पाठेघर तथा स्तन जाँच गर्न पालुङटार पुगे पाटनका चिकित्सक

 

काठमाडौँ, २६ असार । नेपालमा क्यान्सर रोग उपचारको क्षेत्रमा सुपरिचित नाम हो डा. अरुण शाही । उनी यतिवेला पाटन अस्पतालका चिकित्सक तथा त्यहाँ चिकित्सा विषय अध्ययन गरेका विद्यार्थी लिएर गोरखाको पालुङटार पुगेका छन् ।

एमबीबीएस अन्तिम बर्षका केही विद्यार्थीहरुलाई समुदायसंग जोड्न पालुङटार लिएर गएका डा. शाहीलाई त्यहाँको अस्पतालले प्रस्ताव राखिहाल्यो, ‘तपाईँ आएको बेला यस क्षेत्रका महिलाहरुको स्तन र पाठेघरको जाँच गर्न पाए कसो होला ?’

देशका विभिन्न स्थानमा शिविर गर्दै पुगेका डा शाहीका लागि यो अफ्टेरो विषय थिएन । उनले ‘हुन्छ’ भने । उनको स्विकृतिपछि आँप पिपल अस्पतालले आज पाठेघर तथा स्तनको निशुल्क जाँच गर्ने शिविरको आयोजना गर्‍यो ।

विहान ८ देखी अपरान्ह ५ बजेसम्म चलेको शिविरमा झण्डै २०० जना महिलाहरु सेवा लिनका लागि उपस्थित थिए ।

‘हामीले स्तन र पाठेघरको जाँच गरेका हौँ । महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिम भएकोले यो जाँच गर्नु जरुरी छ । आज हामीले पालुङटार अस्पतालमा यहि जाँच गरयौँ,’ डा शाहीले भने ।

उनका अनुसार शिविरमा आउनेमध्ये ७२ जनाको प्यापेस्मेयर टेष्ट गरिएको थियो । २० जनाको भिआईए टेष्ट गरिएको थियो । शिविरमा जाँच गराउन २० देखि ८५ वर्ष उमेर समूहका महिला आएका थिए । तर आफूले जोखिमपूर्ण उमेर समूह २१ देखि ६५ वर्ष भित्रकाहरुलाई मात्रै जाँच गरेको डा शाहीले बताए ।

पाठेघर तथा स्तन जाँचका लागि पाटन अस्पतालबाट गएकी स्त्रीरोग विशेषज्ञ डा. अल्का यादव, एमबीबीएस अन्तिम बर्षका ८ जना विद्यार्थीहरु समेत खटिएका थिए । यस्तै आँपपिपल अस्पतालका मेसु सन्नीकुमार साहको नेतृत्वमा स्थानीय स्वास्थ्यकर्मीहरु पनि खटिएका थिए ।

सो अवसरमा डा शाही नेतृत्वको टोलीले महिलाको स्तन परीक्षण गर्दै आफै स्तन परीक्षण कसरी गर्ने भन्ने विषयमा समेत प्रशिक्षण गराएको थियो ।

‘स्तन क्यान्सरबाट जोगिनका लागि महिलाले आफै स्तन परीक्षण गर्न सक्छन् । महिनावारी हुने महिलाहरुले महिनावारी भएको ५ देखि ७ दिनमा, गर्भवती भएका तथा महिनावारी हुन छाडेका महिलाहरुले ठिक एक महिनाको अन्तरमा यो जाँच गर्नु पर्छ,’ उनले प्रशिक्षण कार्यक्रममा भनेका थिए ।

डा शाहीले आजको शिविरमा जाँच गर्दा ७ जना महिलाहरुको स्तनमा गिर्खा भेटिएको बताए । उनले त्यो गिर्खाको थप परीक्षण तथा उपचार गर्न पाटन अस्पताल बोलाइएको समेत बताए । उनले प्यापेस्मेयरको रिपोर्ट दुई साता पछि आउने र भिआईएमा सबैको रिपोर्ट नेगेटिभ भएको समेत सुनाए ।

आँप पिपल अस्पतालमा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, उपमेयर बन्दना पाण्डे, पालुङटार ३ का वडा अध्यक्ष रविन्द्र अधिकारी, आँपपिपल अस्पतालका सदस्य समेत रहेका स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनीको उपस्थिति थियो । सो अवसरमा उनीहरुले पाटन देखी पालुङटारसम्म आएर महिलाहरुको स्तन तथा पाठेघरको परीक्षण गरिदिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

शिविरमा प्यापेस्मेयर तथा भिआईए टेष्टको खर्च इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्च सेन्टर र एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एनआरएनए) क्यालिफोर्नियाले सहयोग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *