स्वास्थ्य मन्त्री बस्नेतको विवादास्पद अभिव्यक्ति प्रकरण:

राष्ट्रिय चिकित्सक संघले माग्यो राजिनामा, प्रगतिशील चिकित्सक संघले अभिव्यक्ति फिर्ता

काठमाडौँ, २७ असार ।  स्वास्थ्य मन्त्री मोहनबहादुर बस्तेनले सोमबार गरेको पत्रकार सम्मेलनमा दिएको ‘डोरी दिएर झुण्डिन पठाउनु’ भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय चिकित्सक संघले विरोध जनाएको छ । उसले मन्त्रीको उक्त अभिव्यक्ति गैरकानूनी र आपत्तीजनक भएको भन्दै भत्सर्ना गरेको छ ।

संघका अध्यक्ष डा. पुष्पमणि खरालले जारी गरेको विज्ञप्तीमा नेपालको संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक तथा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को व्यवस्था विपरितको कसुर हुने गरी आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति आएको भन्दै पदबाट राजिनामा समेत माग गरेको छ ।

उता नेपाल प्रगतिशील चिकित्सक संघले पनि स्वास्थ्यमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भन्दै पदको जिम्मेवारी, गरिमा र मर्यादा विपरित रहेको समेत टिप्पणी गरेको छ । उसले यो आपत्तिजनक अभिव्यक्ति फिर्ता लिई कुनै पनि आत्महत्याको अभिव्यक्तिलाई संवेदनशीलताका साथ लिन जरुरी छ भन्ने सन्देश प्रवाह गर्न समेत माग गरेको छ ।

प्रगतिशील चिकित्सक संघका अध्यक्ष डा मधुर बस्नेत र महासचिव डा मधु न्यौपानेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विश्वव्यापी अध्ययनहरुले कुनै पनि आत्मत्याको अभिव्यक्तिका पछाडी गम्भीर समस्या वा मनोरोग हुने सम्भावना प्रवल हुने तथ्य स्थापित गरेको भन्दै हामी कसैले कुनै पनि आत्महत्याका अभिव्यक्तिलाई अत्यन्त गम्भीरताका साथ लिनु जरुरी हुन्छ ।’

गत सोमबारको पत्रकार सम्मेलनमा कर्मचारी समायोजन तथा सरुवाको प्रशंग निकाल्दै मन्त्री बस्नेतले एक कर्मचारीले ‘सरुवा गरिदिए आत्महत्या गर्छु भनेको र आफूृले आत्महत्या गर्छु भन्नेलाई डोरी किनेर झुण्डिन पठाइदिनु’ भनेको बताएका थिए । सो अभिव्यक्ति प्रति मन्त्री बस्नेतको चौतर्फी आलोचना भएको छ ।

 

#स्वास्थ्य मन्त्री बस्नेतको विवादास्पद अभिव्यक्ति, ‘आत्महत्या गर्छु भन्नेलाई डोरी दिएर झुण्डिन पठाउनुस्’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *