सीता दाहालमा आज विहान देखि मुटु र स्वास प्रश्वासमा समस्या देखियो : प्रधानमन्त्रीका निजी चिकित्सक शर्मा

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको आज विहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि परिवारले विहान ८ बजे नर्भिक अस्पताल पुर्‍याए पनि ८ : ३३ बजे चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।

प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राडा युवराज शर्माले विहान देखि स्वास्थ्यमा थप समस्या पैदा भएर ६९ वर्षीया श्रीमती दाहालको दिन भएको बताए । ‘आज विहान देखि उहाँमा मुटु र स्वासप्रश्वास समस्या आयो । हामीले सक्दो प्रयास गरयौँ तर बचाउन सकेनौँ,’ नेपाली हेल्थसंग उनले भने ।

‘विहान देखि मुटुको धडकन् कमजोर हुँदै हुँदै गएर मुटुले काम गर्न छोडेको हो । स्वासप्रश्वासमा पनि अलिकति काम गर्न कम हुँदै गएर आएको समस्या हो । हामी यसलाई कार्डियो रेस्परेटरी भन्छौँ । सामान्य अर्थमा दुबै अंगहरु विस्तारै सिथिल हुँदै गएर काम गर्न छाडेको अवस्था हो । उहाँलाई ८ बजे अस्पताल ल्याई पुरयाइएको थियो, अनेक प्रयास गर्दा पनि सफल नभएपछि ८ : ३३ बजे निधन भएको घोषणा गरेका हौँ,’ उनले थप स्पष्ट पार्दै भने ।

विसं २०७४ साल मंसिर ३ गते प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको थियो । त्यसदिन विहान सुत्ने कोठामा अचेत अवस्थामा भेटिएका प्रकाशलाई नर्भिक पुरयाईए पछि मृत घोषणा गरिएको थियो । त्यसबेला चिकित्सकहरुले उनलाई सडन कार्डियाक एरेष्ट (आकस्मिक हृदयघात)बाट मृत्यु भएको बताएका थिए ।

त्यसबेला देखि सीता अस्वस्थ भएकी हुन् । उनलाई खासगरी प्रोग्रेसिप सुपर न्युक्लियर पाल्सी भनिने एक खालको पार्किन्सन्स रोगले च्याप्दै गएको थियो । उनको उपचार नेपाल साथै सिंगापुरको अस्पतालमा पनि गरिएको थियो । तर निको हुन सकिरहेको थिएन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *