email protected]